काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले दलाल पुँजीवादले कम्युनिष्ट, कांग्रेस, राजावादी, विखण्डनवादी सबैलाई एउटै टेबुलमा डिनर गराउने भएकाले ठूल्ठूला भ्रष्टाचारमा भागशान्ति राष्ट्रिय सहमतिअनुसार वितरण गर्ने गरेको दाबी गर्नु भएको छ।
काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दलाल पुँजीवादले कम्युनिष्ट, कांग्रेस, राजावादी, विखण्डनवादी सबैलाई एउटै टेबुलमा डिनर गराउने बताउनु भयो।
उहाँले अगाडि भन्नुभयो, ‘सबैलाई एउटै भाषा सिकाउँछ। एउटै कुरा सोच्न लगाउँछ। तीनलाई विभिन्न रूपमा प्रस्तुत गर्दिन्छ। कुनै पनि ठूला भ्रष्टाचार काण्ड छन् भने ती भागशान्ति राष्ट्रिय सहमतिअनुसार वितरण हुन्छ। त्यसले सबै कब्जा गरिन्छ। हामी कहाँ त्यस्तै भएको छ।’
दलाल कोठरीका डिनर पार्टीले मात्रै जित्न नसकेको भन्दै महासचिव भुसालले स्वाधीनता, इतिहासप्रतिको गौरवले जनताले प्रश्न उठाइराखेको बताउनु भयो। उहाँले एमसीसीमाथि संसदीय अनुगमन समिति बनाउनुपर्ने माग गर्नुभयो।
उहाले अगाडि भन्नुभयो,‘व्याख्यात्मक टिप्पणीअनुसार लागू भइराखेको छ कि छैन, त्यसमा के समस्या छ? अनुगमन समितिले स्पष्ट पारेपछि जनता हल्लाको पछाडि लाग्नुपर्दैन। एमसीसीलाई नेपालविरुद्ध प्रयोग हुन नदिन कमसेकम एउटा भरपर्दो माध्यम चाहिन्छ।’
उहाँले अमेरिकी अधिकारीहरूले नै एमसीसी इन्डोप्यासेफिक स्ट्राटेजी 'आईपीएस' को अंग हो भनेपछि विवाद बढेको सुनाउनु भयो। आईपीएस अमेरिकीको चीनविरोधी घोषित मोर्चाबन्दी भएको उहाँको दाबी छ।