काठमाडौँ। नेकपा एकीकृत समाजवादीले वाम एकताको पक्षमा दृढता व्यक्त गरेको छ।
बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा पेस गरेको ६ बुँदे तात्कालिक प्रस्तावमार्फत एकीकृत समाजवादीले वाम एकताको पक्षमा सधैँ दृढतापूर्वक रहँदै आएको बताएको हो।
उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार बैठकमा मुलुकमा बदलिएको विषम राजनीतिक परिस्थितिलाई गम्भीररूपमा विश्लेषण गरिएको छ। प्रस्तावमा एकीकृत समाजवादीले त्यस्तो धारणा सार्वजनिक गर्दै ‘विचार, सिद्धान्त, राजनीति तथा सङ्गठनका सबै विषयमा खुला छलफलद्वारा सहमति र सहकार्य गर्दै अगाडि बढेर मात्रै कम्युनिस्ट पार्टीहरूकाबीच एकता हुन्छ’, प्रस्तावमा भनिएको छ,‘हाम्रो पार्टी वाम एकताको पक्षमा सधैँ दृढतापूर्वक रहँदै आएको छ।’ पार्टी एकताबारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा गलत प्रचार भएको समेत समीक्षा गरेको छ।
प्रस्तावमा भनिएको छ,‘यो बैठक सङ्घीय लोकतान्त्रिक गणतन्त्र संविधान, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकता माथि हुन सक्ने षड्यन्त्र र प्रहारप्रति सचेत हुँदै सम्पूर्ण लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन अपिल गर्दछ।’
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र विप्लव नेतृत्वको नेकपाले बनाएको समाजवादी मोर्चालाई अझ प्रभावकारी ढंगले क्रियाशील बनाउने प्रतिवद्धता दृढता व्यक्त गरेको छ।
यस्तो छ ६ बुँदे तात्कालिक प्रस्ताव
१. हाम्रो पार्टीले समाजवाद, लोकतन्त्र, राष्ट्रियहित तथा सुशासनका लागि बामपन्थी शक्तिहरुसंग सहकार्य गर्ने नीति अनुसार हाम्रो पार्टी समाजवादी मोर्चा नेपालमा आवद्ध हुदै आएको छ। मुलुकमा बदलिएको विषम राजनीतिक परिस्थितिलाई गम्भीर रुपमा विश्लेषण गर्दै यो बैठक समाजवादी मोर्चा नेपाललाई अझ प्रभावकारी ढंगले क्रियाशील बनाउन लागि पर्ने प्रतिवद्धता
व्यक्त गर्दछ ।
२. विचार, सिद्धान्त, राजनीति तथा सङ्गठनका सबै विषयमा खुल्ला छलफलद्धारा सहमति र सहकार्य गर्दै अगाडि बढेर मात्रै कम्युनिष्ट पार्टीहरुका बीच एकता हुन्छ । हाम्रो पार्टी वाम एकताको पक्षमा सधैँ दृढतापूर्वक रहदै आएको छ । त्यसैले कतिपय सञ्चार माध्यम र
सामाजिक संजालमा पार्टी एकताबारे चलेका हलुका प्रचारबाट प्रभावित नहुन सबैलाई आग्रह गर्दछौं ।
३. साना दलको अस्तित्व माथि आघात पु¥याउने संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने तथा समावेशी लोकतन्त्रको मूल मर्म माथि प्रहार गर्ने कुचेष्टाले संविधान संशोधन गर्ने प्रतिगामी चिन्तनहरु प्रकट हुन थालेका छन । यो बैठक सङ्घीय लोकतान्त्रिक गणतन्त्र संविधान, राष्ट्रिय
स्वाभिमान तथा सार्वभौमिकता माथि हुन सक्ने षडयन्त्र र प्रहार प्रति सचेत हुँदै सम्पूर्ण लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन अपिल गर्दछ ।
४. यस बर्खायाममा मुलुकका विभिन्न भागमा बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपदमा परी ठुलो धनजनको क्षति भएका खबरहरू प्राप्त हुन आएका छन । यो बैठक प्राकृतिक विपदमा परेका जनताको दुख र पीडा प्रति अत्यन्त संवेदनशील हुँदै विपदमा परि मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै प्राकृतिक प्रकोपबाट राहत र क्षतिपुर्ती प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछ ।
५. विगत केही हप्ताभित्र मुलुकका विभिन्न स्थानमा हवाई जहाज, हेलिकप्टर, बस लगायत थुप्रै सवारी साधनहरु दुर्घटनामा परी ठुलो संख्यामा यात्रुहरुको मृत्यु तथा कैयन घाइते भएका समाचारहरु प्राप्त भएका छन । सवारी दुर्घटनाका घटनाहरु दिन प्रतिदिन भयावह बन््दै गएका छन्। सवारी साधन दुर्घटनामा परि निधन भएकाहरु प्रति यो वैठक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । विमान तथा यात्रुवाहक सवारीका असंख्या दुर्घटनाले मुलुकको छवी समेत विग्रिएको छ। यस्तो अवस्थालाई न्यूनीकरण गर्न तथा सुरक्षित हवाई तथा सडक यातायातको प्रत्याभूति दिनका लागि सरकारले अध्ययन, अनुसन्धान, नियमन तथा अनुगमन प्रणालीलाई प्रभावकारी बनाओस भन्नेयो बैठक जोडदार माग गर्दछ ।
६. संसदको राज्य ब्यवस्था समितिमा विचाराधिन रहेको भ्रष्टचार नियन्त्रण ऐन-२०५९ को शंशोधन विधेयक माथि छलफल चलिरहेको छ। हाम्रो पार्टी भ्रष्टचारको मुद्दामा हदम्याद राख्नु हुदैन भन्ने प्रष्ट धारणा राख्दछ। यसैगरी यो बैठक नेपालको संसदलाई भ्रष्टचारको मुद्दामा हदम्याद नराख्ने कानून निर्माण गर्न माग गर्दछ र सम्पूर्ण राजनीतिक दलहरु र नागरिक समाजलाई यो विषयमा सजग बन्न आव्हान गर्दछ।
स्थायी कमिटीमा २४ जना पदाधिकारीमात्रै
एकीकृत समाजवादीको सम्पन्न बैठकले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने निर्णय गरेको छ । सम्पन्न केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरु रहेको स्थायी कमिटी बनाउने निर्णय गरेको हो । बिहीबार घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेता मनोनीत गरिएकाले एकीकृत समाजवादीको पदाधिकारी संख्या २४ पुगेको छ ।
गत असार २१ गते सम्पन्न १० औं महाधिवेशनबाट अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल चयन भएका थिए । मंगलबार राजेन्द्र पाण्डे वरिष्ठ उपाध्यक्ष निर्विरोध भएका थिए।
त्योसंगै ६ जना उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव मतदाबाट निर्वाचित भएका थिए । हाललाई यिनै पदाधिकारी रहेको स्थायी कमिटी रहने विहीबार सम्पन्न बैठकले निर्णय गरेको छ । बिहीबार नै मतदान प्रकृयाबाट पदाधिकारी सहित १०५ सदस्यीय पोलिटब्यूरोको सदस्य समेत चयन भएका छन् ।
वरिष्ठ नेता बस्नेत, भुसाल र हमाल
एकीकृत समाजवादीले घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई बरिष्ठ नेता मनोनीत गरेको छ । केन्द्रिय समिति बैठकले ती ३ जना नेतालाई वरिष्ठ नेता मनोनीत गरेको हो । तीनै जना यसअघिका उपाध्यक्ष हुन् ।
उपचुनावको तयारी बरिष्ठ उपाध्यक्ष पाण्डेको नेतृत्वमा
एकीकृत समाजवादीले स्थानीय तहमा हुने उपचुनावको तयारीको लागि बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेके नेतृत्वमा तयारी थाल्ने जनाएको छ ।
केन्द्रिय कमिटीको बैठकले उपचुनावको तयारी पाण्डेको नेतृत्वमा केन्द्रीय परिचालन कमिटी बनाएर अघि बढ्ने निर्णय गरेको हो ।
कार्यविभाजन गर्ने जिम्मा स्थायी कमिटीलाई
एकीकृत समाजवादी पार्टीले केन्द्रिय सदस्यहरुको कार्यविभाजन गर्ने जिम्मा स्थायी कमिटीलाई दिइएको छ ।
मंसिरभित्र प्रदेश र चैतभित्र जिल्ला अधिवेशन
एकीकृत समाजवादीले आगामी मसिरभित्र सबै प्रदेश र चैत्रमहिना भित्र सबै जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने गरी कार्यक्रम तय गरेको छ पाटीले सोही बमोजिम कार्ययोजना निमाण गरी जिम्मेवारी प्रदान गर्ने गरी कार्यक्रम तय भएको वरिष्ठ उपाध्यक्ष पाण्डेले बताए ।
चुनावमा चीट बाँड्नेलाई कारवाही गर्ने
पदाधिकारी र पोलिटव्युरो निर्वाचनपछि आयोजित पहिलो बैठकमा शीर्ष नेतृत्वले लिस्ट बाँडेर चुनाव जिताउने र हराउने खेल भएको विषय उठेपछि अध्यक्ष नेपालले चीट बाँड्नेलाई कारवाही गर्ने प्रतिवध्दता जनाएका छन् ।
चुनावमा लिस्ट बाँडेर ब्यापक गुटबन्दी गरिएको आरोप लगाएपछि अध्यक्ष नेपालले चिट प्रकरणमा छानविन समिति बनाउँने र त्यस्तो गर्नेमाथि कारवाही हुने आश्वासन दिएका हुन् ।