काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि मतदान जारी छ।
मंगलबार साँझ ६ बजेदेखि मतदान सुरु भएको पार्टी निर्वाचन आयोगले जनाएको छ। नेकपा (एकीकृत समाजवादी) मा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भइरहेको छ।
वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत हुनु भएको छ। पार्टीका शीर्ष नेता घनेन्द बस्नेतले उम्मेदारी फिर्ता लिनु भएपछि पाण्डे निर्विरोध निर्वाचित हुनु भएको छ। यसअघि दशौँ महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भएपनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन।
जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी र पोलिटब्युरो सदस्य सर्वसम्मत चयन गर्ने प्रयास भएपनि त्यो सम्भव नभएपछि निर्वाचन भएको हो। जसअनुसार एकीकृत समाजवादीको महिला उपाध्यक्ष पदमा नेतृहरू रामकुमारी झाँक्री र जयन्ती देवी राईबिच प्रतिस्पर्धा हुनेछ।
यसैगरी उपाध्यक्ष (मधेसी समुदाय) मा धर्मनाथ प्रसाद साह र रामचन्द्र झाको उम्मेदवारी रहँदा खुला उपाध्यक्ष पदमा ११ जनाबिच प्रतिस्पर्धा हुँदैछ। खुला उपाध्यक्ष पदमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, साध्यबहादुर भण्डारीलगायतको उम्मेदवारी छ।
यसैगरी उपमहासचिव पदमा हरि पराजुली, जीवराम श्रेष्ठ, लक्ष्मण केसी, मेटमणि चौधरी, राजेन्द्र कुमार राई, गोमा बिष्टलगायतको प्रतिस्पर्धा भइहरेको छ। यस्तै सचिव पदमा ४१ जनाबीच प्रतिस्पर्धा हुँदैछ। यसैगरी पोलिटब्युरो सदस्यमा २०२ जनाबिच प्रतिस्पर्धा भइरहेको छ।