काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका परम्परागत मौलिक सँस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप बलियो बनाउन सकिने बताउनु भएका छ।
समाजवादी प्रेस संगठन, महिला विभागद्वारा हरितालिका तीज पर्वका अवसरमा शुक्रबार आयोजित साँस्कृतिक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष नेपालले सबै जातजातिका समुदायले परम्परागत रुपमा मनाउँदै आएको पर्व सँस्कृतिले सामाजिक एकता अभिवृद्धि गर्ने बताउनु भएको हो ।
बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाड पर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उहाँले संस्कृतिको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो।
अध्यक्ष नेपालले सामाजिक असमानताको अन्त्य गरी पारस्पारिक सम्मान, सहअस्तित्व, सद्भाव र एकताको भावनालाई स्थापित गर्न तथा महिला सशक्तिकरणका लागि हरितालिका तीजले सन्देश प्रवाह गरेको विचार व्यक्त गर्नुभयो। मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका चाडपर्व, भाषा, साहित्य, कला, संस्कृतिले राष्ट्रको गौरव बढाउने उहाँको भनाइ छ।
उहाँले समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसंगतीलाई अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो। अध्यक्ष नेपालले आफ्नो पार्टी सबै समुदायका सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्नेमा प्रतिबद्ध रहेको बताउनु भयो।
कार्यक्रम संगठनकी उपमहासचिव प्रतिज्ञा बुढा मगरको अध्यक्षता एवं पार्टी अध्यक्ष नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। मित्र पार्क स्थित चेली भान्छा घरमा सम्पन्न कार्यक्रममा पार्टीकी पूर्व उपाध्यक्ष जयन्ती राई, पोलिटक्युूरो सदस्य दिलु पन्त, संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीलगायतका नेताहरुको बाग्लो उपस्थिति रहेको थियो।