काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लेनिनवादलाई नयाँ युगको मार्क्सवाद भएको टिप्पणी गर्नुभएको छ।
बिहिबार साँझ सम्झनामा लेनिन र उनको क्रान्तिको विरासत विषयक अन्लाइन अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।
अध्यक्ष नेपालले मार्क्स र एंगेल्सले पूँजीवादी मुलुकमा मात्रै समाजवादी क्रान्ति हुन सक्ने भनेर लेखेको स्मरण गराउँदै लेनिनले काजगमा कोरिएका अक्षरले नभएर ठोस् परिस्थितिको ठोस् विश्लेषण गरेर क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने कुरा पुष्टि गरेको बताउनु भयो।
अध्यक्ष नेपालले अगाडि भन्नुभयो, 'लेनिनवाद आधुनिक युगको मार्क्सवाद हो। लेनिन सबै चुनौतीको सामाना गर्न सक्ने नेता, क्रान्तिकारी भावना भएको नेता, सिर्जनात्मक क्षमता भएको व्यक्ति, संगठन निमार्ण र परिचालन गर्न सक्ने नेता हुनु हुन्थ्यो। यस अर्थमा लेनिनका रचना, कार्यहरु अमर रहनेछन्। हामी लेनिनलाई सधै सम्झिरहने छौँ।'
आजको बहसमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशेष घिमिरेले लेनिनका जीवनसँग जोडिएका शिक्षाहरु का बारेमा परिचय गराउनुभएको थियो भने अजुर्न राइले संयोजनको भूमिका हुनुहुन्थ्यो।
एक सातासम्म चल्ने अनलाईन बहसमा लेनिनका रचना, सिद्धान्त, कृति र कार्यका बारेमा छलफल हुने आयोजक संस्था समाजवाद अध्ययन केन्द्र, नेपालले जानकरी दिएको छ।