काठमाडौँ। मुस्लिम इत्तेहाद संगठन नेपालले बंगलादेशको परिवर्तित राजनीतिक अवस्थाका बारेमा ध्यानाकर्षण भएको जनाएको छ।
संगठनका अध्यक्ष ताज मोहम्मद मियाँले सोमबार एक विज्ञप्ति जारीगर्दै बंगलादेशमा लोकतन्त्रको निरन्तरता, मानवअधिकार, जातीय तथा धार्मिक सहिष्णुतालाई कायम राख्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ।
संगठनका अध्यक्ष मियाँले बंगलादेशमा भइरहेका कुनै पनि तवरका असहिष्णु गतिविधिका विरूद्धमा रहेको बताउनु भएको छ। साथै अध्यक्ष मियाँले बंगलादेशमा राजनीतिक स्थिरता, लोकतन्त्र र मानवअधिकारको रक्षा चाहेको बताउनु भएको छ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन सार्वभौमसत्ता सप्पन्न बंगलादेशी जनता र त्यहाँका राजनीतिक दलहरू तथा नागरिक अगुवाहरू संयमित हुदै बंगलादेशमा लोकतन्त्रको निरन्तरता, नागरिक अधिकार र मानवअधिकारको पूर्णसुरक्षा, धार्मिक स्वतन्त्रता र आमजनताको अमनचैन बहालीको आह्वान गर्दछ। हाम्रो देश नेपालमा रहेको उन्नत नागरिक अधिकार र मानवाधिकार, धार्मिक र जातीय सहिष्णुयुक्त अभ्यासबाट हुर्केको हाम्रो गौरवशाली संगठन मुस्मिल इत्तेहाद संगठन नेपाल, मित्रराष्ट्र बंगलादेशको उक्त आन्दोलनमा कुनै पनि पक्षबाट भएको मानवअधिकार उलंघन, जातीय र धार्मिक स्वतन्त्रताको उलंघनको किमार्थ समर्थन गर्न सक्दैन र कुनै पक्षबाट गर्नुहुदैन भन्ने स्पष्ट मान्यता राख्दछ। हामी बंगलादेशको आन्दोलनबाट उत्पन्न घटनासँग जोडेर सामाजिक सद्भाव, धार्मिक सहिष्णुता नचाहने केही तत्वहरूले फैलाउन खोजिरहेका गलत क्रियाकलापप्रति असहमति र बिरोध जाहेर गर्दछौं। जातीय, धार्मिक र सामुदायिक सद्भाव बिथोल्ने त्यस्ता क्रियाकलापबारे सरोकारवाला पक्षलाई समयमै सचेत बन्न पनि अनुरोध गर्दछौँ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बंगलादेशमा रहेका नेपाली नागरिकको (विद्यार्र्थी, व्यापार व्यवसायी, पर्यटक आदि ) सुरक्षा र नेपाल फर्कन चाहनेलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गर्दछौँ। साथै, खुल्ला सिमानाको कारण बंगलादेशबाट विस्थापित भएका मानिसहरू नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहन्छ। त्यसैले बिगतमा सुनियोजित रूपमा रोहिंग्या र भुटानी सरणार्थीलाई नेपाल प्रवेश गराएको जस्तैगरी प्रवेश हुनसक्ने क्रियाकलापप्रती नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन र सबै तहमा सुरक्षा व्यवस्थापनमा विशेष ध्यानदिन अपिल गर्दछौँ।’