काठमाडौं। आज देशका विभिन्न आठ जिल्लामा बाढी आउने सम्भावना रहेको बाढी पुर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान एक बुलिटिन जारी गर्दै वर्षाका कारण ८ जिल्ला र त्यस आसपास भई बहने अधिकांश स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी दिएको हो। सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुला जिल्ला र त्यस आसपास बहने साना नदीहरूमा वहाब बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ।
त्यस्तै इलाम, झापा, संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बझाङ, रुकुम पश्चिम, रुकुम पूर्व, सुर्खेत र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरुमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले ठूला नदीहरूको वहाब भने तीन दिनसम्म सामान्यदेखि उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ।
त्यसैगरी दूधकोशी रूवाबजारमा, तामोशी बुस्तीमा, सुनकोशी हम्पचुवारमा, कर्णाली नदी चिसापानी र असाराघाटमा, भेरी नदी समजिघाटमा, पश्चिम सेती दिपायलमा र महाकाली नदी पारिगाउँमा बाढी उल्लेख्य बढ्ने सम्भावना रहेको छ। बाढीको जोखिम रहेका स्थान र नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।