काठमाडौँ। समाजवादी मोर्चाले आगामी कार्यक्रम तय गर्न कार्यदल बनाएको छ।
मंगलबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चामा आबद्ध चार नेता सम्मिलित चार सदस्यीय कार्यदल गठन गरिएको नेकपाका प्रवक्ता प्रकाण्ड सीले जानकारी दिनुभएको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता प्रकाण्डले कार्यदलले आगामी कार्यक्रमलगायतको खाका तयार गरेर १५ दिनभित्र आफ्नो प्रतिवेदन तय गरेर मोर्चामा बुझाउने बताउनु भयो।
त्यसपछि आवश्यक कार्यक्रम तय गरेर अघि बढ्ने उहाँको भनाइ छ। कार्यदलमा माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, नेकपाबाट विश्वकर्मा र नेसपाबाट गंगानारायण श्रेष्ठ रहुन भएको छ।
त्यस्तै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बाट बिद्रोह गरेको महिन्द्रराय यादव समूह समाजवादी मोर्चामा औपचारिक रूपमा भित्रिएको छ।
मंगलबार बसेको मोर्चाको बैठकले यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई मोर्चामा सहभागी गराउने निर्णय गरेको प्रकाण्डले जानकारी दिनुभयो।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहन विक्रम सिंहको मसाललगायतलाई पनि मोर्चामा आबद्ध गराउन पहल गर्ने निर्णय भएको जानकारी दिनुभयो। प्रगतिशील र कम्युनिस्टहरूसँग छलफल गर्दै मोर्चामा आबद्ध गराउने आफूहरूको योजना रहेको उहाँको भनाइ छ।
त्यस्तै समाजवादी मोर्चाले कांग्रेस–एमाले गठबन्धनको सरकारबाट प्रगतिशील यात्रा सम्भव नभएको निष्कर्ष निकालेको छ। एमाले अध्यक्ष केपी ओली नेतृत्वको उक्त सरकारले देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्ने बैठकले निष्कर्ष निकालेको हो।
‘भर्खरै नेपालको राष्ट्रिय राजनीतिमा नयाँ घटना घटेको छ। यो लगायत देशको समग्र स्थितिका बारेमा गम्भीर समीक्षा भएको छ’, बैठकपछि प्रकाण्डे भन्नुभयो, ‘यो घटनाले प्रगतिशील यात्रातर्फ अघि बढेको देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्न खोजेको देखिन्छ। यसबारे बैठकमा गम्भीर चिन्ता प्रकट गरिएको छ।’
नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव लगायतको सहभागिता रहेको थियो।