काठमाडौँ। नदीमा बाँधिने बाँध बाढी रोकथामका साथै बिजुली निकाल्न र सिंचाइका लागि निकै महत्वपूर्ण हुन्छन्।
तर, दुनियाँमा मानिसले यति भीमकाय बाँधहरूसमेत बनाएका छन् जसले प्रकृतिको सनातन नियमलाई नै अवरुद्ध पार्ने जोखिम छ। एउटा बाँध त यस्तोसम्म छ कि यसले पृथ्वीको घुम्ने गतिलाई नै सुस्त बनाइदिएको छ।
हो, चीनको थ्री गर्जेज बाँध विश्वकै ठुलो बाँध हो। यो जलविद्युत बाँधमा यतिधेरै परिमाणमा पानी सञ्चित छ कि यसले पृथ्वीको घुम्ने गतिलाई नै सुस्त गरिदिएको छ। चीनको हुबेइ प्रान्तस्थित यांग्जे नदीमा यो बाँध बनेको छ। यांग्जे विश्वको तेस्रो लामो नदी हो जसको लम्बाई ६ हजार किलोमिटरभन्दा पनि धेरै छ।
यो नदीमा आउने बाढीको इतिहास साक्षी छ कि हरेक एक दशकमा यो नदीले आफ्नो तटीय क्षेत्रमा विध्वंस मच्चाउने गर्दथ्यो। २०औं शताब्दीमा मात्रै यो नदीमा आएको बाढीका कारण करीब ३ लाख मानिसको मृत्यु भएको थियो। बाढी नियन्त्रण गर्न, डेढ करोड मानिस तथा लाखौं एक्कड कृषि भूमि बचाउनका लागि यो बाँधको निर्माण गरिएको थियो। स्टिल तथा कंक्रिटबाट बनेको यो बाँध २.३ किलोमिटर लामो छ भने ११५ मिटर चौडा र १८५ मिटर अग्लो छ।
यो बाँध संसारको सबैभन्दा ठूलो मात्र नभई सबैभन्दा महँगो बाँध पनि हो। यसको निर्माणमा करिब ४० खर्ब रुपैयाँ खर्च भएको थियो भने निर्माण सम्पन्न हुन दुई दशकभन्दा धेरै समय लागेको थियो। सन् १९९४ मा यसको निर्माण कार्य सुरु भएकोमा सन् २०१२ मा मात्रै बाँधको निर्माण सम्पन्न भएको थियो।
यो बाँध निर्माणमा ४ लाख ६३ हजार टन स्टीलको प्रयोग भएको छ। रोचक त के भने यति परिमाणको स्टिलले करिब ६० वटा एफिल टावर ठड्याउन सकिन्छ। यो बाँधबाट २२ हजार ४०० मेगावाट विद्युत उत्पादन भएको छ।
यो बाँधका विभिन्न पर्यावरणीय प्रभावहरू रहेका छन्। त्यसमध्ये सबैभन्दा ठुलो प्रभाव चाहिं पृथ्वीको घुम्ने गतिमा परेको छ। नासाका वैज्ञानिकहरूले सन् २००५ मा थ्री गर्जेज बाँधका कारण पृथ्वीको घुम्ने गति धीमा भएको तथ्य पत्ता लगाएका थिए। केही यस्ता कुराहरू छन् जसले पृथ्वीको परिभ्रमणको गतिलाई सुस्त बनाउँछन्। जसमा हावा, भूकम्प, जलवायु परिवर्तन तथा चन्द्रमाको स्थिति आदि हुन्छन्।
यो बाँधको जलाशयमा ४२ अर्ब टन पानी जम्मा हुन्छ, जसका कारण पृथ्वीले घुम्ने समयमा आफ्नो स्वभाविक गतिलाई गुमाउँछ। त्यसैले घनत्वको बदलावको कारण एक दिनको समय ०.०६ माइक्रो सेकेण्डले बढेको छ। अर्थात् यो बाँधका कारण पृथ्वीमा दिनको लम्बाइ केही बढेको छ।
नासाका अनुसार यो बाँध निर्माणका कारण उत्तरी तथा दक्षिणी ध्रुव पनि आ आफ्नो ठाउँबाट २.२ सेन्टिमिटर पर सरेका छन् भने ध्रुवीय क्षेत्रमा पृथ्वी केही मात्रामा चेप्टिएको छ।