काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाढी पहिरोमा परेर ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्नुभएको छ।
बिहिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले अविरल वर्षातका कारण ज्यान गुमाएका नागरिकप्रति दुःख व्यक्तगर्दै पीडितहरूको उद्धार तथा राहतका कार्यमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘केही दिनको अविरल वर्षाका कारण बाढी र पहिरोले देशका विभिन्न भागहरूमा हालसम्म ८० जनाको निधन भएको, ५ जना बेपत्ता भएको र ९७ जना घाइते हुनु भएको जानकारी सार्वजनिक भएको छ। बाढी र पहिरोका कारण २ हजार ७ सय ६४ घर परिवार विस्थापित भएको र कैयन् भौतिक संरचना, लाखौको अन्नबाली र ठुलो संख्यामा पशुचौपाया नष्ट भएको विषय समेत सार्वजनिक भएको छ। प्राकृतिक विपत्तिको यस क्षणमा हामी अत्यन्त दुःखी छौँ। बाढी पहिरोमा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेको उपचार र मृतकका परिवारलाई आर्थिक सहयोगलगायतका उद्धार र राहतका कार्यहरू प्रभावकारी, निष्पक्ष र पारदर्शी रुपमा संचालन गर्न हामी नेपाल सरकारसँग माग गर्दछौँ। मनसुन शुरु मात्र भएको हुँदा आगामी दिनहरूमा समस्या अझै गम्भीर हुने सम्भावना देखिन्छ। यसका निम्ति राज्यका सम्पूर्ण निकायहरू, जनप्रतिनिधि तथा आम जनसमुदायको ध्यान आकर्षित गर्न चाहन्छु। यस्तो प्राकृतिक विपत्तिमा आ-आफ्नो ठाउँबाट पीडित समुदायको उद्धार र राहत कार्यमा सक्रियताका साथ योगदान गर्न सम्पूर्ण पार्टी, जनसङ्गठन, जनप्रतिनिधि, पार्टी सदस्यहरू तथा सङ्घसंस्थाहरूलाई समेत हार्दिक आह्वान गर्दछु।’