काठमाडौँ। निरन्तरको झरी र भारी वर्षाका कारण देशभरको जनजीवन कष्टकर बनेको छ।
विगत एक सातादेखि सक्रिय रहेको मनसुनका कारण नेपालका अधिकांश भागमा निरन्तर झरी परिरहेको छ। हरेक जसो नदीहरूको बहावले सीमा नाघेको अवस्था छ। सुदूरपश्चि प्रदेशको कैलाली, कञ्चनपुर यतिबेला जलमग्न भएको छ।
महाकाली नदीको बहावले खतराको सीमा नाघेपछि सारदा ब्यारेजका ढोका खोलिएको जानकारी प्राप्त भएको छ। कैलाली र कञ्चनपुरका ६ सयभन्दा धेरै परिवारहरू विस्थापित बनेका छन्। दुई हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
कैलाली भगवानपुरका ६५ घरहरु डुवानमा परेको कैलाली जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। यता संघीय राजधानी काठमाडौँका साना ठूला नदीहरूले सतर्कता तह पार गरेको छन्।
आइतबारसम्म वर्षाका कारण ४८ जनाको मृत्यु भइसकेको छ। देशभरका अघिकांश सडकहरू पहिरोका कारण अवरुद्ध बनेका छन्। जाममा फसेका यात्रुहरूले कष्टकर अवस्था भोगिरहेका छन्। यस्तो अवस्थामा सरकारले राहत र उद्धारमा सहभागि हुन आम मानिसहरूलाई आग्रह गरेको छ भने मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
सोमबार कहाँ कहाँ छ खतरा ?
सोमबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै तर बढ्दो अवस्थामा रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल महाकाली नदीमा जलसतह सतर्कता तह माथि रहेको हो।
आज कन्चनपुर, कैलाली, डडेलधुरा र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव बढ्ने तथा स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान छ । साथै डोटी, बैतडी, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव बढ्ने तथा स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ।
त्यस्तै ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, गोरखा, कास्की, अर्घाखाँची, पर्वत, पाल्पा, नवलपरासी ९ब। सु। पूर्व०, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, अछाम, बाजुरा र आसपासका जिल्ला भई बहने अधिकांश स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको छ।
सचेत रहन आग्रह
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरू साथै बागमती, बबई, पश्चिम राप्ती, पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती, नदीको जलसतह उल्लेख्य बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
आज र भोली महाकाली र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन भनिएको छ। आज कन्चनपुर जिल्ला भई बहने अधिकांश नदीहरूमा आकस्मिक बाढीको अति उच्च जोखिम, कैलाली, डडेलधुरा र आसपासका जिल्ला भई बहने अधिकांश स(साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान रहेकोले उच्च सावधानी अपनाउन महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ ।
साथै डोटी, बैतडी, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेकोले उच्च सावधानी अपनाउन भनिएको छ ।