काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यक रहेको बताउनु भएको छ।
मंगलबार जनसाँस्कृतिक महासंघ समाजवादीले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफूहरू समाजलाई रूपान्तरण गर्न, समाजवादी दिशामा जान चाहेको बताउनु भएको हो। नयाँ नयाँ विधाका योग्य र सक्षम युवाहरुलाई अगाडि बढाउन आवश्यक रहेको पनि बतानुुभयो । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा आफूहरूले विद्रोहको ज्वाला दन्काएको बताउनुुभयो।
अध्यक्ष नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाप्रति गौरवबोध गर्नुपर्ने बताउनुुभयो। उहाँले भन्नुुभयो, ‘हामी यो समाजलाई रूपान्तरण गर्न चाहन्छौँ, समाजवादी दिशामा जान चाहन्छौँ, त्यसका लागि समाजवादी संस्कृतिको विकास गर्न चाहन्छौँ, पुँजीवादी संस्कृतिका विरुद्धमा समाजमा रहेका सबै विसङ्गति र विकृतिका विरुद्धमा व्यक्तिहरूमा रहेको व्यक्तिवाददेखि लिएर चरम महत्त्वकांक्षादेखि लिएर अनेकौँ खालका त्यस्ता गलत प्रवृत्तिका विरुद्धमा हामी नयाँ सांस्कृतिक जागरण पैदा गर्न चाहन्छौँ। यो सांस्कृतिक जागरणको अभियन्ताको रूपमा तपाईँहरूले नयाँ नयाँ गीतहरूको रचना गर्नुपर्छ। नयाँ नयाँ नाटकहरूको रचना गर्नुपर्छ। नयाँ नयाँ विधाका योग्य र सक्षम युवाहरूलाई अगाडि बढाउनुपर्छ। यी खुबी र क्षमता भएका युवाहरू देशका विभिन्न ठाउँमा छरिएका छन्। विभिन्न समुदायमा रहेका छन् भने उनीहरूलाई पनि तपाईँहरूले एकत्रित गर्नुपर्छ।’
उहाँले अगाडि भन्नुुभयो, ’हामी सबैलाई थाहा छ, नेपालको कम्युनिस्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौँ। विद्रोह गर्ने आँट गरेका छौँ, कम्युनिस्ट आन्दोलनमा देखापरेका विकृति, विसङ्गतिका विरुद्धमा विद्रोहको ज्वाला दन्काएका छौँ। एक्लै भए पनि अघि बढ्ने हिम्मत गरेका छौँ। एक्ला चलो, एक्ला चलो, एक्ला चलो रे भन्दै हामी अघि बढ्यौँ। हाम्रो साथमा देशभरका नेता र कार्यकर्ताहरू जुट्दै जुट्दै ७७ जिल्लामै संगठन विस्तर गर्दै पालिका, वडामा जनसंगठन निर्माण गर्दै अघि बढेका छौँ।’