काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने स्पष्ट पार्नु भएको छ।
उहाँले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गर्नुभयो। आइतबार पेशागत महासंघ नेपालको २९औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ। हामी पनि सरकारमा सहभागी छौँ। हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन। मिडिया साथीहरू कसैले शङ्का–उपशङ्का नगरे हुन्छ, कुनै इफ, कुनै बट छैन। विथआउट रिजर्भेसन हामी मत दिनेछौँ।’
उहाँले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको पनि स्मरण गर्नुभयो। त्यस्तै पूर्वको कोशी प्रदेशमा पनि आफूहरूले विश्वासको मत दिएको उहाँको भनाई छ। अध्यक्ष नेपालले भन्नुभयो, ‘माग्न आए पनि, नआए पनि। भने पनि नभने पनि हामीले विश्वासको मत सहज रूपमा दिएका छौँ। किनभने हामी जिम्मेवार राजनीतिक शक्ति हौँ।’
अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी सत्ताको साथमा छौँ। तर लामो साथ दिएका प्रतिपक्षीका साथीहरूलाई पनि हामीले बिचैमा छाडेर हिँड्न हुँदैन। के गर्ने, कसो गर्ने भन्ने छलफलका विषयहरू बन्नुपर्छ।’
सबैलाई मिलाएर समेटेर जान सकिन्छ किन भनेर आफूहरूले प्रयास गरे पनि यसै भन्न सक्ने अवस्था नरहेको अध्यक्ष नेपालको भनाई छ। उहाँले प्रधानमन्त्रीले सहमतिको लागि गरिरहेको प्रयत्न सकारात्मक रहेको बताउनु भयो।