काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेला स्व.मदन भण्डारी र संगठक जीवराज आश्रितको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ।
बिहिबार ३१औं मदन-आश्रित स्मृतिमा एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो। जारी विज्ञप्तिमा भनिएको छ, ‘जननेता मदन भण्डारीको नेतृत्वमा नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमको रुपमा जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गरेर विश्वभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई नेपालमा सर्वाधिक लोकप्रिय बनाउन महत्वपूर्ण सफलता मिलेको थियो। कुशल संगठक कमरेड जीवराज आश्रितले पनि पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप संगठन निर्माणमा अतुलनीय भूमिका खेल्नुभयो।’
विज्ञप्तिमा अगाडि भनिएको छ, आज ३१औं मदन-आश्रित स्मृति दिवस। नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज, जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी रहस्यमय निधन भएको ३१ वर्ष पूरा भएको छ। सर्वप्रथम म उहाँहरूप्रति उच्च सम्मानका साथ भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
जननेता मदन भण्डारीको नेतृत्वमा नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमको रुपमा जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गरेर विश्वभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई नेपालमा सर्वाधिक लोकप्रिय बनाउन महत्वपूर्ण सफलता मिलेको थियो। कुशल संगठक कमरेड जीवराज आश्रितले पनि पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप संगठन निर्माणमा अतुलनीय भूमिका खेल्नुभयो।
शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट मुलुकको सामाजिक आर्थिक रूपान्तरण गर्न तथा सामाजिक न्याय र लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार निर्माण गर्न हामी प्रतिवद्ध छौं ।जनताले संघर्ष गरेर स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्तगर्ने र नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जनको दिशामा धकेल्ने प्रवृति विरुद्ध संघर्ष गर्दै बिद्रोह मार्फत हामीले कम्युनिष्ट पार्टी पुनर्गठन गरी नेकपा (एकीकृत समाजवादी) गठन गरेका हौं। समाजमा भएका विभेद, कुरीती, शोषण, दमन र निरकुंशतासंग जुधेर लोकतन्त्रका मुल्य मान्यता स्थापित गर्न हाम्रो पार्टी प्रतिवद्ध छ।
हामी हाम्रो पार्टी संरचना र पार्टी आबद्ध जनसङ्गठनहरूलाई सामाजिक आर्थिक रूपान्तरण र आर्थिक समृद्धिको कार्यदिशा अनुकूल व्यवस्थित गर्न तथा सम्बन्धित भौगोलिक क्षेत्र र समुदायको सरोकारका सामाजिक आर्थिक मुद्धाहरु, विकास निर्माण तथा उत्पादनसँग जोडिएका बिषयलाई समेट्दै आर्थिक उत्पादनका ठोस योजना बनाउन र जनतालाई गोलबन्द गर्दै नेपालमा समाजवादको नयाँ मोडेल निमार्ण गर्न चाहन्छौं। हाम्रो पार्टीको सही कदमले नै कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं।
अन्त्यमा, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्वकर्ता जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति पुनः भावपूर्ण श्रद्धाञ्जली।'