हेटौडा,जेठ १०
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना नेता कार्यकतालाई धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित मेयर हर्क साम्पाङ जस्तो लगनशील बन्न आग्रह गर्नुभएको छ ।
मंगलबार नेकपा (एकीकृत समाजवादी) मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधीहरुलाई बधाई तथा मतदाताहरुलाई धन्यवाद कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफू धरानका नवनिर्वाचित मेयर साम्पाङको प्रशंसक रहेको बताउँदै आफ्ना कार्यकतालाई पनि उहाँजस्तै बन्न आग्रह गर्नुभएको हो ।
‘नमुना उम्मेदवारको रुपमा धरानको मेयरमा विजयी हुनुभएका व्यक्तिको लशनशीलताको म प्रशंसा गर्न चाहन्छु। साधारण, अत्यन्तै निराश भएका र दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने मानिसले ट्याम्पो चलाएर जनताको सेवा गर्ने गरेका रहेछन्। ट्याम्पोबाटै उनले बिरामीको उद्वार गर्ने गरेका रहेछन् ।
थाहा पाउने बित्तिकै सहयोग गर्न पुग्दा रहेछन् । यस्तो भावना हामीमा पनि जागुरुक हुनुपर्यो । त्यस्ता मान्छेलाई सम्मान गर्नुपर्दैन ? अध्यक्ष नेपालले भन्नु भयो ।
‘यहाँ हेटौँडा उपमहानगरमा पनि जनताको सेवक बन्छु भनेर हाम्रो पार्टीकी मेयर मीना लामाले घोषणा गर्नु भएको छ’, अध्यक्ष नेपालको भनाइ थियो । उहाँले उपमहानगरको नेतृत्व गर्ने एकमात्रै महिला भएको र जनजाति समुदायप्रति समेत सम्मान गर्दै लामालाई मेयर बनाइएको बताउनुभयो ।
‘गफाडी बन्ने र सिन्को नभाँच्ने प्रवृत्ति पनि हामीले विगतमा भोगेका छौँ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘गफ होइन, काममा लगाव बढाऔँ र जनताको आवश्यकता पूरा गरौँ ।
आफ्नो पार्टी एकीकृत समाजवादी छोटो समयमै चुनावमा होमिएको भएपनि राम्रो सफलता पाएको भन्दै नेपालका अन्य पार्टीको तुलनामा एकीकृत समाजवादीले छोटो समयमा जनताको मन जित्न सफल भएको बताउनु भयो ।
‘विभिन्न ठाउँमा कुनै गठबन्धनको सहयोग नलिकनै हाम्रो सिंगो प्यानल विजयी भएको छ। गठबन्धनको प्रत्येक घटकहरु सँगसँगै चुनावमा भाग लिएका छन् र सबैले आ आफ्नो हैसियत पनि मत परिणाममा देखेका छन्,’ नेपालले भन्नुभयो