चितवन। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश विकासका पक्षमा आफ्नो पार्टी बाधक नभएको बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी चितवनको १०औँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई बुधबार सम्बोधनमा उहाँले समृद्ध नेपाल निर्माणका लागि सबै पक्षसँग मिलेर जान तयार भएको बताउनुभयो। “वामपन्थी एकताका लागि समाजवादी पार्टी बाधक रहँदैन,” उहाँले भन्नुभयो, “एकताका लागि विगतमा भएका गल्तीबाट सुध्रिएर आउन जरुरी छ।”
एकताका लागि एकीकृत समाजवादी पार्टीले कुनै आग्रह पूर्वाग्रह पालेर नबसेको नेता नेपालले बताउनुभयो। “विगतमा वामपन्थी एक हुँदा पार्टी विधान र देशको संविधानलाई कुल्चिने काम भयो, ठग्ने, लुट्ने, चुस्ने, भ्रष्टाचार गर्ने प्रवृत्ति हाबी भएको थियो,” अध्यक्ष नेपालले भन्नुभयो, “त्यो अवस्थामा हामीले विद्रोह नगरेको भए संविधान मिच्ने प्रवृत्ति हाबी हुन्थ्यो। आफूलाई मन नपरेका मान्छे सबैलाई पाखा लगाइदिने, मन परेकालाई गल्ती नै गरेका भए काखी च्याप्ने प्रवृत्ति भयो । अब सुध्रिएर आए कुनै आपत्ति छैन, सुध्रियोस् भन्ने हाम्रो चाहना छ । हामी आग्रह पालेर बसेका छैनौँ,” नेपालको भनाइ थियो।
वामपन्थीका पुराना साथीहरूले आफूहरूले गरेका गल्ती स्वीकार गरी आत्मालोचना गरे आफूहरूले सदैव साथ दिने अध्यक्ष नेपालले बताउनुभयो। अझै पनि संविधान, गणतन्त्रलाई मास्न खोज्ने शक्ति क्रियाशील रहेको भन्दै नेता नेपालले त्यस्ता तत्त्वलाई कमजोर बनाउन सबै एक हुनुपर्ने बताउनुभयो।
एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पहिलाको जस्तै एकता गरे पनि व्यवहार उस्तै हुने भएपछि एकताको कुनै अर्थ नरहने बताउनुभयो। “कम्युनिस्ट पार्टी मिल्दा संसद्मा झन्डै दुई तिहाइ सांसद भए पनि कुनै गतिला काम गर्न भएन। पार्टीमा व्यक्ति हावी भएर भ्रष्टाचार र बेथिति बढेपछि विद्रोहस्वरूप नेकपा (एकीकृत समाजवादी) पार्टीको जन्म भएको हो,” उहाँले भन्नुभयो।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठ, उपमहासचिव गङ्गालाल तुलाधर प्रवक्ता जगन्नाथ खतिवडा, सचिव हरि पराजुली, स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारीलगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो। दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ समिति चयन गर्ने छ।