काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले श्रमिकहरूलाई समाजवाद प्राप्तिको दिशामा एकताबद्ध बनाएर अघि बढ्नुपर्ने धारणा राख्नु भएको छ।
बुधबार १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्मानित नेताले उक्त कुरा बताउनु भएको हो। जारी विज्ञप्तिमा भनिएको छ,‘विश्वभरिका श्रमिक जनताको ऐतिहासिक दिवस। श्रमिकहरूले आफु माथि भइरहेको शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध महत्वपूर्ण विजय प्राप्त गरेको दिन। त्यसरी नै नेपाली श्रमिकहरूको पनि ऐतिहासिक दिवसको दिन। यस ऐतिहासिक दिवसको अवसरमा म सर्वप्रथम नेपालका समस्त श्रमजीवि जनताका मुक्तिका निम्ति तथा अग्रगति,प्रगतिका निम्ति अझ ठूला सफलताहरू प्राप्त गर्न सकियोस् भन्नका निम्ति हार्दिक शुभकामना प्रकट गर्दछु।’
नेता खनालले नेपाली श्रमिक समूदाय ऐतिहासिक घडिबाट अगाडि बढिरहेको बताउनु भएको छ।
उहाँले भन्नुभएको छ, ‘यतिबेला नेपाली श्रमिक वर्ग एउटा ऐतिहासिक घडिबाट अघि बढ्दैछ। श्रमिक वर्ग नै नेपाली समाजको क्रान्तिकारी रूपान्तरण र परिवर्तनको नेतृत्वदायी शक्तिको भूमिका खेलिरहेको छ। श्रमिक वर्गले आफ्नो अग्रदूत नेपाल कम्युनिष्ट पार्टीमार्फत नेपालको पुँजीवादी–जनवादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गरिसकेको छ। अहिले हामी समाजवादी क्रान्ति र रूपान्तरको नयाँ ऐतिहासिक प्रक्रियाबाट अघि बढिरहेका छौं। देशमा पुँजीवादी क्रान्ति भएको पनि १८ वर्ष भइसकेको छ। तर, जनताको आर्थिक स्थितिमा कुनै परिवर्तन आएको छैन। बरू उनीहरु माथि दलाल पुँजीवादी शोषण र उत्पीडन झन झन चर्को बन्दै गएको छ। मुलुकको कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायत राष्ट्रियताका क्षेत्रहरू संकटग्रस्त बनेका छन्। श्रमजीवि जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, बीमा र सामाजिक सुरक्षा मात्र पनि पाउन सकिरहेका छैनन्। त्यसले गर्दा हाम्रो देशका युवा श्रमिकहरु प्रत्येक दिन २००० भन्दा बढी संख्यामा रोजगारीको खोजिमा विदेश जान बाध्य भइरहेका छन्। जबसम्म समाजवादको स्थापना हुन सक्दैन तबसम्म हाम्रो देशका लाखौं लाख श्रमिकहरूको मुक्ति सम्भव छैन। त्यसैकारण सम्पूर्ण श्रमिक जनसमुदायहरु, हामीहरू वर्गीय रूपले अझ बढी सचेत र संगठित बनौं, आफ्ना वर्गीय हित, हक र अधिकारका निम्ति अझ बढी सचेत बनौँ, आफ्नो पंक्तिलाई गोलबद्ध गरौं, आफ्नो पंक्तिमाथि भइरहेका शोषण र उत्पीडनका विरुद्ध ट्रेड युनियनहरूमा अझ घनिष्ठ रुपले एकताबद्ध बनौँ र सम्पूर्ण श्रमिकहरूलाई समाजवाद प्राप्तिको दिशामा एकताबद्ध बनाएर अघि बढौं।’