काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक रहेको बताउनु भएको छ।
बुधबार मे दिवसको अवसरमा एक विज्ञप्ति जारीगर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो। जारी विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो अधिकारका लागि एकतावद्ध सङ्घर्षमार्फत् विजय हासिल गरेको गौरवपूर्ण दिनको रूपमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) २०२४ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्तगर्दछु। श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म मुलुकको विकास र रूपान्तरण सम्भव छैन । संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्दछ । अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको हक, हित र अधिकार स्थापित गर्न थप प्रेरणा दिने विश्वास व्यक्तगर्दछु।
विज्ञप्तिमा अगाडि भनिएको छ,‘अहिले ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि बिदेसिएको छ। स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन जरुरी छ। अर्कोतर्फ वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न सरकार क्रियाशील हुनुपर्दछ । सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता सहित सबै प्रकारका विभेदको अन्त्य गर्दै श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउँदछु।
कम्युनिस्ट आन्दोलन ‘विश्वभरका मजदुरहरू एक होऊँ’ भन्ने उद्घोषका साथ शुरु भएको हो। श्रमजीवी जनताको विकासशील सङ्घर्षमा सहभागी बन्ने, त्यसलाई सङ्गठित पार्ने तथा नेतृत्व दिने र विजयसम्म अघि बढाउने घोषणाका साथ २००६ साल वैशाख १० गते स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको सच्चा उत्तराधिकारीका रुपमा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० जनताको बीचमा क्रियाशील छ। नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका लागि समाजमा भएका शोषण, दमन र अन्यायसंग जुधेर श्रमजीवी वर्गको हित रक्षा गर्न र लोकतन्त्रका मूल्य मान्यता स्थापित गर्न हाम्रो पार्टी निरन्तर अघि बढिरहने प्रतिवद्धतासहित पुनः नेपाल तथा विश्वभर रहनुभएका सबै श्रमजीवीहरुप्रति बधाई तथा शुभकामना व्यक्तगर्दछु।’