काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), जिल्ला कमिटी चितवनको अधिवेशन बैशाख १९ र २० गते हुने भएको छ।
कृष्णराज न्यौपाने (लब्ली) को अध्यक्षतामा शुक्रबार सम्पन्न जिल्ला सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
पार्टीका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण खनालले सक्रियताका साथ पार्टीलाई स्थापित गर्न सबै लाग्नु पर्नेमा जोडदिनुभएको छ। पार्टीको लेबिदेखि लिएर निश्पक्ष भएर जिम्मेवारी बाँडफाँडा गर्नुपर्ने बताउनु भयो।
पार्टी सदस्यता विस्तार, जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशन पार्टीका नियमित र महत्वपूर्ण काम भएकाले एक कामले अर्को कामलाई सहयोग गर्दै पार्टी स्थापित गर्नुपर्ने उहाँको धारणा रहेको छ।
बैठक पोलिटब्युरो सदस्य कृष्ण पन्तले महाधिवेशनको संघारमा भएकाले उक्त महाधिवेशनलाई नेपालको कम्युनिस्ट आन्दोलनलाई महत्वपूर्ण मोड दिने अवसरका रूपमा लिनुपर्ने बताउनु भयो।
उहाँले भन्नुभयो,‘हरेक मान्छे क्रियाशिल बनौं। एक्लैले पार्टी बन्दैन। प्रत्यकले सक्ने योगदान गरौं। परिभाषित जिम्मेवारी पूरा गरौं।’
त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय पार्टी स्कुल विभाग सचिव अशेष घिमिरेले आफूहरू नेपाली क्रान्तिको नयाँ बाटोमा हिडिरहेको बताउनु भएको छ।
उहाँले भन्नुभयो,‘क्रान्तिको यो अञ्जान बाटोलाई पूँजिवाद विरूद्धका संघर्षका क्रममा आजका क्रान्तिकारीहरूले ठोस बनाउँदै लानुपर्नेछ। इतिहासले आजको मान्छेलाई क्रान्तिको कुनै ‘ब्लुप्रिन्ट’ प्रदान गरेको छैन। हामीले पार्टी र वर्गलाई एकअर्काका परिपुरक बनाउॅंदै आजको वर्गसंघर्षको ठोस कार्यक्रम बनाउनु पर्नेछ। जसले अमानवीय पूँजिवादका ठाउँमा समाजवादलाई सुनिश्चित गरोस्।’