भक्तपुर। बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अनलाइन भुक्तानी सेवाको शुभारम्भ गर्नु भएको छ।
मन्त्री लम्सालले अस्थायी पटके भुक्तानीबाट व्यवसायीहरू अन्यौलता र अनावश्यक झन्झटबाट मुक्त हुने बताउनु भएको छ।
मंगलबार यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा आयोजित एक कार्यक्रममा मन्त्री लम्सालले उक्त कुरा बताउनु भएको हो।
अनलाइनमार्फत भुक्तानी हुने भएपछी सेवाग्राहीहरुलाई सहज हुनेमा विश्वास व्यक्त गर्दै मन्त्री लम्सालले अस्थायी बाटो इजाजत पटके भुक्तानीका लागि सेवाग्राही जुनसुकै जटिल अवस्थामा पनि यातायात व्यवस्था कार्यालय पुग्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनु भयो।
मन्त्री लम्सालले यातायात व्यवस्था सेवा कार्यालयलाई प्रविधिमैत्री बनाउनका निम्ति ६÷७ महिना अगाडिदेखि काम थालिएको जानकारी दिनुभयो। उहाँले अबदेखि घरबाटै सेवाग्राहीले सेवा प्राप्त गर्नेमा जोड दिनुभयो।
मन्त्री लम्सालले भन्नुभयो, ‘यातायात व्यवस्था कार्यालयलाई सेवाग्राही मैत्री, पारदर्शी साथै व्यवस्थित बनाउन र विशेषगरी रातीको समयमा पटके इजाजतको सेवा लिने र दिनेबीच मानवीय दृष्टीले पनि सहज नहुनसक्छ। यस्तो अवस्थामा अनलाइनले सेवाग्राही र कर्मचारी दुबैलाई सजिलो हुनेछ। घरमै बसेर सेवाग्राहीले अस्थायी बाटो इजाजत पटकेका लागि फारम भर्ने र कर तिर्ने व्यवस्था मिलाइएको छ।’
कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले अनलाइनबाट पटके पाउने भएपछि कार्यालयमा भीड कम हुने बताउनु भयो। साथै यसले सेवालाई थप व्यवस्थित बनाउन मद्दत मिल्ने बिश्वास व्यक्त गर्नुभयो।
श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा भएको कार्यक्रम मन्त्रालयका सचिव बलराम निरौलाको अध्यक्षता एवं मन्त्री लम्सालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो।