काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले एमाले-माओवादीसँगको सम्बन्ध दिगो समयका निम्ति हुनुपर्नेमा जोड दिनुभएको छ।
बुधबार समाजवादी प्रेस संगठन, नेपाल उपत्यका प्रदेश कमिटीको भेलालाई सम्बोधन गर्दै उपमहासचिव तथा पार्टी प्रचार विभाग प्रमुख खतिवडाले उक्त कुरा बताउनु भएको हो।
उपमहासचिव खतिवडाले भन्नुभयो, ‘हामी निक्कै ठूलो चुनौतीका बीचमा उभिएका छौं। हिजोका दिनमा एमालेसँग हाम्रो तीव्र प्रतिष्पर्धा थियो। आज नेताहरूका बीच निरन्तर सम्वाद चलिरहेको छ। केपी ओली माधवकुमार नेपालको घरमा आउनु भयो। सम्बन्धलाई सुधार्ने प्रयास गर्नु भएको छ। कुनै दिन माधव कमरेडको नाम लिदा मुख कुल्ला गर्छु भन्नुहुन्यो। तर, आज नयाँ परिवेश जन्मिएको छ। यसलाई हामीले परबाट हेर्नुपर्नेछ। आजको आजै सबै कुरा हुँदैन। हामी एमाले, माओवादीसँगको सहकार्य कुनै स्वार्थमा होइन, लामो समयसम्म जान चाहान्छौं। देश, जनता र कम्युनिष्ट आन्दोलनका निम्ति हाम्रो सम्बन्ध हुनुपर्छ। हिजोका तिता मिठा कुरा भुलेर नयाँ सोचका साथ अगाडि बढौं भन्नेमा हामी छौं। एउटा क्रान्तिकारी पार्टी निर्माणको सोच बोकेर अगाडि बढिरहेका छौं। यसका निम्ति हामी खुल्ला हुनुपर्छ।’
उपमहासचिव खतिवडाले अगाडि भन्नुभयो, ‘एकीकृत समाजवादी बलियो नभइ अन्य कुराको कल्पना गर्नु हुँदैन। समाजवादी प्रेस संगठनले पेशागत हकहित बाहेक पार्टीको कामलाई पनि जिम्मेवार पूर्वक पूरा गर्नुपर्ने हुन्छ। पार्टी र संगठनको स्वतन्त्र छविलाई बोकेर हिड्नुपर्छ। काम नगरी कुनै पनि अस्तित्व निर्माण हुँदैन। त्यसैले संगठनका नेताहरूले काम गर्नुहोस्। संगठनलाई सक्रिय बनाउनतिर लाग्नुहोस्। पार्टी सत्तामा होस्, कि बाहिर होस्। तर, हाम्रो ध्यान संगठनका काममा हुनुपर्छ।’
संगठनका निवर्तमान अध्यक्ष सविन शर्माको अध्यक्षता सम्पन्न कार्यक्रममा नेकपा एस ललितपुरका उपाध्यक्ष उषा बर्जचार्य, नेकपा एस काठमाण्डौँ जिल्ला कमिटि सचिव धुव्रराज न्यौपाने, नेकपा एमाले प्रचार विभाग सदस्य मोहन वास्तोला, नेपाल पत्रकार महासंघ अध्यक्ष सूर्य सुवेदी, प्रेस सेन्टर काठमाण्डौँ जिल्ला कमिटिका सचिव रमेश लामिछाने लगायतको उपस्थिति थियो ।