काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडित किसानहरूको आन्दोलनलाई समर्थन गर्दै समस्याहरूको सम्बोधन गर्नुपर्ने धारणा राख्नु भएको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै सम्मानित नेता खनालले ‘मिटरब्याज पीडित किसानहरूको आन्दोलनलाई समर्थन गरौं, उनीहरूका समस्याहरूलाई समाधान गर्न ठोस् मद्दत गरौं’ भन्ने मुल नारासहित उक्त धारणा राख्नु भएको हो।
जारी विज्ञप्तिमा भनिएको छ, ‘फेरी एकपटक मिटर ब्याज पीडित किसानहरू मेची र महाकालीबाट आन्दोलनमा उत्रिन बाध्य भएका छन्। यो आन्दोलन दलाल पुँजीवाद र तिनीहरूका राजनीतिक प्रतिनीधिहरूले भूमिहीन, गरिब र मध्यम किसान जनता माथि गर्दै आएको मिटर ब्याजी भनिने निर्मम, क्रुर र भयावह शोषण, अन्याय,अत्याचार र जनलुटका विरुद्ध जारी किसान आन्दोलन हो। हामी सबैलाई थाहा छ । केहि महिना अघि मात्र पनि यिनै पीडित किसानहरूले विभिन्न जिल्लाबाट ११ दिन पैदल हिँडेर राजधानी पुगी आन्दोलन गरेका थिए । उनीहरुले यो अमानवीय शोषण र अत्याचारबाट मुक्ति दिलाउन सरकारसग जोडदार माग गरेका थिए । तर सरकारले ती किसानहरूका माग पूर्ति गर्न र उनीहरूलाई लुट र अत्याचारबाट मुक्त पार्ने ठोस र क्रान्तिकारी कदम उठाउन सकेन। जुन कानुन बन्यो त्यसले किसानहरूलाई कुनै राहत र समाधान दिन सकेन। किसानहरु माथि भइरहेका लुट र अत्याचारहरू यथावत जारी रहे। त्यसले गर्दा फेरि आज मिटर ब्याज पीडित किसानहरू पुनः आन्दोलनमा उभिन बाध्य भएका छन। मिटर ब्याज पीडकहरुका विरुद्ध किसानहरुले सुरु गरेको स्वतस्फुर्त वर्ग संघर्ष हो। यो बिल्कुलै न्यायपूर्ण आन्दोलन हो। म हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मिटर ब्याज पीडित किसानहरूको यो न्यायपूर्ण आन्दोलनलाई दृढ समर्थन गर्दछु र उनीहरूको आन्दोलनको पूर्ण सफलताको निम्ति हार्दिक शुभकामना दिन चाहन्छु।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै किसानहरूको यो आन्दोलनलाई हर प्रकारले सहयोग र समर्थन गर्न अखिल नेपाल किसान महासंघ र हाम्रो पार्टीका सम्पूर्ण नेता कार्यकर्ता र समर्थकहरुलाई पनि हार्दिक आह्वान गर्दछु। मिटर ब्याज पीडित किसानहरूको यो न्यायपूर्ण आन्दोलनप्रति सहानुभूति राख्ने अन्य सबै राजनीतिक पार्टी,शक्ति र व्यक्तिहरूलाई पनि यो आन्दोलनलाई सहयोग र समर्थन गर्न आग्रह गर्दछु । त्यसका साथै हाम्रो देशका भूमिहीन, गरिब र मध्यम किसानहरूका समस्याहरुलाई गम्भीरतापूर्वक लिन, मिटर ब्याज पीडित किसानहरूका पीडालाई गहिरो गरी बुझ्न, उनीहरुका समस्याहरुलाई आधारभूत रुपले समाधान गर्न, किसानहरुलाई यस पीडाबाट पूर्ण रुपले मुक्त बनाउने ढंगले कदम चाल्न, मिटर ब्याज पीडकहरुलाई कडा कारबाही गर्न र किसानहरूलाई अधिकतम न्याय दिने हिसाबले क्रान्तिकारी कदम चाल्न म सरकारसँग जोडदार माग गर्दछु। अन्यथा, परिस्थिति अझ जटिल बन्ने कुरा छर्लङ्ग छ।’