काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं नेपाल सरकारका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला दार्चुला-तिंकर सडक खण्ड र कर्णाली करिडोरको निरिक्षण गरेर काठमाडौँ फर्किनु भएको छ।
शुक्रबार पार्टीको प्रचार विभाग कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले दार्चुला-तिंकर सडक खण्डमा केही समस्या देखिएको बताउनु भएको छ। तिंकर सडक खण्डमा देखिएका समस्या समाधान गर्न आफूले समन्वयकारी भूमिका खेल्ने बताउनु भयो।
सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले भन्नुभयो, ‘नेपाली सेनाले काम गरिरहेको दार्चुला तिँकर सडक खण्डको कामका प्रगतिका बारेमा हामीले अनुगमन गरेर आएका छौं। देखा परेका समस्या र ति समस्या समाधानका उपायहरूबारे मन्त्रालय छलफल गरिनेछ। कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा स्थलगत रूपमै पनि निरिक्षण गरेका छौं। तिँकरसम्म पुग्दा केही समस्याहरूको पहिचान गरेका छौं। केही भौतिक पूर्वाधार मन्त्रालयबाटै समाधान हुने खालका समस्या छन्। केही समस्याहरू अन्तरमन्त्रालयसँग सम्बन्धित छन्। सबैसँग समन्वय गरेर दार्चुला-तिँकर सडक खण्डमा देखा परेका समस्या समाधान गरिनेछन्। केही वजेटको अभाव देखिएको छ। वजेटको व्यवस्थापन गर्ने हो नेपाली सेनाले समयमै काम गर्न सक्छ।’
सिमिकोटलाई यस वर्षभित्र सडक सञ्जालमा जोड्छौं
मन्त्री ज्वालाले यसै वर्षभित्र हुम्लाको सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने बताउनु भएको छ। कर्णाली करिडोरमा तीव्र रूपमा काम भइरहेको बताउँदै मन्त्री ज्वालाले केही समस्या रहेको र ति समस्या समाधान गर्न सकिने खालका रहेको बताउनु भयो।
प्रचार विभाग प्रमुख वशन्तकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्वालाले भन्नुभयो, ‘सुर्खेत-हिल्सा फास्टट्राकका बारेमा प्रधानमन्त्र पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक हुनुहुन्छ। प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा पनि यस सडक खण्डका बारेमा कुरा भएको थियो। त्यो भ्रमणको एकजना सदस्य म पनि थिएँ। सुर्खेत-हिल्सासम्मको सडकमा चीनले सहयोग गरोस् भन्ने प्रस्ताव पनि राखेका थियौं। तर, हिल्सा-सिमिकोट सडक खण्ड निर्माणमा चीनले सहयोग गर्ने सहमति भएको थियो। थप सिमिकोटदेखि सुर्खेतसम्मको सडकका लागि चीनसँग कुराकानी भइरहेको छ।’
मन्त्री ज्वालाले अगाडि भन्नुभयो, ‘खासगरी कालिकोटको खुलालु-सिमिकोट सडक खण्डको निरिक्षण गरेका छौं। दुई वटा उद्देश्य राखेर हामीले उक्त सडक खण्डको निरिक्षण गरेका हौं। कर्णाली करिडोर अन्तरगत सल्लिसल्लामा एक करोड ८७ लाखमा लागतमा निर्माण भएको बेलीबृज उद्घान गर्ने र बाजुराको कोल्टिमा सडक कार्यालय उद्घाटन गरेका छौं। मुलत खुलालुदेखि सिमिकोटसम्मको सडकको स्थलगत अनुगमन गर्ने काम भएको छ। नेपाली सेनाले निर्माण गरिरहेको खण्ड र सडक विभागले निर्माण गरिरहेको खण्डको अनुगमन गर्ने काम भएको छ।'
करिडोर अन्तरगत केही ठाउँमा कडा चट्टान रहेको र त्यो समाधान गर्न नेपाली सेनालाई जिम्मेवारी दिने मन्त्री ज्वालाको भनाई छ। मन्त्री ज्वालाले भन्नुभयो, ‘यस क्रममा नेपाली सेना, आयोजना प्रमुख र सडक विभागका कर्मचारीहरूसँग छलफल गर्ने काम भएको छ। प्रगतिसँगै त्यहाँ देखिएका समस्याका बारेमा पनि हामीले छलफल गरेका छौं। वजेटको कमिदेखि विभिन्न समस्या देखा परेका छन्। विनियोजित वजेटबाट हुने सम्पूर्ण काम गर्नुपर्ने छ। सडक विभाग र नेपाली सेनाले जिम्मेवारी लिएको सडक खण्डमा तीव्रताका साथ काम भइरहेको छ। केही कडा चट्टानी भाग रहेको छ। त्यस्ता अफ्ट्यारा ठाउँको जिम्मेवारी नेपाली सेनालाई दिएर भएपनि तत्काल समस्या समाधान गर्नेमा हामी पुगेका छौं। त्यसको लागि थप वजेटको आवश्यकता पर्छ। त्यसको व्यवस्था गर्छौं। यति भएपछि यहि आर्थिक वर्षभित्र हुम्लाको सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सकिन्छ। हामी यो लक्ष्यका साथ काम गरिरहेका छौं।'
तस्बिर: मन्त्री ज्वालाको सचिवालयबाट