दिनेश राज खरेल 
काभ्रेपलान्चोक । काभ्रेमा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ। बागमती प्रदेश सरकारको  श्रम ,रोजगार तथा यातायात मन्त्रालयले काभ्रेमा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । 
बागमती प्रदेशको काठमाडौमा तीनवटा  ,हेटौंडा र चितवनमा एक एकवटा  मात्र यातायात व्यवस्था कार्यालय रहेकोमा काभ्रेमा अर्को  एक कार्यालय थप हुने बागमती प्रदेशका श्रम ,रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले बताउनु भएको छ।  
यस्तै बागमती प्रदेशको निज यातायात कार्यालय पनि बन्ने भएको छ। काठमाडौँमा निर्माण हुने कार्यालय भवनको निम्ति जग्गा प्राप्ति पनि गरिसकिएको मन्त्री लम्सालले एक कार्यक्रम मार्फत जानकारी गराउनु भएको छ। 
उहाँका अनुसार , अब जनताले लाइनमा बसेर पैसा तिर्नु पर्ने दिनको अन्त्य हुने छ। श्रम ,रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले थुप्रै सुधारका काम गरि सकेको बताउँदै अब छिटोभन्दा छिटो अनलाइन सिष्टमबाट पैसा तिर्न मिल्ने प्रणालीको विकास हुने प्रष्ट पार्नु भएको छ। 
काभ्रेमा यातायात कार्यालय स्थापना हुँदा छिमेकी जिल्ला दोलखा ,रामेछाप, सिन्धुलि ,सिन्धुपाल्चोकका नागरिकले सेवा सुविधा पाउने छन् । यो काभ्रेमा स्थापना हुन लागेको कार्यालय काठमाडौको वैकल्पिक कार्यालय भएकोले अब नागरिकले यातायात कार्यालयमा भोग्नु पर्ने दुःख र सास्तीको अन्त्य हुने   उहाँको विश्वास रहेको छ।