काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको ७०औं वैठक आगामी शनिबार पुनःबस्नेगरी स्थगित भएको छ।
विधान संशोधनबारे छलफल गर्न सोमबार र मंगलबारलाई बोलाएको बैठक पुनः शनिबार बस्नेगरी स्थगन भएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनु भएको छ।
वैठकपछि पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा सचिव श्रेष्ठले भन्नुभयो,‘विधान संशोधन मस्यौदामाथि बैठकमा सहभागी नेताहरुले एकसरो धारणा राख्नुभएको छ। अब आगामी शनिबार बस्ने बैठकमा छुटेका नेताहरूको धारणा सुनेर अध्यक्षले आफ्नो धारणा राखेपछि बैठक सकिन्छ।’
जारी सचिवालय बैठकमा नेता जगननाथ खतिवडा र धर्मनाथ प्रसाद साह व्यस्तताका कारण उपस्थित हुनु भएको छैन।
उपमहासचि जगन्नाथ खतिवडा भ्रष्टाचारविरूद्ध सांसदहरूको विश्वव्यापी संगठन (गोपाक) को कार्यकारी बोर्डको बैठकमा भाग लिन उज्बेकस्तान पुग्नु भएको छ भने साह व्यक्तिगत कामले यो बैठकमा उपस्थित हुन नसक्नु भएको हो। शनिबारको बैठकमा मस्यौदा प्रस्तुतकर्तासमेत रहेका उपाध्यक्ष डा.बेदुराम भुसाललेसमेत थप प्रस्ट पार्नेहुनेछ।
यसैबीच एकीकृत समाजवादीले विधान संशोधन प्रक्रियाअघि बढेको भन्दै तत्काललाई जिल्ला र नगर अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ। मंगलबारको सचिवालय बैठकले तत्काललाई नगर र जिल्ला अधिवेशन स्थगित गर्न निर्देशन दिने निर्णय गरेको नेता श्रेष्ठले जानकारी दिनु भएको छ।
श्रेष्ठले भन्नुभयो, ‘आज एउटा निर्णय भएको छ। त्यो भनेको तोकिएका जिल्ला र नगर अधिवेशनहरु तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ। माघ १५ गतेपछि मात्र मिति तोक्ने र त्योभन्दा अघि मिति तोकिएका अधिवेशनहरु स्थगित गर्न निर्देशन दिने निर्णय भएको छ।’