काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई ‘राष्ट्रिय हित तथा सुरक्षा’ सम्बन्धी दस्तावेज बुझाएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकलनगरमा राष्ट्रिय हित सुरक्षा विभागले अध्यक्ष नेपाललाई भटेर उक्त दस्तावेज बुझाएको हो।
राष्ट्रिय हित सुरक्षा विभागका प्रमुख पुष्पा कुमारी कर्ण, उपप्रमुख शंकर पोखरेल, सचिव सुधिरमानसिंह बि.के.खातीसहितका नेताहरूको टोलीले सुरक्षा सम्बन्धी अवधारणा पत्रसहितको दस्तावेज बुझाएको हो।
विभागले राष्ट्रहित तथा सुरक्षाका लागि अवलम्बन गर्नुपर्ने महत्वपूर्ण नीति तथा कार्यक्रमहरूलाई विभिन्न बुँदामा समावेश गरेर अवधारणासहितको दस्तावेज बुझाएको विभागका प्रमुख कर्णले बताउनु भयो।
देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण राख्दै विविधताबीचको एकता, सामाजिक साँस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवर्द्धन गर्दै नेपालीको हकहितको रक्षा, सीमानाको सुरक्षाका साथै आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गरी समतामूलक समाज निर्माण गर्न दस्तावेजले सहयोग गर्ने बताएको छ।
विभागले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, कुनीति र परराष्ट्र नीतिका सम्बन्धमा, छिमेकी र अन्य मित्र राष्ट्रबीचको सम्बन्धमा, राष्ट्रिय हित, विकासका सम्बन्धमा र गैरआवासीय नेपालीका सम्बन्धमा महत्वपूर्ण अर्थराख्ने बुँदाहरू अवधारणा पत्रमा समावेश गरी बुझाएको विभागका सचिव खातीले बताउनु भयो।