विषय उठान
कमरेड पुष्पलालको नेतृत्वमा सन् १९४९ मा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५औं वर्ष चल्दैछ। कम्युनिस्ट पार्टी गठनको त्यही बखतबाट नेपालमा ऐतिहासिक भौतिकवादी दृष्टिबाट समाजको विश्लेषण गर्ने परम्परा सुरु भएको हो। पुष्पलालले नै नेपाली समाजलाई पहिलोपटक अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्रको समाज भनी विश्लेषण गर्नुभयो। र, त्यसप्रकारको समाजमा सामन्त तथा नोकरशाही पुँजीपति वर्गविरुद्ध मजदुर र किसान वर्गले सङ्घर्ष गर्ने, त्यसको नेतृत्व कम्युनिस्ट पार्टीले गर्ने अनि क्रान्तिको स्वरुप नयाँ जनवादी हुने कार्यदिशा उहाँले किटान गर्नुभयो। त्यस यताको पौने शताब्दी लामो नेपाली कम्युनिस्ट आन्दोलन मूलतः पुष्पलालको त्यही निष्कर्षमा टेकेर आजको घुम्तीसम्म आइपुगेको हो।
पौने शताब्दीपछि, के आज पनि हामी त्यस्तै परिस्थिति र उस्तै चरित्र भएको समाजमा छौं त ?
यो प्रश्नले उत्तर खोज्दै हिँड्न थालेको धेरै वर्ष भइसक्यो तर समयले दिने ठेट उत्तरले यतिखेर सबैलाई झक्झाइरहेको छ। अर्थात्, हामी त्यस्तै समाजमा छैनौं। सात दशक लामो कम्युनिस्ट आन्दोलन आफ्नो ‘नयाँ जनवादी क्रान्ति’को कार्यक्रम पूरा गर्ने लक्ष्य राखेर क्रियाशील भइरह्यो, टुट्दै–फुट्दै, अनेक धारामा विभाजित हुँदै, कुनै धारा वर्गसङ्घर्षको सशस्त्र बाटो अँगाल्दै, कुनै धारा दक्षिणपन्थी–संशोधनवादी र संसदीय बाटो पछ्याउँदै ! लगभग सबै कम्युनिस्ट पार्टीहरुले किटान गरेको लक्ष्य अर्थात् ‘नयाँ जनवादी क्रान्ति’ पूरा हुन सकेन, जो कम्युनिस्ट पार्टीको नेतृत्वमा हुनुपथ्र्यो। बरु कम्युनिस्टहरुकै संलग्नता र सहकार्यमा बुर्जुवा जनवादी क्रान्तिले विभिन्न चरण हुँदै आफ्नो बाटो तय गर्यो। सँगसँगै नेपाली समाजमा लामो समयदेखि सङ्क्रमित हुँदै गएको विश्व पुँजीवादले आफ्ना जराहरु फैलाउँदै र हाँगाहरु फिँजाउँदै गयो। सन् १९९० को आन्दोलन, दश वर्ष लामो जनयुद्ध, २००६ को जनआन्दोलन, त्यसपछि स्थापित पुँजीवादी गणतन्त्र र संविधान निर्माणसँगै नेपाली समाजमा मात्रात्मक रुपमा भइरहेको अर्थ–राजनीतिक परिवर्तनले राजनीतिक तहबाट गुणात्मक रुप लियो; समाज आधारभूत रुपमा पुँजीवादी चरित्रको भयो। अर्थात्, वर्तमान नेपाली समाज मूलतः पुँजीवादी छ, जुन पुँजीवादी व्यवस्थाको मूल हर्ताकर्ता भएको छ, दलाल पुँजीपति वर्ग !
नेपाली समाज आज सामन्ती वा अर्धसामन्ती छैन भन्नुको अर्थ नेपाली क्रान्तिको निशाना पनि ७५ वर्षअघिको जस्तो सामन्ती व्यवस्थाविरुद्ध सोझिएर हुँदैन (जो छैन, त्यसविरुद्ध कसरी लड्नु ?)। उत्पादनका क्षेत्रमा रहलपहल सामन्ती–सम्बन्धहरु र सांस्कृतिक क्षेत्रमा सामन्ती मूल्यमान्यताहरु अवश्य छन् तर तिनलाई पनि पुँजीवादले आफैमा सहवरण गरिसकेको छ। तसर्थ, अबको क्रान्तिको कार्यक्रम परम्परागत ‘नयाँ जनवादी’ हुन सक्दैन, जुन क्रान्तिले दुईवटा निशाना सामन्तवाद र साम्राज्यवादविरुद्ध सङ्घर्ष सोझ्याउँथ्यो। अब भने साम्राज्यवादी शक्तिको दलाली गरेर शोषित–उत्पीडित जनतामाथि शासन गर्ने घरेलु प्रतिक्रियावादसँग नेपाली जनताको सङ्घर्ष प्रधान बनेको छ। (यहाँनिर छुटाउनै नहुने कुरा छ– साम्राज्यवादसँगको लडाइँ भने सकिएको छैन, साम्राज्यवाद कमजोर भएको पनि छैन। अहिले ऊ प्रत्यक्ष सैन्य हस्तक्षेप गर्न आएको छैन, नेपाली प्रतिक्रियावादी वर्गलाई अघि सारेर उसले आफ्नो उद्देश्य पूरा गरिरहेको छ।) यस अर्थमा पुष्पलालबाट सुरु भएको कम्युनिस्ट आन्दोलनको एउटा कार्यक्रमिक चरण सकिएको छ। अघिल्लो पौने शताब्दीको अवधिलाई कम्युनिस्ट पार्टीले तय गरेको कार्यक्रमका आधारमा हामी मूलतः नयाँ जनवादी कार्यक्रममा आधारित सङ्घर्षको चरण भन्न सक्छौं।
तर, अब भने हामी नयाँ समयमा छौं, समाजको बदलिएको चरित्रले निम्त्याएका विभिन्न जटिलताको सामना गरिरहेका छौं !
समाजको चरित्र बदलिनु भनेको सामान्यतः अर्थ–राजनीतिको भाषामा उत्पादक शक्तिको विकासले उत्पादन सम्बन्धमा ल्याउने फेरबदल हो। पुँजीवाद नै समाजको मूल चरित्र हुनु भनेको अर्थतन्त्र, राजनीति र संस्कृति तीनै क्षेत्रमा पुँजीपति वर्ग प्रभावी हुनु हो। यसलाई माक्र्सवादको शास्त्रीय भाषामा पुँजीपति वर्गको अधिनायकत्व रहेको समाज भन्न सकिन्छ। नेपाली समाजमा पुँजीवाद आन्तरिक हिसाबले उत्पादक शक्तिको स्वाभाविक विकास भई स्थापित भएको होइन, बरु साम्राज्यवादसँगको समर्पण तथा संसर्गबाट र उपरी तहमा सम्पन्न राजनीतिक क्रान्तिको परिणामस्वरुप आइपुगेको हो। त्यसकारण यो पुँजीवाद माथिबाट थोपरिएको हो। यो मुख्यतः बिचौलिया, ठग र सत्ताका आसेपासेहरुबाट सञ्चालित नोकरशाही प्रकृतिको छ, अनि विकृत र रुग्ण छ। परन्तु, कुनै पनि रुपको भए पनि अर्थ–सामाजिक मूलचरित्र पुँजीवादी भइसकेको छ। यस्तो सामाजिक–राजनीतिक रुपान्तरणसँगै नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरुमा तिनीहरुको पुरानो राजनीतिक कार्यक्रमले काम गर्न छाडिसकेको प्रष्ट देखिँदै गएको छ। सँगसँगै यसै बेला नयाँ चरणको कम्युनिस्ट आन्दोलन उठानका बहसहरु, नयाँ पार्टी निर्माणको विभिन्न पहल र संयुक्त मोर्चाका प्रयासहरु पनि सबै धारामा सुरु हुन थालेका छन्। संसदतिर सक्रिय रहेका ‘कम्युनिस्ट पार्टी’मा देखिएको विघटन–विचलन, टुटफुट तथा असैद्धान्तिक एकता–मिलनका शृङ्खलाले एकातिर तीव्रता पाइरहेको छ भने संसदबाहिर रहेका पार्टी र समूहमा एकता र ध्रुवीकरणका कोसिसहरु बढिरहेका छन्। यही समयमा नयाँ ढङ्गले आन्दोलन उठान गर्न पार्टी नवनिर्माणको अभियानहरु थालिएका छन्। यी सबै गतिविधिलाई सङ्क्रमणकालीन कोसिसहरुका रुपमा अथ्र्याउन सकिन्छ।
यस्ता सङ्क्रमणकालीन कोसिस गर्नेहरुको एउटा निष्कर्षमा समानता छ; त्यो हो– आजको सङ्कट आजकै पार्टी, तिनका संरचना, तिनको विद्यमान नेतृत्व, तिनले अँगालेको विश्वदृष्टिकोण र तिनका राजनीतिक कार्यक्रमबाट समाधान गर्न सम्भव छैन। यसो भन्नेमा तत् पार्टी र समूहका नेता–कार्यकर्ता लगभग सहमत छन्। यी सबै कोसिसहरुबीच आपसमा मिल्दै नमिल्ने एउटा भिन्नता पनि छ। त्यो हो– सङ्कटको समाधान कसरी गर्ने भन्नेमा कुनै एउटा पार्टी वा समूहको निष्कर्ष अर्को कुनै पार्टी वा समूहसँग मेल खाँदैन। अर्थात्, दश थरी ‘पार्टी’ छन् र कम्तीमा बिसतिर फर्केका छन् !
दश थरी ‘पार्टी’ बिसतिर किन फर्केका त ?
किनभने तिनीहरुले सही विश्वदृष्टिकोण अँगाल्न सकेका छैनन्, बदलिएको नेपाली समाजको वस्तुगत स्थिति–विश्लेषण गर्न सकेका छैनन् र त्यस आधारमा सही व्यवहारिक बाटो पक्रन सकेका छैनन्। सामान्यतः जटिल सङ्क्रमणकालीन वस्तुगत परिस्थितिले आन्दोलनको जीवनमा पनि सबैभन्दा जटिल र दुविधाग्रस्त विचार वा चेतनाहरु निर्माण गरिदिन्छ। यस्तो अन्यौलग्रस्त र जटिल समयमा दर्जनौं अनुत्तरित प्रश्नहरु र नजिर फेला नपर्ने नयाँ मुद्दाहरु सामुन्नेमा आइपुग्छन्। नेपालको कम्युनिस्ट वा समाजवादी आन्दोलनका सामू आज त्यस्तै अनुत्तरित प्रश्नहरु छन्, बहस हुनुपर्ने अनेक विषयहरु छन्। त्यसमध्येको एउटा विषय अर्थात् ‘नेपाली समाजको मुख्य अन्तरविरोध’बारे विचार गर्न ‘पुष्पलाल ज्ञानशाला’ले आयोजना गरेको गोष्ठीका लागि यो छलफलपत्र तयार गरिएको हो। यो छलफलपत्र बनिबनाउ सैद्धान्तिक अडान होइन; आजको सङ्कट समाधानका लागि विभिन्न कोण र कुनाबाट, समूह र सङ्गठनबाट, अँध्यारा–उज्याला गल्लीबाट, कोठाभित्रबाट वा सडक–किनारबाट भइरहेका र हुन खोजिरहेका प्रयत्नहरुसँग संवाद स्थापित गर्ने विनम्र चेष्टा मात्रै हो !
विषय–विस्तार
कुनै पनि वस्तुको अस्तित्व, गति, विकास र त्यसमा हुने रुपान्तरण सोही वस्तुभित्र अन्तरनिहित अन्तरविरोधमा टिकेको हुन्छ। अन्तरविरोधको नियम भन्नाले प्रकृति, समाज र चिन्तनका क्षेत्रमा परस्पर विरोधी पक्षहरुको एकता र सङ्घर्षको आधारभूत नियम हो। यसले प्रकृति र समाज विज्ञानका क्षेत्रमा परस्पर द्वन्द्वरत पक्षहरुको अध्ययन गर्छ। हरेक समाज र हरेक युग धेरै किसिमका अन्तरविरोधहरु सहित अस्तित्वमा र गतिमा हुन्छ। र, त्यस्ता समाज र युगको विकासको प्रत्येक चरणमा नेतृत्वकारी भूमिका खेल्ने चाहिँ एउटा मात्र प्रमुख अन्तरविरोध हुन्छ। तथापि, कुनै प्रक्रिया यस्ता हुन्छन्, जसमा एउटै विशिष्ट प्रक्रिया वा चरणमा पनि अनेकौं अन्तरविरोधहरु सँगसँगै क्रियाशील रहेका हुन्छन्। खासगरी मानव समाजको विकास र राजनीतिक आन्दोलनका क्रममा अनेकौं प्रकृतिका र जटिल प्रक्रियाका अन्तरविरोधहरु एकैसाथ गुजुल्टिएका हुन्छन्। त्यस्ता आपसमा खप्टिएका, पोयो परेका, गुजुल्टिएका र कतै गाँठा समेत परेका अन्तरविरोधहरु छन् भने तिनको प्रक्रिया, गति र विकासको पनि आफ्नै नियम हुन्छ। त्यस प्रकारका अनेकौं जटिल गुजुल्टाभित्र पनि कुनै एउटा गाँठो प्रमुख बनेर रहेको हुन्छ र त्यसकै स्थान नेतृत्वकारी र निर्णायक हुन्छ।
वैश्विक आयाममा अध्ययन गर्दा आज साम्राज्यवादको चरणमा पुगेको पुँजीवादी युगका अनेक अन्तरविरोधहरु छन् (त्यसबारे अलग्गै अध्ययन र चर्चा गर्न सकिन्छ)। नेपाली समाजमा लामो कालदेखि विश्व पुँजीवाद (साम्राज्यवाद) को सङ्क्रमण हुँदै जाँदा र मूलभूत रुपमा समाजको चरित्र पुँजीवादी भइसक्दा पुँजी र श्रमबीचको अन्तरविरोध मुख्य वा नेतृत्वकारी हुनु स्वाभाविक छ। त्यसमध्ये वर्ग–समूहका हिसाबले आज नेपालमा के कस्ता अन्तरविरोधहरु अग्रणी छन् भन्ने प्रश्न स्वाभाविक रुपले उठ्छ। इतिहासको सामन्तवादीकालदेखि नै नेपाली समाज अर्थ–राजनीतिक, सामाजिक, सांस्कृतिक र क्षेत्रीय अन्तरविरोधहरुको समुच्चयबाट निर्मित छ। त्यस्ता सबै अन्तरविरोधहरुमध्ये वर्तमानमा निम्न छ वटा अन्तरविरोधहरु आधारभूत भूमिकामा रहेका छन्ः
क) पुँजीपति वर्ग र सर्वहारा–श्रमजीवी वर्गबीचको अन्तरविरोध।
ख) दलाल पुँजीपति वर्ग र सम्पूर्ण शोषित–उत्पीडित नेपाली जनताबीचको अन्तरविरोध।
ग) प्रतिक्रियावादी एवम् दलाल शासक वर्गबीचको आपसी अन्तरविरोध
घ) साम्राज्यवादी शक्तिहरु र नेपालबीचको अन्तरविरोध।
ङ) प्रभुत्वशाली शासक समुदाय र अधीनस्थ/उत्पीडित समुदायबीचको अन्तरविरोध।
च) लाहुरेकृत उत्पादक (श्रमिक) शक्ति र उत्पादन–सम्बन्धबीचको अन्तरविरोध
प्रकृति र अन्य वस्तुभित्र हुने अन्तरविरोधभन्दा मानव समाजमा चल्ने अन्तरविरोध विशिष्ट, जटिल र बहुआयामिक हुने भएकाले फरक इतिहास, फरक सभ्यता र फरक भूराजनीतिक विशेषतासहितका समाजमा चल्ने अन्तरविरोधको आफ्नै विशिष्टता हुन्छ। उस्तै–उस्तै भूगोल तथा हावापानी भएका मुलुकहरुको सामाजिक तथा राजनीतिक विकासमा ठूलो भिन्नता र असमानता भेटिन्छ, किनभने तिनको आन्तरिक तथा ऐतिहासिक विशेषता भिन्नभिन्न हुन्छन् र तिनै विशेषताले तिनको विकासमा आधारभूत भूमिका खेलिरहेका हुन्छन्। यसरी हेर्दा नेपाल समग्रतामा विश्व पुँजीवादकै एउटा इकाइ हुँदाहुँदै पनि ऐतिहासिक, सामाजिक र सांस्कृतिक हिसाबले यसका आफ्नै अलग विशिष्टताहरु छन्। यसको अर्थ यसका आफ्नै विशिष्ट अन्तरविरोधहरु छन्। आधारभूत रुपमा माथि उल्लेख गरिएका अन्तरविरोधहरु पनि सबै समान र एकै प्रकृतिका छैनन्, तिनका आफ्नै विशिष्टता छन्। तर, वर्तमान समयमा दलाल पुँजीपति वर्गसँग सम्पूर्ण शोषित–उत्पीडित नेपाली जनताको अन्तरविरोध प्रधान अन्तरविरोध बनेर रहेको छ। उपर्युल्लिखित छवटै आधारभूत अन्तरविरोधबारे संक्षिप्तमा अलिकति चर्चा गरौंः
क) पुँजीपति वर्ग र सर्वहारा–श्रमजीवी वर्गबीचको अन्तरविरोधः
हरेक पुँजीवादी समाजमा पुँजीपति वर्ग नै शासक वर्गका रुपमा रहन्छ। नेपालमा पुँजीवादी उत्पादन सम्बन्ध र पुँजीवादी व्यापार–व्यवसायको विस्तारसँगै पुँजीपति वर्गको उदय भएको हो। राणाकालदेखि नै नेपालमा पुँजीपति वर्ग विद्यमान छ। अङ्ग्रेजसँग सन् १८१६ मा सुगौली सन्धि गरेसँगै नेपाल अर्धऔपनिवेशिक अवस्थामा रह्यो र त्यसयता राणा सरकार र राजतन्त्र स्वयम् पनि साम्राज्यवादको देशी जिम्मुवालको भूमिकामा रहन थाल्यो, जसका कारण पुँजीपति वर्ग नेपालमा स्वतन्त्र र स्वाभाविक ढङ्गले विकसित हुन सकेन। साम्राज्यवादको पछुवा नबनेको र स्वतन्त्र ढङ्गले पुँजी विस्तार गरिरहेको पुँजीपति वर्ग नेपालमा निकै कमजोर अवस्थामा छ। पुँजीपति वर्गको सापेक्षतामा सर्वहारा र श्रमजीवी वर्गको नेपालमा तीव्रतामा विकास भएको छ। सर्वहारा, अर्धसर्वहारा र ज्यालादारी मजदुरको संख्या बढ्दो अवस्थामा छ। आज पुँजीपति वर्ग र सर्वहारा–श्रमजीवी वर्गबीचको अन्तरविरोध अहिले गौण अवस्थामा छ।
ख) दलाल पुँजीपति वर्ग र श्रमजीवी वर्गसहित सम्पूर्ण शोषित–उत्पीडित नेपाली जनताबीचको अन्तरविरोधः
उत्पादन सम्बन्धमा आधारभूत रुपमा सामन्तवादको र राजनीतिमा राजतन्त्रात्मक प्रणालीको अन्त्य भएसँगै नेपालमा दलाल पुँजीपति वर्ग नै पूर्णतः शासक वर्गका रुपमा रहिआएको छ। आजको राज्यसत्ताको प्रमुख हर्ताकर्ता नै साम्राज्यवादी शक्तिको आड पाइरहेको वा उसको दलाली गरिरहेको पुँजीपति वर्ग हो। नेपालको सर्वहारा–श्रमजीवी वर्ग, अर्धसर्वहारा, ज्यालादारी मजदुर, यहाँको उत्पादन सम्बन्धमा प्रगतिशील भूमिका निर्वाह गरिरहेको निम्न पुँजीपति वर्ग, राष्ट्रिय पुँजी निर्माण गरिरहेका मध्यमस्तरका उद्यमी–व्यवसायीहरु, आत्मनिर्भर किसानहरु, लघु उद्यमीहरु, विप्रेषण पैदा गरिरहेका आप्रवासी (लाहुरे) मजदुरहरु र सम्पूर्ण उत्पीडित समुदाय आज नेपाली समाजका प्रगतिशील शक्तिका रुपमा रहेका छन्। नेपाली समाजको मुख्य उत्पादक शक्तिका रुपमा रहेको सर्वहारा–श्रमजीवी वर्ग तीव्र रुपमा विकास भइरहेको प्रगतिशील वर्ग हो। आज राज्यसत्ता हातमा लिएर सर्वत्र रजगज गरिरहेको दलाल पुँजीपति वर्गसँग सर्वहारा–श्रमजीवी वर्गको अन्तरविरोध थप चर्किंदै जाने देखिन्छ।
ग) प्रतिक्रियावादी एवम् दलाल शासक वर्गबीचको आपसी अन्तरविरोधः
नेपाली समाज अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहँदा यहाँको शासनसत्ताको नेतृत्व गर्ने राजतन्त्रको अन्त्य भइसकेको छ। बचेखुचेको सामन्ती उत्पादन सम्बन्ध र सामन्तवादको धार्मिक–सांस्कृतिक पक्षलाई टेकेर अहिले पुनर्उत्थानवादी शक्तिले बेलाबेला टाउको उठाउन कोसिस गरिरहेको देखिन्छ। उक्त शक्तिको आगमनका लागि नेपालभित्र कुनै वस्तुगत आधार उपस्थित छैन। यो पुनर्उत्थानवादी शक्ति घरेलु राजनीतिक सत्ता हत्याउनका लागि क्षेत्रीय साम्राज्यवादी शक्तिको ढोका चहार्दै हिँडेको छ। साम्राज्यवादकै आडभरोसामा टिक्न सकिने आँकलन गरेर उसले मुलुकभित्र ठाउँ बनाउने अनेक दाउ हेरिरहेको छ। उक्त पुनर्उत्थानवादी शक्तिको अन्तरविरोध यतिखेर साम्राज्यवादकै दलालीमा टिकेको अहिलेको शासक वर्गसँग छ। आज सत्ता चलाइरहेको दलाल पुँजीपति वर्गमा पनि आपसमा तीव्र अन्तरविरोध विकास भइरहेको छ, जुन विद्यमान राजनीतिक पार्टीहरुको टुटफुट र सत्ता–खिचातानीमा बेलाबेला प्रकट हुने गर्छ। यो शासक वर्गबीचकै आपसी अन्तरविरोध हो।
घ) साम्राज्यवादी शक्तिहरु र नेपालबीचको अन्तरविरोधः
आजको युग साम्राज्यवादको युग हो (र सँगसँगै सर्वहारा समाजवादी क्रान्तिको युग पनि हो)। मुख्यतः अमेरिकी साम्राज्यवाद संसारैभरि आफ्नो प्रभुत्व कायम राख्ने उद्देश्यले नाटोमार्फत् क्षेत्रीय युद्ध मच्चाउन, अधीनस्थ मुलुकहरुमा हस्तक्षेप बढाउन, एमसीसी–एसपीपीजस्ता विभिन्न रणनीतिक परियोजनाहरुमार्फत् शक्ति–विस्तार गर्न उद्यत छ। नेपालका सन्दर्भमा भारतले इतिहासदेखि नै आफ्नो साम्राज्यवादी नीति कायम राखेको छ। विभिन्न असमान सन्धि–सम्झौतामार्फत्, सीमाक्षेत्रमा प्रत्यक्ष सैन्य अखडा राखेर, दर्जनौं ठाउँमा सीमा मिचेर, नेपालको प्राकृतिक स्रोत–साधनको दोहन गरेर, यहाँको राजनीतिमा प्रत्यक्ष–अप्रत्यक्ष हस्तक्षेप गरेर उसले आर्थिक, राजनीतिक र सामरिक हिसाबले नेपाललाई आफ्नो पकडमा राख्न खोजिरहेको छ। नेपाल र भारतीय साम्राज्यवादको अन्तरविरोध पनि बेलाबेला निर्णायक हुने गरी आउने गरेको छ। अहिले भने उसले नेपालभित्र मुख्यतः अरौटेहरु अघि सारेर आफ्ना साम्राज्यवादी नीतिहरु लागू गराउँदै आएको छ।
ङ) प्रभुत्वशाली शासक समुदाय र अधीनस्थ/उत्पीडित समुदायबीचको अन्तरविरोधः
नेपाल सामाजिक–सांस्कृतिक, भाषिक र क्षेत्रीय हिसाबले विशिष्ट प्रकृतिको मुलुक हो। यहाँ विभिन्न उत्पीडित राष्ट्रियताहरु छन्। हिन्दु जात व्यवस्थाका कारण आर्थिक–सांस्कृतिक विभेदको पिँधमा पारिएको दलित समुदाय छ, जो अहिले पनि ग्रामीण–अर्धसर्वहाराको स्तरमा रहेको आधारभूत श्रमजीवी वर्ग हो। पितृसत्तात्मक सामाजिक संरचना एकातिर र उत्पीडित भएका महिलाहरु अर्कोतिर छन्। एकातिर प्रभुत्वशाली शासक समुदाय र अर्कोतिर त्यसको अधीनस्थ रहेका उत्पीडित राष्ट्रियता (आदिवासी–जनजाति), दलित समुदाय, महिला, धार्मिक अल्पसंख्यक, लैंगिक अल्पसंख्यक, क्षेत्रीय शक्तिबीचको अन्तरविरोध पनि अहिले नेपाली समाजमा विद्यमान छ। बेलाबेला यस्तो अन्तरविरोधले राजनीतिक शक्ति–सङ्घर्षमा आफ्ना प्रभावशाली लक्षण देखाउने गरेको छ। प्रमुख अन्तरविरोधको गति र विकासका खास चरणमा यस प्रकारका अन्तरविरोधहरुको स्थान र भूमिका समेत बेलाबेलामा निर्णायक रहने गरेको छ।
च) लाहुरेकृत उत्पादक शक्ति (श्रमशक्ति) र उत्पादन–सम्बन्धबीचको अन्तरविरोधः
समाज विकासको अध्ययन गर्दा उत्पादक शक्ति र उत्पादन सम्बन्धबीचको अन्तरविरोध अध्ययन गर्नुपर्ने हुन्छ। उत्पादक शक्ति भन्नाले उत्पादन प्रक्रियामा भूमिका खेल्ने शक्ति अर्थात् मानवीय श्रमशक्ति र उत्पादनका साधनहरु (उत्पादन प्रक्रियामा प्रयोग हुने श्रमका वस्तु र श्रमका साधनहरु) को संयोजित रुपलाई लिने गरिन्छ। यसमध्ये मानवीय श्रमशक्ति (शारीरिक तथा बौद्धिक श्रम, सीप, दक्षता, कला समेत)को उत्पादन प्रक्रियामा निर्णायक भूमिका हुने गर्छ। तसर्थ, मानवीय श्रमशक्तिको भूमिकालाई उत्पादक शक्तिको जीवन्त पक्ष मानिन्छ। मानवीय श्रमशक्ति र मानवीय पहलको अभावमा उत्पादनका साधन (श्रमका औजार र श्रमको वस्तु) ले मात्रै उत्पादन गर्न सक्दैनन्। तसर्थ, श्रमिक वर्ग नै उत्पादन प्रक्रियाको जीवन्त पक्ष वा उत्पादक शक्तिको निर्णायक पक्षका रुपमा रहन्छ। उत्पादनका उपकरणहरुको उन्नत विकासले उत्पादनको परिमाणमा प्रचुरता मात्रै बढाउँदैन, श्रमशक्तिको दक्षता र चेतनालाई पनि उन्नत स्तरमा पुर्याउँछ। अहिले नेपालका श्रमिकहरु (५० लाखदेखि ८० लाखसम्मको संख्यामा) विदेशमा श्रमशक्ति बेच्न विवश छन्। परम्परागत शैलीमा भन्ने हो भने यो नेपालको प्रमुख श्रमशक्तिको लाहुरेकरण हो। यो श्रमशक्ति र नेपालको उत्पादन–सम्बन्धबीचको अन्तरविरोध आजको नेपाली समाजमा निकै जटिल, विशिष्ट र महत्त्वपूर्ण बनेर आएको छ। शारीरिक र बौद्धिक श्रम मात्रै होइन; ज्ञान–विज्ञानमा दखल राख्ने, उन्नत प्राविधिक दक्षता भएको र सीप तथा कौशलमा उत्कृष्टता हासिल गरेको प्रमुख उत्पादक शक्तिको मूलहिस्सा नै मुलुकको उत्पादन–प्रणालीसँग जोडिएको छैन। तर त्यस शक्तिको लाहुरे–जेला विप्रेषणमार्फत् नेपाल भित्रिने गर्छ। त्यो शक्तिको विकास र अन्तरविरोधको आयाम एकातिर विश्व पुँजीवादसँग र अर्कोतिर नेपालको घरेलु उत्पादन–पद्धतिसँग जेलिएको छ। नेपाली समाजको यो अन्तरविरोधको गति र आयामका कारण उत्पादक शक्ति र उत्पादन सम्बन्धको अन्तरविरोध नयाँ ढङ्गले चर्किने सम्भावना छ।
विषय–बिसाउनी
एक, माथि चर्चा गरियो– दलाल पुँजीपति वर्ग र श्रमजीवीवर्गसहितको सम्पूर्ण शोषित–उत्पीडित नेपाली जनताबीचको अन्तरविरोध नै आजको नेपाली समाजमा मुख्य वा प्रधान भूमिकामा छ। यो अन्तरविरोधमा एकातिर दलाल पुँजीपति वर्ग छ, शासनसत्तामा। अर्कोतिर त्यसको विरोधी पक्षका रुपमा मुख्यतः श्रमजीवी वर्गसहित नेपालका सम्पूर्ण शोषित–उत्पीडित जनताको समूह छ। समग्रमा त्यो जनपंक्तिलाई बोलीचालीको भाषामा नेपालको गरिखाने वर्ग भन्न सकिन्छ। यो नै आजको नेपालको आन्तरिक वस्तुगत परिस्थिति हो। सन् १९५० यता मुख्यतः भारतीय साम्राज्यवादसँगको सम्बन्धले नेपालको बाह्य वस्तुगत परिस्थिति निर्धारण गर्ने गरेको छ। यी दुवै परिस्थितिलाई ध्यानमा राखी सम्पूर्ण श्रमजीवी वर्गसहितको शोषित–उत्पीडित नेपाली जनताको शक्तिलाई बल पुर्याउनु वा त्यसलाई विजयमा पुर्याउनु आजको नेपाली समाजको प्रगतिशील तप्काको दायित्व हो।
दुई, कुनै पनि समाजको वस्तुगत परिस्थितिको ज्ञान हुनु वा प्रमुख अन्तरविरोधको निदान गर्नु भनेको त्यस समाजको ह्रासोन्मुख वा मरणशील पक्ष र अग्रगामी र जीवनमुखी पक्ष पहिल्याउनु हो। र, त्यसको नियम थाहा पाउनु पनि हो। समाजको वस्तुगत परिस्थिति पहिल्याएपछि र त्यसको नियम थाहा भएपछि त्यस समाजको विकासको गतिलाई अग्रगामी दिशामा तीव्र पार्न सकिन्छ। आजको नेपाली समाजको प्रगतिको बाधक र मरणशील शक्तिका रुपमा दलाल पुँजीपति वर्ग नै छ। त्यसविरुद्ध समाजको सबैभन्दा अग्रगामी शक्ति अर्थात् सर्वहारा–श्रमजीवी वर्गको सशक्त सङ्गठन निर्माण गर्नु र त्यसैको पहलमा समाजका सबै प्रगतिशील तप्कासँग मोर्चाबन्दीसहित अभियानहरु चलाउनु आवश्यक छ।
तीन, साम्राज्यवादी शक्तिको अह्रनखटनमा चल्ने नेपाली पुँजीपति वर्गले देशको शासन सत्ता मात्रै सञ्चालन गरिरहेको छैन, प्रमुख भनिएका सबै राजनीतिक पार्टीहरु कब्जा गरेको छ। यो व्यवस्थाले बौद्धिक–चिन्तकहरुलाई कूपमण्डुक बनाएको छ; लेखक–साहित्यकारहरुको आत्मा खरिद गरिसकेको छ; पत्रकार जगतलाई लम्पट बनाएको छ; प्रतिबद्ध राजनीतिकर्मीहरुको हियो खसाइदिएको छ। यो व्यवस्थाले आज अर्थ–राजनीति मात्रै चलाएको छैन, सांस्कृतिक फाँटमा समेत विकृतिका अनेक हाँगाहरु फैलाएको छ। भ्रष्ट व्यवस्थाका विरुद्ध लड्छौं भनेर सार्वजनिक कसम खाने र दस्तावेजमा सङ्कल्प गर्ने पार्टी र तिनका नेताहरु पनि यही व्यवस्थाको ‘वान–वे’ जाममा पसेर हर्न बजाइरहेका छन्। नयाँ विकल्प खोज्छौं भन्नेहरु पनि दुविधाग्रस्त छन्। आज समग्र पुँजीवादी व्यवस्था नै गम्भीर सङ्कट र गतिरोधमा फसिरहेको बेला छ।
चार, आज नेपालको लोकतन्त्र त्यस्तो दलालतन्त्र भएको छ, जुन व्यवस्थालाई प्रचलित शैलीमा ‘दलालहरुको, दलालहरुद्वारा र दलालहरुकै लागि’ भन्न सकिन्छ। यो व्यवस्थाप्रति जनतामा तीव्र घृणा पैदा भएको छ र उनीहरुले विकल्पमा नयाँ थितिको खोजिरहेका छन्। एकातिर यस्तो वस्तुगत परिस्थिति छ, अर्कोतिर कम्युनिस्ट क्रान्तिकारी र समाजवादी व्यवस्थाका सच्चा पक्षधरहरुको आत्मगत शक्ति भने झन्झन् कमजोर हुँदै गएको छ। तसर्थ, आज ‘नेपाली समाजको प्रमुख अन्तरविरोध’बारे छलफल गर्नु भनेको सङ्क्रमणकालीन विशिष्ट परिस्थितिका अरु अनेक अनुत्तरित प्रश्नहरुको जवाफ खोज्दै सही राजनीतिक दृष्टिकोण र कार्यक्रममा आधारित नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माणको आधार तयार गर्नु हो; नयाँ घुम्तीमा आइपुगेको पौने शताब्दी लामो नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक विरासतलाई नयाँ उचाइमा लैजानु, कार्यक्रमिक हिसाबले आन्दोलन नयाँ चरणमा उठाउनु र नयाँ समाजवादी क्रान्तिका लागि आधार तयार गर्नु हो !
धन्यवाद!
(२०८० मङ्सिर १६ गते ‘पुष्पलाल ज्ञानशाला’द्वारा काठमाडौंमा आयोजित ‘नेपाली समाजको मुख्य अन्तरविरोध’ विषयक विचार गोष्ठीमा ‘राजनीतिक संवाद थालनीका संयोजक सङ्गीतद्वारा प्रस्तुत छलफल–पत्र।)