काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेताहरूलाई गाली गर्ने काम बन्द गर्न आग्रह गर्नु भएको छ।
पुष्पलाल ज्ञानशालाले शनिबार काठमाडौँको बागबजारको हार्दिक होटलमा आयोजिक ‘नेपाली समाजको मुख्य अन्तरविरोध’ विषयक विचार गोष्ठिमा बोल्दै महासचिव भुसालले नेतालाई गालि गरेर देश नबन्ने स्पष्ट पार्नु भएको हो।
उहाँले भन्नुभयो,‘अबको नयाँ पुस्ताले नेताहरूलाई गाली गरेर जिन्दगी बिताउने काम गर्न हुँदैन। मुलुकको राजनीति नेताहरूले बिगारेको भए पनि नयाँ पुस्ताले उनीहरूलाई गालि गरेर आफ्नो औचित्य पुष्टि गर्न सकिँदैन।’
महासचिव भुसालले मार्क्सवादको झन्डा नेताहरूले पपुलिष्टहरुलाई लगेर बुझाएकाले समाजवाद निर्माणका लागि फेरि मार्क्सवादी पद्धतिमै फर्कनुको विकल्प नभएको बताउनु भयो।
महासचिव भुसालले भन्नुभयो,‘अहिले राजनीतिको जुन हावा चलेको छ। हावा चल्नुको केही खास कारण छन्। किनभने राजनीति हामीले नै बिगार्यौं। माथि गएकाले बिगार्यौं। यो क्रान्तिको झन्डा पपुलिष्टहरुलाई लगेर बुझाएको हामीहरू ले नै हो, हाम्रा नेताहरूले नै हो। अब इतिहासमा यी नेताहरूलाई गाली गरेर कुने जेनेरेसनले आफ्नो पिँढीको औचित्य पुष्टि गर्न सक्दैन। अब नेतालाई गाली गर्ने समय पनि सकियो होला। यो गाली मात्रै गर्दा खेरी त हाम्रो जिन्दगी गाली गरेर मात्रै जाने भयो। त्यसो हुनाले यो च्याप्टर क्लोज गरिदिऊँ।’
महासचिव भुसालले मुलुकमा सामन्तवाद नभएको तर पनि कम्युनिस्ट नेताहरूले त्यसैमाथि प्रहार गर्ने गरेको भन्दै त्यस्तो विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।
रोजगारी सिर्जना नगर्ने अर्थतन्त्र नै आजको अन्तरविरोध भएको दाबी गर्दै भुसालले भन्नुभयो, ‘मैले २०५७ सालदेखि भन्दै आएको छु। हाम्रो मुलुकमा दलाल पूँजिवादले गाँजेको छ। यसबाट बचाउन रोजगार र्सिजना गर्न अर्थनीति चाहिन्छ। अनि नौ जवानहरूले मार्क्ुवाद नपढेर सुखै छैन। मार्क्सवाद एउटा वैज्ञानिक विधि हो। जसले सबैलाई हेर्न सक्छ। लेनिन, माओहरुलाई बुझ्न मार्क्सवाद नै पढ्नुपर्छ।’