बुटवल। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकमा राजनीतिक एजेण्डाको खडेरी रहेको बताउनु भएको छ ।
बुधबार गृहजिल्ला रूपन्देहीको बुटवलमा महासचिव भुसालले पार्टीका अगुवा नेता कार्यकर्तासँगको संक्षिप्त भेटघाट कार्यक्रममा लोकतन्त्रमा राजनीतिक दलहरू एजेन्डामा हिड्नु पर्नेमा त्यसो नहुँदा प्रतिगामी शक्तिहरूले टाउको उठाउने अवस्था आएको बताउनु भएको हो ।
संविधान निर्माण भएपछि २०७४ को निर्वाचनपछि बनेको केपि ओली नेतृत्वको सरकारले राष्ट्रिय पूँजीको विकास, कृषि उत्पादनको प्रवर्द्धन गर्ने गरी कार्यक्रम ल्याउन नसक्नु र संसद विघटन गर्नुले मुलुकमा राजनैतिक रुपमा संकट गहिरिन थालेको महासचिव भुसालको टिप्पणी थियो ।
‘नेकपा बन्दा जनताको पक्षमा काम गर्नुपर्ने थियो, त्यतिखेर नेतृत्वले गरेन, बरु संसद विघटन गरेर जनताको मुद्दा छोड्ने र राजनीति बिग्रने काम भयो’ महासचिव भुसालले भन्नुभयो -‘जसको परिणाम आज न विचार, न सिद्धान्त न कुनै उद्देश्य रहेका विचार विहिनहरुले हल्ला मच्चाइरहेका छन् ।’
व्यवसायी दुर्गा प्रसाईँ जस्ता व्यक्तिले हल्ला मच्चाउने अवस्था सृजना हुनुमा राजनैतिक दलहरुमाऐजेन्डानहनु रहेको उहाँको भनाई छ । उहाँले अब मुलुकलाई अगाडि बढाउन एकीकृत समाजवादी पार्टीले अघि सारेको राष्ट्रिय पूजीको विकास गर्दै रोजगारी सृजना गरी सुशासन र समृद्धितर्फ जानुपर्ने बताउनु भयो ।
नेपालको कृषि उत्पादन प्रणालीलाई टेकेर उत्पादन बढाएर मात्रै राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने भन्दै नेता भुसालले युवा, विद्यार्थी र मजदुर सबै तहमा उकुसमुकुस रहेकाले यसबाट मुक्ति दिलाउनका लागि अब राजनीतिक दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताउनु भयो । भेटघाटमा पार्टीका नेताहरुहिराध्वज शाह, कमल बस्याल, हरी पहारी, पार्टीका जिल्ला कार्यवाहक अध्यक्ष श्रीराम यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।