काठमाडौँ। सूर्यविनायक-रत्नपार्क रुटमा स्थगित द्रुत बस सेवा आजदेखि फेरी सुरु भएको छ।
थप ११ वटा बस थपेर साविककै रुटमा आइतबार बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ। यसअघि २५ वटा बस चलाइएको थियो। थप ११ वटा बस थपेर रत्नपार्क-सूर्यविनायक रुटमा ३६ वटा बस चल्नेछन्।
तीन तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका छन्। सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ।
यसअघि ती बस रत्नपार्क र सूर्यविनायक दुवै तर्फबाट ५/५ मिनेटको फरकमा छुट्थे र दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म चल्थे। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरु थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको छ।
यात्रुहरुलाई छिटो गन्तव्य पुग्न सहज होस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुत बस सेवा सुरु गरेको थियो।
अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ। माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन्।
रत्नपार्क-सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ।