काठमाडौँ। हरेक साताको मंगलबार प्रकाशित हुँदै आएको दृष्टि साप्ताहिक ४१औं वर्षमा प्रवेश गरेको छ।
यस अवसरमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले लोकतन्त्र, गणतन्त्र र जनतन्त्रका निम्ति दृष्टि साप्ताहिकले अहम भूमिका खेलेको टिप्पणी गर्नु भएको छ।
उहाँले भन्नुभएको छ, ‘देशको राजनीतिक स्वतन्त्रताको निम्ति, गणतन्त्र प्राप्तिका निम्ति, पञ्चायति व्यवस्था र निरंकुश राजतन्त्र अन्त्यका निम्ति दृष्टि साप्ताहिकले महत्वपूर्ण भूमिका खेलेको थियो। आज सभ्य र समृद्धि समाज निर्माणमा जुटिरहेको छ। हिजोको दिनमा असाध्यै ठूलो भूमिका खेलेको दृष्टिले भोलिका दिनमा पनि लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रताको निष्ठालाई जोगाउने कुरामा दृष्टि साप्ताहिकले अहम भूमिका खेल्न सकोस्।’
उपमहासचिव खतिवडाले अगाडि भन्नुभयो,‘वामपन्थी विचार बोकेर प्रकाशित हुँदै आएको दृष्टि साप्ताहिकका पत्रकारहरुले पञ्चायत कालिन अवस्थामा समाचार लेखेकै भरमा जेल नेल भोग्नु परेको थियो। तत्कालिन राज्य व्यवस्थाका प्रहरीहरुले पत्रिकाको कार्यालयमा धर्ना र पहरा दिने गर्थे। पार्टीमाथि प्रतिबन्ध लागेको सयममा पनि दृष्टि साप्ताहिकले जनतालाई सूचित गर्ने र मार्क्सवादी चेतना निर्माण गर्ने कार्यलाई रोकेको थिएन।त्यस्तो अवस्थाबाट समाजवादी आन्दोलनको नयाँ बिहानीसम्म आफ्नो निष्ठा कायम राख्न सफल भएको छ। यस पत्रिकाको उत्तरोत्तर प्रगतीको कामना गर्दछु।’
त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले दृष्टि साप्ताहिकको कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म ल्याइपुर्याउनुमा अदितिय भूमिका रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, ‘नेपाली कम्युनिष्ट आन्दोलनमा दृष्टिको अदितिय भूमिका छ। नेपाली कम्युनिष्ट आन्दोलन र लोकतन्त्रिक आन्दोलनका निम्ति दृष्टि अगुवा संस्था बनेको हो। आजदेखि दृष्टि ४१ औं वर्ष पार गरेको छ। यस अवसरमा सुखद र प्रभावकारी भूमिकाको अपेक्षासहित शुभकामना।’