काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आम निर्वाचन सम्पन्न भएको एक वर्ष पुगेको अवसरमा आफूले मतदाता माझ कबुल गरेका बाचा पूरा गरेको दाबी गर्नुभएको छ।
४ मंसिर २०७९ सालमा सम्पन्न निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा पराजित हुनु भएको थियो। सोमबार सोही निर्वाचन परिणामलाई स्मरण गर्दै सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्ना केही सपना पूरा र अधुरा भएको दिनका रुपमा टिप्पणी गर्नुभएको छ।
जनताका बीचमा आफूले गरेका बाचा कबुलहरू नक्कली नभएको स्पष्ट पार्दै सचिव झाँक्रीले आफूले ठोस् कार्यहरू प्रस्तुत गरेको दाबी गर्नु भएको हो। आफू निर्वाचनमा उपविजेता बनेपनि गुल्मेली जनताको थुप्रै काम गरेको दाबी गर्नुभएको छ।
सचिव झाँक्रीले लेख्नु भएको छ, ‘आम निर्वाचन सकिएको पनि एक वर्ष पूरा भएछ। मेरा केही सपना, केही संकल्प अधुरै रहेको पनि। गत वर्षको निर्वाचनमा मैले आफ्ना मतदातासँग गरेका बाचा भने पुरा गरेको छु। मेरा आश्वासन नक्कली थिएनन्। मेरा त ठोस् ठोस् कामका प्रस्ताव थिए। जुन अधुरा आयोजनालाई पुरा गर्ने। केही नयाँ रणनीति महत्वका कामगर्ने। ति मघ्येः बस्ति विकाशको योजना कार्यन्वयन गर्न बस्ति बस्ति जोड्ने सडक बाटो निर्मान गर्ने। सघन सहरी कार्यक्रम अन्तर्गत रेसुंङ्गा र मूसीकोटमा भईरहेका करीव एक अर्वका कार्यक्रम।’
सचिव झाँक्रीले अगाडि लेख्नु भएको छ,‘रेसुङ्गा सभाहल, तम्धास जीवपार्क, तम्घास बजारलाई ओभरलेगर्ने लगायतका मेरो पालामा सुरू भएका यस्ता महत्वपूर्ण योजनाहरू कार्यन्वयनमा छन्। कतिपय योजना सम्पन्न भईसकेका पनि छन्। स्थानीय जनप्रतिनिधिहरूले कामको सूरूवात गरेको, योजना अनुगमन गरेको फोटोहरू सामाजिक सञ्जालमा देख्दा खुसी लाग्छ। अनि पुरानो स्थानीय पूर्वाधार विकास विभागसँगका पुलहरू सडकहरू, मदन भण्डारी राजमार्ग अन्तर्गत तम्धास सिम्लटारी सडक खण्डका पुलहरू अलपत्र पार्ने ठेकेदारहरूलाई कार्वाहीको दायरामा ल्याउने, भनभने हुदै प्यूठानसम्मको सडक, सालझण्डी ढोरपाटन सडकको, राङ्बास, पटौटी हुँदै तम्घास एयरपोर्ट जोड्ने बाटो, ईन्द्रेगौडा वामीको बाटो मूसीकोट मैदाना हुदै ढोरपाटनमा जोड्ने बाटोका कामहरू अगाडी बढेका छन्। कंकेदेउराली ड्यामको सम्भाब्यता अध्ययनको काम पनि अगाडी बढेको छ। ढोरपाटन सडकको पुर्कोटको समस्या पनि एकहदसम्म समाधान भएको छ। मालिका खण्डको कामको पनि कुरा अगाडी बढेको छ। बाँकी कार्यक्रमबारे सबिस्तार फेरी लेख्नेछु।’