काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुक सुनको कचौरामा भिख मागि रहेको टिप्पणी गर्नु भएको छ।
पार्टीले यही असोज १४ गते झापाबाट सुरू गरेको समाजवादी जागरण अभियानको ११औं दिन बाँकेको कोहरपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै रेमिट्यान्सले देश समृद्ध हुन नसक्ने बताउनु भएको हो।
महासचिव भुसालले भन्नुभयो, ‘हामी सुनको कचारौमा भिख माग्न विदेश गइरहेका छौं। यति थोरै जनसंख्या भएको मुलुकका लाखौ युवाहरू बिदेशमा छन्। अर्बौं रेमिट्यान्स भित्रिन्छ भनिन्छ। तर, त्यसको ८५ प्रतिशत उतै जान्छ भनेर भनिदैन। हाम्रो गुजारा टाल्नकै लागि हामी आयातमा निर्भर छौं। घरखर्च, साँझ बिहान खर्च चलाउनमै रेमिट्यान्स ठिक्क छ। भन्नलाई अफ्ट्यारो छ भन्ने थालेको धेरै भयो। जुन देशको राजश्वले कर्मचारी पाल्न धौधौ भयो भन्दा विकासका कुरा कहाँ पुग्यो?’
गरिबीले थाचिरहेको बेला अलग खालको विकल्प, पहल कदमी खोजिरहेको बताउँदै महासचिव भुसालले भन्नुभयो, ‘यहि कुरा हामीले छलफल गर्यौं। दुई तीन महिना छलफल गर्यौं। हिजोकै जस्तो भाषण गर्न आएका होइनौं। इतिहासको संकटमा कोही न कोही अगाडि आउनैपर्छ। आज हामी आएका छौं। यो सारा इतिहासको जिम्मा लिन जसले राम्रो गरेको कुराको जिम्मा लिने, कसैले गल्ति गरेको थियो भनेपनि त्यसको समिक्षा गरेर अगाडि बढ्नुपर्छ। झगडा गरेर हुन्न।’
महासचिव भुसााले विगतमा कांग्रेस, कम्युनिष्टले गरेका राम्रा नराम्रा सम्पूर्ण कुराहरू जिम्मा लिने कसमका साथ दुनियाँलाई नयाँ बाटोमा हिडाउने गरी जनताको बीचमा आएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘आज मुलक गम्भीर संकटमा छ। यस घडीमा कोही न कोही अगाडि आउनै पथ्र्यो। यस हिसाबले नेकपा एकीकृत समाजवादी आएको छ। उहाँले भन्नुभयो, ‘नेपाल—अंग्रेज युद्धका बेला बढी कर उठाएपछि गरिबी बढेको भेटिन्छ। जुन आज अचाक्ली बढेको छ। यो बर्बादी तोड्नुपर्छ । युवाहरूले स्वदेशमै रोजगार नपाएसम्म यो समस्या जारी रहन्छ। मुलुक उकुसमुकुसमा छ । यस उकुस मुकुसको अन्त्यका लागि हामी जनतामा आएका छौं’