काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले यहि असोज १४ गतेदेखि झापाबाट सुरु गरेको समाजवादी जागरण अभियान महोत्तरी आइपुगेको छ।
अभियानमा पार्टी अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू, सचिवहरू, लगायत पार्टीका केन्द्रीय नेताहरूको सहभागिता रहेको छ। अभियानको चौथो दिन अभियानको स्वागतका निम्ति महोत्तरी उद्योग वाणिज्य संघ, मटिहानीले कार्यक्रम राखेको थियो।
बुधबार बिहान धनुषा जिल्लामा पत्रकार सम्मेलन र जिल्ला कार्यकर्ता भेलाको आयोजना गरिएको थियो। महोत्तरीको पिपरा बजारमा कोणसभा सम्पन्न गरिएको छ। जनकपुर ३५ जनाले पार्टी प्रवेश गर्नुभएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनु भएको छ।
पार्टी अध्यक्ष नेपाल र सम्मानित नेता खनालले २०३६ सालमा पञ्चायती व्यवस्थाका विरूद्धको संघर्षमा शहीद हुनु भएका इगल जर्गाको सालिकमा माल्यार्पण गर्नु भएको छ। साथै शहीद जर्गाका दाजुभाई भिम बहादुर जर्गा, लेखराम जर्गालाई दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो। २०१४ सालमा जन्मिनु भएका जर्गाको २२ वर्षको उमेरमा तत्कालिन राज्यले हत्या गरेको थियो।
खतिवडाका अनुसार अध्यक्ष नेपालले नेपालको उद्योग वाणिज्य क्षेत्र संकटग्रस्त अवस्थामा रहेको बताउँदै एकीकृत समाजवादी पार्टीले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नु भएको छ।
त्यस्तै मटिहानीमा रहेको ऐतिहासिक संस्कृत महाविद्यालयले तत्कालिनसमयमा ज्ञान र चेतनाको विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको र आज पनि उक्त संस्थाको विकास आवश्यक रहेको अध्यक्ष नेपालको भनाई छ।
उद्योगा वाणिज्य संघका अध्यक्ष जितेन्द्र चौधरीले भारतको बोर्डरमा रहेको ऐतिहासिक शहर मटिहानीलाई जानीजानी पछाडि पारिएको भन्दै अध्यक्ष नेपाल र सम्मानित नेता खनालसँग यस क्षेत्रको विकासका निम्ति विशेष पहल कदमी लिन अनुरोध गर्नु भएको छ।
तस्बिरः लेखनाथ सिकारू