लेखनाथ सिकारू
झापा। नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेताहरु झापा आइपुग्नु भएको छ।
पार्टीले भोलि आइतबारदेखि सुरु गर्ने समाजवादी जागरण यात्रा- २०८० मा सहभागी हुन केन्द्रीय नेताहरू शनिबार यहाँ आइपुग्नु भएको हो।
एकीकृत समाजवादीले भोलि आइतबार झापाको काँकरभिट्टामा विषेश कार्यक्रम गरी अभियान सुरु गर्दैछ। अभियानमा सहभागी हुन पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतसहित केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडा, डा.विजय पौडेल, तथा पोलिटव्युरो सदस्यहरू र केन्द्रीय सदस्यको जम्बो टोली शनिबार काँकरभिट्टा आइपुगेको हो।
अभियानको उद्घाटन गर्न पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल आईतबार बिहान आउदै हुनुहुन्छ भने पार्टीका सम्मानित नेता झलनाथ खनाल र उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे आईसक्नु भएको छ। पार्टीका केन्द्रीय नेता तथा मन्त्री बेदुराम भुसाल, प्रकाश ज्वाला, पार्टीका महासचिव घनश्याम भुसाललगायतका नेता आइतबार आइपुग्ने बताइएको छ। अभियान उद्घाटनको पूर्वसन्ध्यामा शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले युवालाई स्वरोजगार बनाउँदै सुशासन कायम गर्न अभियान सुरुवात गरिएको बताउनु भयो।
पार्टीको नीति बुझाउन जनतासँगै हातेमालो गरेर अघि बढ्ने बताउनु भयो। कार्यक्रममा एकीकृत समाजबादीका संगठन विभाग प्रमुखसमेत रहेका उपमहासचिव विजय पौडेलले १ हजार किलोमिटर लामो जागरण अभियानले खास सन्देश दिन लागेको बताउनु भयो।
अभियानभर तराईका १६ जिल्लाका ५८ भन्दा बढी स्थानमा कोणसभा र आमसभा आयोजना गरिने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयाे । अभियानमा जनतासँग प्रत्यक्ष भेटघाट गरेर उनीहरुको रायसुझाव लिने उहाले बताउनु भयो । असोज १४ गते काँकरभिट्टाबाट सुरु हुने जागरण अभियान असोज २८ गते सुर्खेतमा पुगेर समापन हुनेछ ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष घनेन्द्र बस्नेतले अभियानका बारेमा निर्माण गरिएको गीत सार्वजनिक गर्नुभएको थियो । पार्टी अध्यक्ष नेपालको नेतृत्वमा दुई हजार एक सदस्यीय समाजवादी जागरण यात्रा मूल व्यवस्थापन समिति गठन भएको छ । सोह्र दिनसम्म चल्ने यात्राका क्रममा पार्टीका शीर्षनेता सहभागी हुने कार्यक्रम छ । पहिलो दिन १४ असोजमा काकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी वा पथरीमध्ये एक ठाउँ, विराटचोक मोरङमा सभा हुनेछ ।
यसैगरी १५ गते इटहरी, इनरुवा, भारदह, राजविराजमा सभा हुनेछ । त्यस्तै १६ असोजमा राजविराज, छिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहामा सभा आयोजना हुने कार्यक्रम रहेको छ । त्यस्तै १७ असोजमा जनकपुरमा पत्रकार सम्मेलन हुने र त्यसपछि सोही दिन जलेश्वर, ढल्केबर, बर्दिबास र लालबन्दीमा सभा हुनेछ । १८ असोजमा गरुडा, हर्नैया, कलैया र वीरगन्जमा सभा हुनेछ । त्यस्तै १९ असोजमा पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा सभा आयोजना हुनेछ ।
असोज २० मा कावासोती, बर्दघाट र परासी तथा २१ असोजमा भैरहवा र बुटवलमा सभा आयोजना हुनेछ । त्यस्तै सैनामैना, चन्द्रौटा, भालुवाङ, लमहीमा २२ असोजमा र घोराही, तुल्सीपुर र कोहलपुरमा २३ असोजमा सभा आयोजना हुनेछ । अभियानअन्तर्गत २४ असोजमा नेपालगन्ज, खजुरा, मैनापोखरा र गुलरियामा तथा २५ असोजमा राजापुर र टीकापुरमा सभा गर्ने एकीकृत समाजवादीको कार्यतालिका छ। त्यस्तै २६ असोजमा लम्की, सुख्खड, अत्तरिया र धनगढी तथा २७ असोजमा पुनर्वास, झलारी, लालपुर र महेन्द्रनगरमा सभा हुनेछ भने २८ असोजमा छिन्चु र २९ गते सुर्खेतमा अभियानअन्तर्गतका सभा आयोजना हुने पार्टीले जनाएको छ।