दमक । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित उच्च तहका नेताहरू असोज १४ गते झापा आउने भएका छन् ।
एकीकृत समाजवादीले असोज १४ गतेबाट सञ्चालन गर्ने मेची- काली समाजवादी जागरण यात्राको समुद्घाटन गर्न अध्यक्ष नेपाल सहित शीर्ष नेताहरू झापा आउने कार्यक्रम रहेको हो । झापाको तीन अलग अलग स्थानमा पूर्वप्रधानमन्त्री समेत रहनु भएका एकीकृत समाजवादीका अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
झापाको दमकमा सोमबार दमक नगर कमिटीले आयोजना गरेको बैठकमा कार्यक्रमको तयारी र व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा एकीकृत समाजवादी झापाका अध्यक्ष बोधराज रेग्मीले असोज १४ गते झापाको काँकडभिट्टा, बिर्तामोड र दमकमा हुने वृहत जनसभालाई ब्यापक जनसहभागिता जुटाउन र प्रचारप्रसारका कार्यक्रमलाई तीब्र पारिएको बताउनु भयो ।
नेकपा ( एकीकृत समाजवादी ) केन्द्रीय कमिटीद्वारा असोज १४ गतेदेखि सञ्चालन हुने मेची- काली समाजवाद जागरण यात्राको समुद्घाटन गर्न अध्यक्ष नेपालसहित सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायत दर्जनौनेताहरु झापा आउने बताईएको छ ।
काँकडभिट्टास्थित मेची नदीबाट सुरु हुने समाजवाद जागरण यात्राको उमुद्घाटनको क्रममा अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, महासचिव भुसाल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको झापा अध्यक्ष रेग्मीले बताउनु भयो । काँकडिभिट्टा पछि सोही दिन जिल्लाको बिर्तामोड र दमकमा आयोजित कोणसभामा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको रेग्मीले जानकारी दिनुभयो ।
त्यस्तैं, केन्द्रीय सदस्य तथा झापाका सहइन्चार्ज निलामणी बरालले झापामा आयोजना हुने समाजवाद जागरण यात्राको समुद्घाटन कार्यक्रमलाई भव्य र सभ्य बनाउन यसअघि जिल्ला कमिटीको बैठकले मुल व्यवस्थापन कमिटी गठन गरिएको बताउनु भयो । कार्यक्रमलाई व्यवस्थित बनाउन केन्द्रीय सदस्य बरालका अनुसार पार्टी केन्द्रीय सदस्य तथा जिल्ला कमिटी झापाका इन्चार्ज पुष्पराज पोख्रेलको संयोजकत्वमा २ सय ५१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको छ ।
बैठकमा केन्द्रीय सल्लाहकार सदस्य तथा दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकी, केन्द्रीय परिषद सदस्य मणी भण्डारी, प्रदेश कमिटी सदस्य शान्तिराम आचार्य, दमक नगर इन्चार्ज हरिप्रसाद पोख्रेल, समाजवादी प्रेस संगठन झापाका अध्यक्ष अनिलदेव राई, कमल गाउँ कमिटी अध्यक्ष होमप्रसाद बराल, युवा संघका केन्द्रीय सदस्य हरिकृष्ण पौडेल लगायतले जागरण यात्रालाई सफल बनाउन प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
नगर कमिटी अध्यक्ष रोशन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटीका उपसचिव मदन गुरुङ, दमक उद्योग बाणिज्य संघका सल्लाहकार तथा दमक नगर कमिटी सदस्य युवराज घिमिरे, नगर सदस्य तथा स्वास्थ्य विभाग प्रमुख चन्द्र थापा, नगर सदस्य मनकुमार दर्नाल, दमक बहुमुखी क्याम्पस अनेरास्ववियूका नेता आयुषमान पोख्रेलको सहभागिता थियो ।
मेची- काली समाजवादी जागरण यात्रालाई प्रभावकारी तथा व्यवस्थित बनाउन पार्टी अध्यक्ष नेपालको नेतृत्वमा दुई हजार एक सदस्यीय समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन गरेको छ ।
समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय, सबै प्रदेशका सचिवालय सदस्य, जिल्लाका पदाधिकारी र प्रदेश इन्चार्जको अध्यक्षतामा सम्बन्धित प्रदेश कमिटी, जिल्ला कमिटी सदस्य तथा प्रदेशस्तरीय आयोजक कमिटीलाई समितिमा समावेश गरिएको छ ।
काँकडभिट्टाबाट सुरु भएर सुर्खेतमा समापन हुने यात्रामा रुपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने छ ।