काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) निकट नेपाल आदिवासी जनजाति महासंघ घटक संगठन नेपाल तामाङ संघ ( समाजवादी ) बागमती प्रदेश कमिटी गठन भएको छ ।
शनिवार काठमाडौँमा भएको प्रदेशस्तरीय भेलाबाट टलक घिसिङको अध्यक्षतामा ५१ सदस्यीय बागमती प्रदेश कमिटी गरेको हो । कमिटीका उपाध्यक्षहरू अभिषेक लामा, विमल लामा, केशर तामाङ सचिवमा भीम लामा, सह-सचिवहरूमा विनोद लामा, आशम लामा, विनोद लो तामाङ र रविन तामाङ चयन हुनुभएको छ भने कोषाध्यक्षमा रिना लामासहित ५१ जना सदस्यीय कमिटी निर्माण गरेको छ ।
भेलालाई सम्बोधन गर्दै नेकपा ( एकीकृत समाजवादी ) केन्द्रीय सचिव तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले नेपाली समाजको जातजाति, वर्गीय शोषण विरुद्ध लाग्न आग्रह गर्दै आदिवासी जनजातिहरू परम्परादेखि नै सामूहिक बस्न रुचाउने र सङ्घर्षशील रहेको बताउनु भयो । देशको हरेक परिवर्तन सफल पार्न आदिवासीहरूको महत्वपूर्ण योगदान रहेको भन्दै पूर्व मन्त्री झाँक्रीले जनजातिको हितका लागि राज्यले विभेदकारी कदम खेलिरहेको बताउनु भयो । नेतृत्व सहितको समान सहभागिताको खोजीमा अझै लड्न जरूरी रहेको भन्दै उहाँले नेकपा (एकीकृत समाजवादी) स्थापनामा जनजाति समुदायको विशेष योगदान रहेको बताउनु भयो । अबको क्रान्ति समाजवाद सहितको आर्थिक उत्पादनमा हुनुपर्ने बताउँदै उहाँले समुदायमा सामुहिक खेती तथा कृषिक वर्गको हितका लागि लाग्नुपर्ने उहाँको धारणा थियो ।
नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष एवम् इन्चार्ज पासाङ शेर्पाले तामाङ समुदाय सहित जनजातिहरु माथी हुने जुनसुकै विभेदकारी कदम विरुद्ध लड्न भूमिका खेल्नुपर्ने बताउनु भयो । समुदायको धर्म, संस्कृति संरक्षण तथा पहिचानसहित अधिकार स्थापित गर्न तामाङ संघको महत्व भूमिका रहेको वक्ताहरूको भनाई थियो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा महासंघका उपाध्यक्ष राजाराम स्यङ्तान, केन्द्रीय सदस्य तथा महासंघका महासचिव चन्द्र बहादुर तामाङ, नेपाल तामाङ संघका सल्लाहकार प्रतीक ङ्यासुर लगायतले मन्तव्य राख्नु भएको थियो । भेलामा बागमति प्रदेशका ११ जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएको तामाङ संघका कोषाध्यक्ष टिकालाल तामाङले बताउनु भयो ।
नेपाल तामाङ संघ (समाजवादी) का केन्द्रीय अध्यक्ष लाप्साङ तामाङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेपाल तामाङ संघ (समाजवादी) का महासचिव किरण मोक्तानले गर्नुभएको थियो ।