काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ०७४ सालमा पाएको मतको सदुपयोग गर्न नसकिएको स्मरण गराउनु भएको छ।
उहाँले भन्नु भयो, ‘हामीले ०७४ को जनमतलाई संरक्षण गर्न सकेको भए ०७९ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरूले दुई तिहाईभन्दा बढी सिटमा विजय हासिल गर्न सक्ने अवस्था रहन्थयो। तर, के गर्ने ? ठाउँमा पुगेकाहरुले दम्भ देखाए। जनमतको अबमुल्यन गरे।’
आइतबार नेकपा (एकीकृत समाजवादी) मनाङ-काठमाडौँ सम्पर्क मञ्चको ५औँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष नेपालले ०७४ सालको निर्वाचनमा कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ मत ल्याएको भएपनि त्यसको सदुपयोग गर्न नसकेको बताउनु भएको हो।
कम्युनिस्ट पार्टीहरु विश्वभर फैलिइरहेका भन्दै अध्यक्ष नेपालले ल्याटिन अमेरिकी देशहरु, युरोप र अफ्रिकाका कतिपय देशहरुमा वामपन्थी पार्टीका नेताहरु राष्ट्रपति निर्वाचित भइरहेका जानकारी दिनुभयो। समाजवादको नारा नेपालमा मात्रै नभई संसारका अरु देशमा पनि गुन्जिरहेको उहाँको भनाई छ।
अध्यक्ष नेपालले इमान्दारिताका साथ अगाडि बढेमा कसैसँग तर्सिनुपर्ने आवश्यकता नरहेकाे बताउँदै इमान्दारिताका साथमा अगाडि बढ्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ।
कार्यक्रममा पार्टीकी पोलिटब्युरो सदस्य दिलु पन्त, गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ, युवा संघका उपाध्यक्षद्वय नितेश पौडेल र निरञ्जन झा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणी सुवेदी, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीलगायत नेताहरुको सहभागिता रहेको थियो।