काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन चालक, सहचालकहरुको बोली र व्यवहार महत्वपूर्ण हुने बताउनु भएको छ ।
आइतवार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चालक, सहचालकहरुले राम्रो व्यवहार र बोलीले नै यात्रुहरु खुशी हुने भन्दै अभियानले यात्रुमैत्री सार्वजनिक यातायात हुने अपेक्षा लिएको बताउनु भयो ।
यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन चालक, सहचालकहरुको बोलीका कारण पनि कतिपय यात्रुहरुले झमेला व्यहोर्नुपरेको भन्दै यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
सवारी साधन अनुमति पत्र (स्मार्ट लाइसेन्स ) को समस्या चाँडै समाधान गर्ने भन्दै मन्त्री ज्वालाले लाइसेन्स स्मार्टकार्डको समस्या चाँडै समाधान गर्ने र मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनु भयो ।
यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको भन्दै मन्त्री ज्वालाले इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा पनि बेवास्ता गर्नु नहुने बताउनु भयो ।
यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट ब्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको भन्दै सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको सुरुवात हुनु महत्वपूर्ण रहेको बताउनु भयो ।