काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खान नहुने बताउनु भएको छ।
आइतबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो। उहाँले कम्युनिष्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको भन्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गराउन आफू सकारात्मक रहेको बताउनुभयो। उहाँले मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताउनुभयो।
उहाँले कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने तर, विभाजितले कम्युनिस्टहरूलाई नै नोक्सान हुने बताउनुभयो । अध्यक्ष नेपालले कम्युनिस्टहरू जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्सान हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कमरेड वामदेव गौतमले कम्युनिस्ट पार्टी शक्तिलाई मिलाऊँ भनेर जोड दिनुभयो । सबै कम्युनिष्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेका छन्, आफ्ना आफ्नै पाराले चलिरहेका छन् । त्यसका बाबजुद पनि हामीले हरेक खानुहुँदैन । उहाँको सङ्कल्प, उहाँको भावना अत्यन्त राम्रो छ । यस अर्थमा जो जो जति मिल्न सक्छन् मिल्दै जाने हो ।
सहकार्य गर्दै जान सक्छन्, सहकार्य गर्दै जाने हो, यस अर्थमा हामीले हरेस खान जरुरी छैन, मेहनत गरेर प्रयत्न गर्नुपर्छ । जति शक्तिलाई मिलाउन सकियो, त्यत्ति हामी बढी शक्ति आर्जन गर्न सक्छौँ । त्यत्ति धेरै ऊर्जा पैदा गर्न सक्छ। जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्सान हुन्छ, कम्युनिस्ट आन्दोलनको एकता, एकताबद्ध बनाउनको निम्ति हाम्रो तर्फबाट प्रयत्न हुनेछ।’