पाल्पा । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले बालुवाटार स्थित ललिता निवास प्रकरण मात्र होइन, सबै क्षेत्रमा भएका बदमासीको छानबिनमा खुट्टा कमाउन नहुने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार पाल्पाको तानसेनमा आयोजना गरेको पत्रकार भेटमा पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले ललिता निवास प्रकरण सहितका प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताउनु भएको हो ।
‘सरकारी जग्गा हिनामिना प्रकरणमा जो सुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ ,कारबाहीको भागिदार हुनुपर्ने भन्दै अध्यक्ष नेपालले आफ्नो नाम पनि यस प्रकरणमा जोडिएको स्विकार्दै निर्णय गर्नेको नाम आउनु स्वाभाविक भएको बताउनु भयो । नाम आउनेबित्तिकै आफूले बदमासी गरेको छैन भने आत्तिहाल्नुपर्ने अवस्था नहुने अध्यक्ष नेपालले बताउनु भयो ।
‘सरकारी र अन्य प्रकारको जग्गा कानुन संवत् तरिकाले छुट्याएर मात्र काम अघि बढाउनु,’ उहाँले आफ्नो निर्णयमा लेखिएको व्यहोरा जानकारी गराउँदै भन्नुभयो यससँग जोडिएका, गिरोहका रुपमा रहेकालाई छाड्नुपर्ने अवस्था नरहेको बताउनु भयो ।
यो वा त्यो प्रकरण नभई देशव्यापी सरकारी जग्गामा भएको हिनामिनाको छानबिन गर्नसमेत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफूले आग्रह गरिसकेको भन्दै उहाँले ‘नेपाल ट्रस्टको जग्गादेखि लिएर सरकारी जग्गाको हिनामिना भएको देखिएको छ,’ , ‘यस्ता सबै जग्गाको छानबिन भएर कारबाही भयो भने बल्ल मान्छे डराउने अवस्था आउनेछ । होइन भने अवस्था अझ बिग्रिँदै जान्छ । राज्यको सबै निकायको हालत उस्तै भएकाले सुधार गर्दै अघि बढ्नु जरुरी छ ।’
ललिता निवासको १ सय ४३ रोपनीभन्दा बढी जग्गा हडप्न विभिन्न व्यक्तिको मिलेमतो रहेको अनुसन्धानबाट खुलिसकेको छ ।