काठमाडौं । बनेपास्थित साल्ट ट्रेडिङले बितरण गर्ने रासायनिक मलमा दुरुपयोग भएको भेटिएको छ । सोमबार विशेष निगरानी मार्फत रासायनिक मलको दुरुपयोग भएको पुष्टि भएको हो ।
जिल्लामा मल वितरणमा कालोबजारी बढेको र किसानले रासायनिक मल नपाएको गुनासो बढेपछि युवा संघ नेपाल काभ्रेले विशेष निगरानी मार्फत मलको दुरुपयोग पत्ता लगाउन जुटेको थियो । त्यहीँ शिलशिलामा साल्ट ट्रेडिङ बनेपाबाट धुलिखेल नगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वती कृषि सहकारीलाई दिइएको ३० बोरा डिएपी मलमा दुरुपयोग भएको पाइएको युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले बताउनु भयो ।
सरस्वती कृषि सहकारीका अध्यक्ष जेके श्रेष्ठले धुलिखेलका किसानका लागि भनेर साल्ट ट्रेडिङबाट ३० बोरा रासायनिक मल लगेको तर उक्त मल धुलिखेल नभएर पाँचखाल लैजाँदै गर्दा बाटोमै जफत गरिएको छ । अध्यक्ष श्रेष्ठले प्रति बोरा ३ हजार पाउने गरी पाँचखाल बेच्न पठाएको खुलेको युवा संघका सचिव शाहले बताउनु भयो ।
एक गाडी मार्फत लगिएको उक्त मललाई बाटोमै युवा संघले नियन्त्रणमा लिएको थियो । कमिसन खाएर मल दिइएको सूचना पाएपछि युवा संघ विशेष निगरानीमा लागेको र मल लगेको प्रमाण माग्दा दुरुपयोग भेटिएको उहाँले बताउनु भयो ।
पाँचखालमा प्रति बोरा ३ हजारमा पठाएर सहकारीले ६ सय ३० कमिसन खाएको भेटिएको छ । पाँचखालबाट व्यापारीले ३ हजार ५ सय सम्ममा किसानलाई मल बेच्ने गरेको जनाइएको छ ।
साल्ट ट्रेडिङले सरस्वती सहकारीलाई छुट्टाएको कोटा ३ सय १० हो । तर यो सहकारीलाई साल्टले १ हजार ३ सय ७ बोरा मल दिएको पाइएको छ । चालु आवमा साल्ट ट्रेडिङले बितरण गर्ने मलको रिपोर्ट माग्दा उक्त प्रमाण भेटिएको छ । साल्टले कोटा भन्दा कयौं गुणा बढी मल सहकारीलाई किन दिएको यस विषयमा थप अनुसन्धान हुने जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले बताउनु भयो । यस विषयमा साल्टको कार्यालय बनेपा पुगेका जिसस प्रमुख गौतमले आफूले यस बिषयलाई मसिनो गरी अनुसन्धान गर्ने र दोषी माथि कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।
यता रासायनिक मलको दुरुपयोग भएको विषयलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा जानकारी दिइएको छ । मन्त्रालयले आवश्यक अनुसन्धान गर्ने जनाएको छ । अनुदानको मल वितरणको जिम्मेवारी पाएको साल्ट ट्रेडिङबाट किन यस्तो भएको हो यसको छानबिन हुने मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय रासायनिक मलको दुरुपयोग हुन थालेको सूचना पाएपछि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मातहतका निकायलाई नियमनको लागि निर्देशन समेत दिनुभएको छ । रासायनिक मलको अभाव नभएको बेलामा किसानले मल नपाउने स्थिति आउनु दुःखद भएको भन्दै मल बितरण प्रणालीमा मन्त्री भुसालले चासो राख्दै आउनु भएको छ । यहीँ बेला काभ्रेमा अनियमितता भेटिएको हो ।