काठमाडौँ । समाजवादी मोर्चा, नेपालको बैठकले नीति तथा कार्यक्रम र आचारसंहिता निर्माण गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) को केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकले नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का महासचिव देवप्रसाद गुरुङ, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रहेको कार्यदल गठन गरेको हो ।
बैठकपछि मोर्चाको बैठकको बारेमा जानकारी गराउँदै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले तीन दिनभित्र नीति तथा कार्यक्रम र आचारसंहिता बनाउने जिम्मेवारीसहित कार्यदल गठन भएको बताउनुभयो । उपाध्यक्ष पाण्डेले भन्नुभयो, “चार जनाको कार्यदलले नीति, कार्यक्रम र आचारसंहिता बनाउँछ, त्यहाँ मोर्चाको अबको नीति कस्तो हुने, भावी उद्देश्य कस्तो हुने र मोर्चा सञ्चालन कसरी गर्ने भन्ने सन्दर्भमा प्रस्ट कुरा आउँछ ।” प्रधानमन्त्री एवं नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहित दोस्रो तहका नेताहरूले लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउने सन्दर्भमा छलफल गर्नुभएको छ ।
उपाध्यक्ष पाण्डेका अनुसार शनिबारको बैठकको अध्यक्षता एकीकृत समाजवादीका अध्यक्ष नेपालले गर्नुभयो । बैठकको अध्यक्षता छ छ महिनामा गर्ने गरी समझदारी भएको छ । उहाँले सातै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने र त्यसको घोषणा मोर्चाको असार २७ गते एकीकृत समाजवादीको कार्यालयमा बस्ने दोस्रो बैठकले गर्ने बताउनुभयो ।
उपाध्यक्ष पाण्डेले समाजवादी मोर्चालाई बलियो बनाएर जाने, नेपाली समाजको विशेषता अनुसारको समाजवाद निर्माण गर्ने र त्यसका लागि नीतिगत दस्ताबेज निर्माण गर्ने सन्दर्भमा गम्भीर रूपमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मोर्चा निर्माणको उद्देश्य देशका समस्या समाधानमा केन्द्रित छ । लोकतान्त्रिक समाजवादी आन्दोलनलाई उचाइ दिनकै लागि हामी एकै ठाउँमा उभिएर योजनाबद्ध कार्यक्रम अघि बढाउने जुटेका हौँ ।”