काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले राजनीतिमा जनताको मन जित्न सक्नुपर्नेमा जोड दिनु भएको छ।
शनिबार स्याङ्झा-काठमाडौँ सम्पर्क कमिटीको १३ सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो।
लाजिम्पाट स्थित एक होटलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘राजनीति गर्ने मान्छेहरुले जनताको भावना, चाहाना, स्पन्दन थाहा पाउनुपर्छ। नेपालको राजनीतिमा अहिलेसम्म भन्ने हो भने जब संकट आउछ, त्यो बेला हामी त्यस संकटको सामना गर्न उभिएका छौं।’
उहाँले अगाडि भन्नुभयो, ‘राजनीतिक संकटका बेला नेपालमा कांग्रेस र कम्युनिष्ट मिलेर काम गर्नुपर्छ भन्ने र मिल्नु हुँदैन भन्ने मत छ। विपिले मिल्नु हुँदैन भन्नु भयो। उहाँ रहुञ्जेल राजतन्त्रका विरुद्धको आन्दोलन सफल भएन। उहाँलाई लागेको थियो, नेपालमा कम्युनिष्ट फष्टाउनु हुँदैन। २०४६ अघि नै उहाँको निधन भयो। त्यसपछि मात्र २०४६ सालको आन्दोलन सफल भयो। विपीमा जस्तो गणेशमान र कृष्णप्रसादसँग कम्युनिष्ट विरोधि भावना थिएन। कृष्णप्रसादमा एउटा डर थियो। उहाँले कम्युनिष्ट र कांग्रेस मिलेर काम गरेको बाहिर नभन्नु भन्नु हुन्थ्यो। किन कि अमेरिका,भारत रिसाउछ भन्ने थियो। हामी भारत,अमेरिका जो सुकै रिसाउनु तर, नेपाली जनता हामीबाट रिसाउनु हुँदैन भन्थ्यौं।’
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष नेपालले कसैको भन्दा नलाग्ने र कसैसँग नझुक्ने परिचय पहिचान कम्युनिष्टहरुको भएको दाबी गर्नुभयो।
त्यस्तै पार्टीकी पोलिट ब्युरो सदस्य दिलु पन्तले सुशासन कायम गर्न संस्थागत वेथिति र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने,निराश हुने समय नभएको भन्द नयाँ आशा र भरोसाका साथ अघि बढ्न युवाहरुलाई आग्रह गर्नु भएको छ।
उँहाले भन्नुभयो, ‘पछिल्लो समय निराशा बाढिरहेको सुनिन्छ। यो निराशा हुने बेला होइन। नयाँ आशाका साथ अघि बढ्ने समय हो। अरुलाई दोष दिएर बस्ने पनि होइन। आजका युवाहरुले हरेक प्रश्नको उत्तर दिन सक्नुपर्छ। यो पार्टी हामी आफैले बनाउने हो। पछिल्लो समय हाम्रो पार्टीप्रतिको जनआकर्षण बढिरहेको छ। यसलाई थप बढाउँदै लैजानुपर्छ।’
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा सम्पर्क सहइन्चार्ज लक्ष्मण केसी, केन्द्रीय सदस्य तथा गण्डकी सम्पर्क इन्चार्ज शंकर पोखरेल, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, पार्टी शिक्षा विभाग सचिव डा.चन्द्र ढकाल, युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेल, गण्डकी-काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष जगनाथ अधिकारी ,सम्पर्कका नेता राजकुमार वाग्ले, तोयानाथ भट्टराई, मोहन बहादुर केसी, हिमलाल पुरी, लोकराज शर्मा,पार्टी जिल्ला उपाध्यक्ष बिष्णु गिरीलगायतका नेताहरुको उपस्थिति रहेको थियो।