काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पूवी नेपालका विभिन्न जिल्लामा बाढी पहिरोले जनधनको ठूलो क्षति भएकोप्रति दुःख व्यक्त गर्नु भएको छ।
साथै अध्यक्ष नेपालले बाढिबाट प्रभावितहरूको तत्काल उद्धार, राहत र पुनःस्थापनाको उचित व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ।
अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेशबुकमा लेख्नु भएको छ, ‘संखुवासभा, पाँचथर र ताप्लेजुङ जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले जनधनको ठूलो क्षति भएको खबरले दुखित बनाएको छ। मृतकहरू प्रति भावपूर्ण श्रद्धान्जली र शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु। तत्काल उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका काम प्रभावकारी रूपमा अघि बढाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउॅदै मानवीय सेवामा लाग्न सबैमा हार्दिक अपील गर्दछु।’
शनिबार राती आएको बाढिमा परी संखुवासभा, पाँचथर र ताप्लेजुङका दर्जनौं मानिस वेपत्ता भएका छन् भने आधा दर्जनभन्दा धेरैको मृत्यु भइसकेको छ।
बाढीले १३ जलविद्युत् आयोजनामा क्षति
असार १ र २ गतेको बाढीले १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) जनाएको छ। इप्पानका अनुसार ती आयोजनाको कुल १५० मेगावाट क्षमतामा असर पुगेको छ।
कोशी प्रदेशमा संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माणाधीन तथा निर्माण सम्पन्न १३ वटा आयोजनाको १५० मेगावाट क्षमता बराबरको आयोजनामा क्षति पुगेको इप्पानको दाबी छ। सुपर हेवा खोलामा कार्यरत १४ जना मजदुर र कर्मचारी बेपत्ता भएका छन्। तीबाहेक ४ जना मृत फेला परेका छन्।
त्यसैगरी ताप्लेजुङ र पाँचथर जिल्लामा इङ्गवा, इवा, काबेली र हेवा खोला नदी बेसिनमा बनेका आयोजनाहरु इगुवा खोला १० मेगावाट, इवा खोला १० मेगावाट, काबेली बी–१२५ मेगावाट, काबेली बी–१ क्यासकेड १० मेगावाट, हेवा खोला ए १५ मेगावाट, हेवा खोला ५ मेगावाट, लोअर हेवा खोला २२ मेगावाटका आयोजनामा बाढीले क्षति पुर्याएको इप्पानले जनाएको छ।
मनसुन सुरु भएको २ दिनमै बाढी पहिरोले यो हदसम्मको क्षति पुर्याएकोले आगामी दिनमा जलविद्युत् प्रवर्द्धक र आयोजनामा खटिएका कर्मचारी मजदुरहरू सबैले उच्च सतर्कता अपनाएर काम गर्न, उच्च सतर्कतामा रहन इप्पानले आग्रह गरेको छ। बाढीबाट पुगेको क्षतिलाई सम्बोधन गर्न, यथाशीघ्र राहत उद्धार तथा बेपत्ताहरूको खोजीकार्यका लागि इप्पानले स्थानीय प्रशासन, स्थानीय सरकारसँग अनुरोध गरेको छ।