काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले समाजवादी प्रेस संगठन नेपालको नवनिर्वाचित नेतृत्वलाई सम्मान गर्नु भएको छ।
पार्टीको प्रचार विभागले सोमबार केन्द्रीय कार्यालय आलोकनगरमा आयोजना गरेको सम्मान कार्यक्रममा संगठनका नवनिर्वाचित अध्यक्ष विश्वमणी सुवेदी, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय सदस्यहरूलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको हो।
अध्यक्ष र सम्मानित नेतासहित पार्टी उपमहासचिव जगन्नाथ खतिवडा, प्रचार विभाग सचिव प्रकाश खतिवडालगायतका नेताहरूले नवनिर्वाचित नेतृत्वको टिमलाई सम्मान तथा बधाई दिनु भएको थियो। यहि जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न संगठनको प्रथम राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
समाजवादी प्रेस संगठन नेपाल नवनिर्वाचित कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन दलहरुबीच केही मतभेद हुनसक्ने बताउनु भयो । सत्ता बाहिरको गठबन्धनमा संघीयता समाप्त पार्न खोज्ने र संविधानविरोधीहरु रहेको टिप्पणी समेत गर्नुभयो ।
उहाँले सत्ता गठबन्धन लोकतान्त्रिक र प्रगतिशिल भएको भन्दै ‘कमीकमजोरी हुन्छन्, हामी त्यसको आलोचना गछौं । कमीकजोरीप्रति आँखा चिम्लिने होइन। त्यसैमा बग्ने पनि होइन। समर्थन गर्ने पनि होइन। लतारिने पनि होइन । एकता र संघर्ष दुवै चलिरहन्छन् उहाँले भन्नुुभयो । कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरुले बोल्नु भएको थियो ।