काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), जिल्ला कमिटी कालिकोटका अध्यक्ष विश्वराज बमले राज्यले कर्णालीप्रतिको दायित्व पूरा गर्न नसकेको दाबी गर्नु भएको छ।
मंगलबार प्राइम टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रम ‘प्राइम सम्वाद’ मा अध्यक्ष बमले यस्तो दाबी गर्नु भएको हो। गोरखा राज्य विस्तारदेखि आजका दिनसम्म राज्यले सामान्तवादी चेतनाबाट कर्णाली हेरिरहेको नेता बमको आरोप छ।
कर्णाली प्रदेश कमिटी, सचिवालय सदस्यसमेत रहनु भएका बमले आवश्यकता र औचित्यका आधारमा कर्णालीको बजेट वृद्धि गर्नुपर्ने बताउनु भएको छ। साथै उहाँले समतामुलक बजेट विनियोजन गर्नु पर्नेमा जोड दिनु भएको छ।
मुलुक संघीयतामा गैसकेको अवस्थामा पनि राज्यले कर्णालीलाई उपेक्षा गरिरहेको बताउँदै नेता बमले भन्नु भएको छ,‘आजका दिनमा पनि राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रूपमा कर्णालीलाई हेप्ने काम भइरहेका छन्। कर्णालीमा राम्रो विमानस्थल छैन। राम्रो बाटो छैन। भएका भौतिक पूर्वाधारहरू निक्कै जीर्ण छन्। कर्णाली राजमार्गको नाममा मृत्युमार्ग खोलिएको छ। प्रदेश प्रहरी तालिम केन्द्र बाँकेमा छ। मथलव राज्यले कर्णालीप्रतिको दायित्व पूरा गरेको छैन।’
नेता बमले कर्णालीको स्रोत साधनको सहि सदुपयोग गर्नसके सिंगो मुलुकलाई सम्पन्न बनाउने सामथ्र्य राख्नसक्ने बताउनु भएको छ। उहाँले भन्नु भएको छ,‘कर्णाली भौगोलिक विकटता, रोग, भोग छ, अनेक समस्याहरू छन् भन्ने कुरा पनि आम रूपमा थाहा भएको विषय हो । तर, कर्णालीको परिचय त्यति मात्र होइन। कर्णाली प्राकृतिक स्रोत साधनका रूपमा धनि छ। राज्यले उचित लगानी गरेर कर्णालीको स्रोत साधनलाई सदुपयोग गर्ने हो भने कर्णालीमात्रै नभएर सिंगो मुलुकलाई सम्पन्न बनाउन सक्छ।’
भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=uWOzSiyXKRM