काठमाडौं ।
बिहीबार धुम्बाराहीस्थित नेश्नल कलेजमा काठमाडौं महानगरका मेयरका उम्मेदवारबीच छलफल चलिरहँदा केशव स्थापितलाई एक जना सहभागीले उनीमाथि लाग्दै आएको ‘मिटू’को आरोपबारे प्रश्न सोध्न खोजिन् ।
प्रश्न राख्नुअघि सञ्चालकले सहजीकरण गर्दै भने, ‘हुन त आज सकेसम्म उम्मेदवारलाई निजी प्रश्न नसोध्नु भनेका थियौं, तर यो प्रश्न रोक्न सकिने खालको छैन ।
यति भनिसक्दा नेकपा एमालेबाट मेयरको उम्मेदवार बनाइएका स्थापित आफैं अघि सरेर बोले, ‘मेयरको उम्मेदवारलाई २४ घन्टा प्रश्न सोध्न पाइँदैन भन्नै भएन, रुल ओभर रुल्ड, आई ह्याब टु एन्सर ।’
तर सुरुवातमा ‘फेस टु फेस’ सबै प्रश्नको जवाफ दिने बताएका स्थापित सहभागी भावना राउतले सोधेको प्रश्नमा गैरजिम्मेवार शैलीमा प्रस्तुत मात्र भएनन्, उल्टै राउतलाई धम्की समेत दिएका छन् ।
उनले राउतलाई ‘यु आर नाइस लेडी बट थुतुनो ठिक भएन’ भनेर सार्वजनिक मञ्चबाट आपत्तिजनक टिप्पणी गरेका हुन् । साथै, स्थापितले प्रश्नको खण्डन गर्ने क्रममा ‘म भोलि यो महिलाले प्रोस्टिच्यूसन (वेश्यावृत्ति) गर्छ भनेर छपाउँ’ भनेर पनि धम्की दिएका छन् ।
स्थापितको यो अभिव्यक्ति सार्वजनिक मञ्चबाट जिम्मेवार व्यक्तिले महिलामाथि गरेको हिंसाकै अर्को रुप भएको महिला अधिकारकर्मी हरुको भनाई छ ।