अशेष घिमिरे
इतिहासको अनुभवले भन्छ, कम्युनिस्ट आन्दोलनले गौरवपूर्ण विगतको राम्रो व्याख्या गर्छ । भविष्यको सपना पनि सुन्दर ढंगले बताउँछ । तर वर्तमानबारे असाध्यै कम सुझबुझ राख्छ । भविष्यको कामलाग्दो बाटो तय गर्न भने वर्तमानबारे सुस्पष्ट समझको आवश्यकता पर्दछ ।
हाम्रो वर्तमान ‘पुँजीवाद’ हो । हाम्रो जमिनले यति बेला पुँजीवादको प्रारम्भिक शिशुपनाको होइन, उत्ताउलो बुढ्यौलीको सामना गरिरहेको छ । तसर्थ आजको पुँजीवादको सनकी र उत्ताउलोपना बुझ्न नखोज्नु वा त्यसतर्फ पर्याप्त सावधानी नराख्नु वाम आन्दोलनका लागि ठूलो जोखिम हो ।
हाम्रा विचार, व्यवहार, हाम्रा बोलीचाली, रहनसहन, हाम्रा आफ्ना जिन्दगीका सुखदुःखका कथा, हाम्रो स्वाद, हावापानी, हाम्रो दैनिकी, हाम्रो प्रेम, हाम्रो विवाह, हाम्रा रीतिरिवाज र सम्बन्धहरू, हाम्रा स्कुल–कलेज र विश्वविद्यालयहरू, हाम्रो पाठ्यक्रम र सिकाइको प्राथमिकता, हाम्रो रोजगारी-बेरोजगारी, हाम्रो सन्चो–बिसन्चो, हाम्रो सन्तुष्टि–असन्तुष्टि, हाम्रो हरेक विपना र सपना सबैमा यति बेला पुँजीवादको प्रभाव र दबाब छ । स्वाभाविक रूपले हाम्रो राजनीति र लोकतन्त्रसमेत उसले आफूअनुकूल बनाएको छ । पुँजीवादअनुकूल राजनीतिको अर्थ हो- असाध्यै थोरैका लागि हितकर, नाफाका लागि जे पनि गर्ने, आवश्यक परे सनकका भरमा आपराधिक युद्धसमेत गर्न पछि नपर्ने । अफगानिस्तान युद्ध, इराक युद्ध, प्यालेस्टाइन युद्ध, यमन युद्ध, सोमालिया युद्ध, युक्रेन युद्ध आदिमा पुँजीवादको नाफा सुरक्षाका लागि चलाइएको सनकबाहेक अर्को कुनै कारण पाइएको छैन ।
औद्योगिक पुँजीवाददेखि आजको वित्तीय पुँजीवादसम्म आइपुग्दा, पुँजीवादले निर्माण गरेको समकालीन विश्वव्यवस्थामा असमानता, दमन र युद्धतर्फको आक्रामक प्रवृत्ति अझ बढेर गएको छ । मानव जातिले उत्पादन गरेको समग्र सम्पत्तिको मात्रा बढेको भए पनि मान्छे र देशहरूबीच गरिबी भने अझै गहिरिएको छ । मान्छेले मान्छेलाई गर्ने शोषण, एक देशले अर्को देशलाई गर्ने शोषण गहिरिएको छ । साथै पैसाले पैसा किन्ने तर कुनै वस्तु वा सेवाको उत्पादन नगर्ने वित्तीय पुँजीवादको दबदबाले धेरै देशलाई अनुत्पादक र विश्व पुँजी बजारको विशुद्ध ‘रिजर्भ आर्मी’ को निर्यातकर्तामा परिणत गरिदिएको छ; तिनीहरूको उत्पादनको क्षमतालाई कमजोर बनाएको छ; तेस्रो विश्व भनिने यस्ता देशहरूका कलकारखाना, उद्योगधन्दा, कृषि, प्राकृतिक स्रोतसाधन, ससाना हाटबजार र उद्यमका प्रयत्नहरू सबै निस्तेज पारिदिएको छ ।
हाम्रै देशमा हेरौं, सन् १९९० पछाडि र आजसम्म पनि-हाम्रा उद्योगधन्दा र कलकारखानाहरूको दारुण अवस्था, राज्यले गर्ने सार्वजनिक लगानीका क्षेत्रहरूको संकुचन, साना उद्यमीहरूप्रति हाम्रा बैंकहरूको र बैंकिङ नीतिहरूको असहयोग, कृषि क्षेत्रका हाम्रा श्रमिकहरू गाउँबाट सहरतर्फ र त्यहाँबाट उडेर पुँजीवादी विश्वबजारका मजदुरमा परिणत भैरहेको प्रसंग । हाम्रा सहकारीहरू यस्तै मजदुरहरूलाई हवाई टिकटका लागि ऋण दिने, बिहे व्रतबन्ध र भोजजस्ता उपभोगका लागि ऋण दिने, विदेशी कम्पनीका गाडी मोटरसाइकल खरिदमा ऋण दिने तर उत्पादनमा, रोजगारी सृजनामा लगानीका नीतिहरू नबन्नेजस्ता प्रवृत्तिहरू ।
यी सबै प्रक्रिया वित्तीय तथा दलाल पुँजीवादको योजनामा साम्राज्यवादको सेवाका लागि तम्तयार छन् । परिणामस्वरूप उत्पादनमुखी काम र रोजगारीको प्रवर्द्धनबाट हामी कोसौं टाढा छौं; भ्रष्टाचार, बेरोजगारी, गरीबी र महँगीको चपेटामा नराम्रोसँग लपेटिएका छौं । यसबाट मुट्ठीभर कर्पोरेट हाउसहरू; गाडीदेखि सियोसम्म, मलदेखि सलसम्म अनि चामलदेखि कोदोसम्म आयात गर्ने एवं सुनदेखि सुपारीसम्म तस्करी गर्ने दलाल पुँजीवाद र कुनै वस्तु वा सेवाको उत्पादन नगर्ने वित्तीय पुँजीवाद मात्र लाभान्वित छन् । अर्थात्, यो प्रक्रियाले पुँजीपति वर्गको असाध्यै सानो हिस्सा मात्र लाभान्वित छ । उता, जनसंख्याको ठूलो हिस्सा भने प्रताडनामा छ ।
आजको वित्तीय तथा दलाल पुँजीवादको जालो कति खतरनाक छ र यसले आम जिन्दगीलाई कति निसासिँदो परिस्थिति बनाएको छ भन्ने कुराको उदाहरण हो- यही २०७९ माघ १० गते काठमाडौंमा संसद्भवनअगाडि प्रेम आचार्यको आत्मदाह । उनले सार्वजनिक गरेको लामो लेखोटले नेपालमा उद्यमशीलतामा लागेको मानिसलाई पुँजीवादको पन्जाले कसरी चंगुलमा पार्दै लान्छ भन्ने भलिभाँति भोगाइ प्रस्तुत गरिएको छ । एउटा मान्छे कसरी ऋणको चपेटामा पर्छ । बैंकबाट, नजिक भनिएको साथीबाट, विश्वास गरेको राजनीतिज्ञबाट, आफ्नै करबाट पालितपोषित कर्मचारीबाट र ठूला भनिएका व्यापारिक घरानाहरूबाट कसरी ठगिन्छ भन्ने फेहरिस्त त्यहाँ प्रस्तुत छ । जस्तोसुकै जालझेल तथा ठगी गरेर भए पनि नाफा कमाउन कदापि पछि पर्नु हुन्न भन्ने ‘नैतिक’ मूल्य बनाएको यो राज्य र समाज व्यवस्थाले एउटा मान्छेलाई कसरी ठग्छ, ठगी गर्ने प्रणालीलाई र त्यो वर्गलाई कसरी संरक्षण गर्छ भन्ने कुराको भद्दा चित्र यसले हामीमाझ प्रस्तुत गरेको छ ।
यो प्रेम आचार्यको मात्र हैन, प्रेम आचार्यजस्ता हजारौं मानिसको साझा भोगाइ हो । पुँजीवादको ज्वालाको रन्कोमा रन्थनिएर मानिसले जिउने र अगाडि बढ्ने कुनै आशा नदेखेर यो आत्मदाहको डरलाग्दो बाटो रोज्न बाध्य भएको छ, अर्कातिर राज्य भने बोतलमा पेट्रोल बेच्न नपाउने नियम बनाउँछ । अर्थात्, समस्या एकातिर हुन्छ, समाधान अर्कातिर खोज्छ । यस्तो ढोङ र अमानवीय लापरबाही पुँजीवादी राज्यको आम चरित्र हो । यस्तो तरिका अपनाएर पुँजीवादले आफू र आफ्नो वर्गमाथि उठेका सबै प्रश्नलाई ‘डिसमिस’ गर्न भएभरको तागत लगाउँछ, लगाइरहेको छ ।
आज प्रत्येक मानिस अरूको शोषण र बरबादीको मूल्यमा बाँच्न विवश छ । आजको पुँजीवादले विकास गरेको साम्राज्यवादी जीवन पद्धतिले सबैका लागि सम्मानित जीवन भन्ने पक्षलाई असम्भव तुल्याएको छ । आजको पुँजीवादको कुरूपता बुझ्न एक पटक हाम्रो संघीय राजधानी काठमाडौंको ‘वाग्मती करिडोर’ नै हेरौं । एकातिर ठडिएका आलिसान महलहरू, त्यसको ठीक अर्कातिर किनारमा भएको सुकुम्बासी बस्ती र त्यहाँको हालत । संसारका सबै तेस्रो विश्वका सहरहरूमा यस्तो र योभन्दा डरलाग्दो कुरूपता देखिन्छ । एकातिर दसौं तलाका घरभित्र बस्ने मुट्ठीभर मान्छे, अर्कातिर सडकमा माग्दै, सडकमै सुत्ने घरविहीनहरू ।
एकातिर हतियार र लागूऔषधको धन्दा र मुनाफा, अर्कातिर लागूऔषधको दुर्व्यसन र हतियारको बलमा समाजमा थोपरिएको त्रासदी र आतंक । एकातिर अनैतिक, अमर्यादित तथा असाध्यै नाफाखोर यौनबजार; अर्कातिर ओसारपसारमा पारिएका र बेचिएका महिला तथा बालबालिका । एकातिर दिन–प्रतिदिन भाउ बढाउने ठूलठूला औषधि कम्पनीहरू, ठूलठूला अस्पतालहरू; अर्कातिर दिन–प्रतिदिन औषधोपचारको अभावमा छटपटाइरहेका गरिब बिरामीहरू । एकातिर बैंकहरूको बढ्दो नाफा; अर्कातिर साना उद्यमी, मजदुर र किसानहरूको कष्टकर जीवन; कृषि उत्पादन बिक्री नभएर सडकमै फाल्नुपर्ने, खेतमै जोत्नुपर्ने बाध्यता । ऋणको चपेटामा परी कुनै उपाय नदेखेर गरिएका आत्महत्याका शृंखलाहरू । एकातिर अरबका आलिसान ‘बुर्ज खलिफा’ र मलेसियाका ‘पत्रोनेस’ हरू, अग्ला भ्यु टावरहरू; अर्कातिर रित्तिएका हाम्रा गाउँबस्तीहरू, बाँझा खेतबारीहरू । परदेसिने जिउँदाहरूको लस्कर र बाकसमा बन्द भएर फर्केका लासहरू । एकातिर विश्वको आकर्षक फुटबल स्टेडियम, अर्कातिर त्यसको जगमा रहेका कामदारहरूका लास । एकातिर युरोप र अमेरिकाको समृद्धि र ‘फेन्सी जीवनशैली’; अर्कातिर अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका झोपडीहरूको संघर्षपूर्ण दैनिकी । एकातिर एक थरी मानिसहरूको रोजगारीको सुनिश्चितता अनि अर्कातिर सर्टिफिकेट हातमा बोकेर सहरको यो कुना र त्यो कुना चहार्ने बेरोजगार तन्नेरीहरू । एकातिर अमेजनजस्ता कम्पनीहरूको बढिरहेको अनियन्त्रित मुनाफा, अर्कातिर त्यही कम्पनीबाट हजारौं मानिसले गुमाएको रोजगारी । एकातिर ठूलठूला भवन, चिल्ला, सफा फराकिला बाटो तथा एयरपोर्टहरू; अर्कातिर प्रकृतिको अनियन्त्रित दोहन र पृथ्वी तथा मानवजातिकै अस्तित्वमा संकट निम्त्याउने पर्यावरणीय विनाश ।
एक पटक आईफोनकै उदाहरण पनि हेरौं । आईफोनको निर्माणमा प्रयोग हुने कतिपय धातु अफ्रिकाका अप्ठ्याराभन्दा अप्ठ्यारा खानीहरूबाट, बालबालिकालाई समेत अमानवीय ढंगले प्रयोग गरेर, उत्खनन गर्ने गरिन्छ । आईफोन–४ मा गरिएको एउटा अध्ययनले भन्छ- १५० वर्षअगाडि मार्क्सका पालामा कपडा उद्योगका मजदुरलाई गरिएको शोषणभन्दा २५ गुणा ज्यादा शोषण आजका आईफोनको कारखानामा काम गर्ने मजदुरहरूमाथि छ ।
यी र यस्ता हजारौं उदाहरणबाट के पुष्टि हुन्छ भने,आजको पुँजीवादी दुनियाँमा एकातिर आकर्षक समृद्धि र विकास छ, अर्कातिर गरिबी र बरबादी छ । एक ठाउँमा सुखशान्ति र धनसम्पत्तिको सञ्चय छ, अर्को ठाउँमा अन्याय र शोषण छ । एक ठाउँमा रोजगारी र सामाजिक सुरक्षा छ, अर्को ठाउँमा बेरोजगारी र असुरक्षा छ । एक थरीलाई सम्मानित र सुरक्षित श्रम छ भने अर्को थरीलाई असुरक्षित श्रम र जीवनको जोखिम छ ।
आजको पुँजीवादी दुनियाँमा एकातिर आकर्षक समृद्धि र विकास छ, अर्कातिर गरिबी र बरबादी छ । एक ठाउँमा सुखशान्ति र धनसम्पत्तिको सञ्चय छ, अर्को ठाउँमा अन्याय र शोषण छ । एक ठाउँमा रोजगारी र सामाजिक सुरक्षा छ, अर्को ठाउँमा बेरोजगारी र असुरक्षा छ । एक थरीलाई सम्मानित र सुरक्षित श्रम छ भने अर्को थरीलाई असुरक्षित श्रम र जीवनको जोखिम छ ।
पुँजीवाद स्थिर पनि छैन । ‘नाफा र सञ्चयको अनन्त चक्र निरन्तर चल्छ’ भन्ने जुन भ्रम पुँजीवादले दिन खोजेको छ, पुँजीवादको करिब पाँच सय वर्षको इतिहासले यसलाई पुष्टि गर्न सकेको छैन । प्रविधि र ज्ञानविज्ञानका क्षेत्रमा जस्तोसुकै क्रान्ति भयो भनिए पनि विश्वका सबै ज्ञान–तर्क–क्षमतालाई एक ठाउँ राखे पनि पुँजीवादको संकट निवारणका लागि, यसको रोकथामका लागि आजसम्म कुनै पुँजीवादी विद्वान् र विद्वान्हरूको समूह देखा परेको छैन । सन् २००८ को विश्वव्यापी पुँजीवादी संकटका सन्दर्भमा तत्कालीन बेलायती महारानी एलिजाबेथले पुँजीवादी विश्वका उत्कृष्ट भनिएका अर्थशास्त्रीहरूलाई ‘यत्रा किताब, अनुसन्धान र ब्रोडसिटहरूमा हिसाबकिताब मात्र गरिरहँदा पनि यो संकट आउँदै छ भनेर किन नदेखेको ? किन नभनेको ?’ भनी प्रश्न गरेको र त्यसको उत्तर सन्तोषजनक नआएको प्रसंग सार्वजनिक छ र थुप्रै विमर्शमा उल्लेख गर्ने गरिन्छ । यसको अर्थ, जतिसुकै ढाँटछल गर्न सकिएला, तर पुँजीवादमा संकट आउँछ–आउँछ । यस्ता संकट आए पनि पुँजीवाद विकल्पहीन हो भनेर (कु)तर्क गर्नु बेग्लै कुरा हो ।
आफूभित्र संकट आइपरेपछि अरू ठाउँमा अन्य मानवीय संकट थोपरेर, आफ्नो संकट अन्यत्र स्थानान्तरण गरेर भए पनि पुँजीवादले आफूलाई आजसम्म यहाँ ल्याइपुर्याएको छ । संकट स्थानान्तरणका लागि हिजो उपनिवेश निर्माणको बाटो लिइयो, विभिन्न सभ्यता निर्माण र मानवताको विस्तारको आवरणमा संसार लुट्ने अत्यन्त निन्दनीय औपनिवेशिक नीतिहरू अगाडि सारिए; आज उपनिवेशबाट मुक्ति आन्दोलनले विजय हासिल गरिसकेपछि पुनः आफ्नो संकट स्थानान्तरण गर्ने र संसार लुट्ने योजनाको निरन्तरताका लागि नवउदारवादको नीति अगाडि सारिएको छ । हिजो उपनिवेशका क्रममा थोपरिएका अत्याचार र युद्धहरूभन्दा अझ ज्यादा क्रूर र आततायी दमन तथा युद्ध नवउदारवाद लागू गर्ने सिलसिलामा थोपरिएको छ । हिजो नवउदारवाद जबरजस्ती थोपर्ने क्रममा, पुँजीवादबाट आफूलाई विच्छेद गर्ने र ठूलठूला व्यापारिक निगमको स्वार्थमा आफ्नो देशका स्रोतसाधनलाई दोहन नगर्ने अडानमा दृढ रहेका चिलीका समाजवादी नेता साल्भाडोर एलेन्डे र उनको पार्टीमाथि, उनका समर्थकमाथि दमन र हत्याका शृंखला चलाइएको सन्दर्भ स्मरणीय छ । आजको ताजा उदाहरण, पेरूमा राष्ट्रपति पेद्रोमाथि गरिएको ‘कू’ र त्यसको विरोधमा आएका समर्थकहरूमाथि गरिएको दमनमा देख्न सकिन्छ । ब्राजिलमा हेरौं, राष्ट्रपति लुलामाथि लगाइएका झूटा भ्रष्टाचारका मुद्दा, उनको जेल चलान र दक्षिणपन्थी बोल्सोनारो समूहलाई गरिएका सबै खाले साम्राज्यवादी सहयोग । फेरि निरन्तर जनसंघर्ष र राष्ट्रपति लुलाको संघर्षपूर्ण पुनरागमन र अहिले त्यो सरकारविरुद्ध साम्राज्यवाद पक्षधर दक्षिणपन्थी बोल्सोनारोहरूको विरोध प्रदर्शन । पुँजीवादको विकल्प भनी दृढतापूर्वक अगाडि बढाइएका अभियान, आन्दोलन र राजकीय प्रयत्नहरूलाई अनेक जालझेल, प्रपञ्च र दमनमार्फत अवरोध गर्ने क्रम जारी छ ।
माथि उल्लेख भएजस्तो असमानता र शोषणलाई कायम राख्न; आफ्नो संकटलाई अन्यत्र स्थानान्तरण गर्न देशदेशका संविधान, कानुन, मान्यता, नैतिकताजस्ता सबै पक्षमा पुँजीवादले आफूअनुकूल सामाजिक, सांस्कृतिक, राजनीतिक तथा विचारधारात्मक बन्दोबस्तीको तारतम्य मिलाइराखेको छ । जस्तो कि, हतियार र सामरिक शक्तिको अकल्पनीय विकास । करिब ३ अर्ब जनसंख्या आज भोकमरीमा छ तर खर्बौं डलर आज सेना र हतियारका लागि खर्च गरिन्छ । दोस्रो विश्वयुद्धताका जापानका हिरोसिमा र नागासाकीमा खसाइएका भन्दा दसौं गुणा शक्तिशाली आणविक हतियारहरूको निर्माणमा खर्बौंको लगानी छ । आतंकवाद नियन्त्रणका नाममा, सुरक्षा संवेदनशीलता र शान्ति कायम गर्ने नाममा हरेक राज्यलाई प्रहरी राज्यमा, सेना राज्यमा परिणत गर्ने भरपूर प्रयत्न जारी छ ।
-बरु पृथ्वी ध्वस्त होला, मानव जाति सकिएला तर पुँजीवाद सकिँदैन, पुँजीवादको विकल्प छैन भनेर स्थापित गर्न खोजिएको भाष्य । मानव समाजको अन्तिम व्यवस्था नै पुँजीवादी व्यवस्था हो र मानव समाजको ‘अन्तिम मान्छे’ नै पुँजीवादी मान्छे हो भन्ने कमन सेन्सको निर्माण र प्रसार । यसका लागि रेडीयो, टेलिभिजन, पत्रपत्रिका मात्र होइन, फेसबुक, ट्वीटर, युट्युब, टिकटकजस्ता प्लाटफर्महरू, प्रेस र पुस्तकबजार आफ्नो स्वामित्व र नियन्त्रणमा लिने प्रपञ्च । त्यहाँबाट आफूअनुकूलका सुचना र विषयहरूको प्रसारण तथा प्रकाशन ।
- विश्वव्यापीकरणका नाममा तयार पारिएको इन्टरनेसनल मनिटरी फन्ड (आईएमएफ), विश्व व्यापार संगठन (डब्लूटीओ), वर्ल्ड बैंकजस्ता संरचनाहरू । यिनीहरूले संसारभरका स्रोतसाधनलाई निचोरेर साम्राज्यवादको केन्द्रमा सञ्चित गर्ने योजना बनाउँछन् र पुँजीवादको प्रभुत्व कायम गर्नका लागि विभिन्न देशमा हस्तक्षेप गर्छन् । यी संरचनाहरूमार्फत समानता र भाइचाराको नीतिको जति व्याख्या गरिए पनि, गरिबी निवारण र विकासका अनेक योजना अगाडि सारिए पनि, र त्यसका लागि अर्बौं ऋण प्रवाह र अनुदान प्रदान गरिए पनि आज कुनै पनि देश गरिबीबाट विकासतर्फ अगाडि बढेको छैन ।
- विद्यालय र विश्वविद्यालयका कोठाहरूमा के पढ्ने, के नपढ्ने भन्ने पाठ्यक्रममाथि नियन्त्रण; विज्ञान तर्क र ज्ञानमाथिको हस्तक्षेप र दुरुपयोग मात्र होइन, पुँजीवादको हितरक्षाका लागि कस्ता मान्छेको उत्पादन र पुनरुत्पादन गर्ने भन्नेसम्मको तयारी । मानिस स्वभावैले स्वार्थी हुन्छ, मानिसले हरेक काम नाफाघाटा हेरेर गर्छ भन्ने भ्रमको सृजना; वैज्ञानिक र आलोचनात्मक चेतनालाई कमजोर बनाउन गरी तयार पारिएका पाठ्यक्रम । प्रश्न गर्नेहरूलाई द्रोही हुन् भनी स्थापित गराउन गरिएको भरपूर कोसिस । पुँजीवादी उद्यमशीलताले, नाफाका लागि उसले उचित ठहर्याएका विषय र जनशक्तिको विकासमा बढी ध्यान । पूर्ण क्षमतामा मानविय विकास गर्ने होइन, केवल मुनाफा निर्माणको साधनका सीमिततामा मान्छेको क्षमता विकासलाई नियन्त्रण गर्ने प्रयत्न ।
- यी सबै कुरालाई आकार दिने, पुँजीपति वर्गको हित संरक्षण गर्ने राजनीतिक दल र त्यसका लागि सुयोग्य (स्वाँठ) नेतृत्व निर्माणमा लगानी । विभिन्न मानिसलाई नेताका रूपमा खडा गर्ने अनि सेलेब्रिटी र व्यापारीहरूलाई पुँजीवाद किन ठीक छ र समाजवाद किन असम्भव छ भन्दै पुँजीवादी दुनियाँले उत्पन्न गरेका अप्ठ्याराहरूमाथि पर्दा लगाउने प्रयत्न ।
- देशको स्रोतसाधनलाई पुँजीपति वर्ग र साम्राज्यवादको सेवामा लगाउन अनेक झूटा तथ्यांकहरूमार्फत राज्यका नेतृत्व र अधिकारीहरूलाई ‘इकोनमिक हिटम्यान’ मार्फत प्रयोग गर्ने गरिन्छ । हाम्रै देशमा पनि विभिन्न विदेशी अनुदान र परियोजनाका पक्षमा यिनले देशलाई हेर्दाहेर्दै कायापलट गरिदिन्छन् भनी व्याख्यान दिने इकोनमिक हिटम्यानहरू देखिएकै छन् । मन्त्री, प्रधानमन्त्री, तिनका आफन्त र किचन क्याबिनेट, उनीहरूका कोठाचोटामा यस्ता विभिन्न स्तरका हिटम्यानहरू चक्कर लगाइरहेका हुन्छन् । वर्ल्ड बैंक लगायतका साम्राज्यवादी संरचनाहरूका सर्तैसर्तमा आधारित ऋण वा अनुदान प्राप्तिमा वा अन्य अल्प वा दीर्घकालीन साम्राज्यवादी परियोजनामा नेता र अधिकारीहरूलाई सकेसम्म कन्भिन्स गर्ने, नमाने प्रलोभन दिने, त्यो पनि नमाने धम्की दिने र आवश्यक पर्दा हत्या गर्न पनि पछि नपर्ने तरिका अपनाइएको हुन्छ । यो प्रक्रियाका क्रममा कति कन्भिन्स हुन्छन्, कति प्रलोभनमा पर्छन्, कति पुँजीवादसँग सम्झौताहीन संघर्षमा लाग्छन् र सामना गर्छन् ।
- स्वभावतः नै पुँजीवाद आसेपासे हुन्छ । पुँजीवादको यही चरित्रलाई अनुकूल हुने गरी आफन्त, इष्टमित्र र व्यापारिक साझेदारको पंक्तिलाई मात्र अवसरका खात लगाउने, पैसा र शक्तिको मालिक बनाउने र आम मान्छेको हितलाई बेवास्ता गर्ने राजनीतिलाई प्रवर्द्धन गर्ने गरिन्छ । यसका लागि श्रमजीवी वर्गको पार्टीमा घुसपैठ गरिन्छ । त्यहाँको लोकतन्त्र कमजोर बनाइन्छ । वाम भनिएका नेतृत्वलाई आफू अनुकूल प्रयोग गरी वाम आन्दोलनलाई झूटो र धोकाधडीको प्रतिविम्बका रूपमा स्थापित गर्न खोजिन्छ, ताकि वाम पार्टीहरूप्रति निराशा छाओस् ।
स्वभावतः नै पुँजीवाद आसेपासे हुन्छ । पुँजीवादको यही चरित्रलाई अनुकूल हुने गरी आफन्त, इष्टमित्र र व्यापारिक साझेदारको पंक्तिलाई मात्र अवसरका खात लगाउने, पैसा र शक्तिको मालिक बनाउने र आम मान्छेको हितलाई बेवास्ता गर्ने राजनीतिलाई प्रवर्द्धन गर्ने गरिन्छ । यसका लागि श्रमजीवी वर्गको पार्टीमा घुसपैठ गरिन्छ । त्यहाँको लोकतन्त्र कमजोर बनाइन्छ । वाम भनिएका नेतृत्वलाई आफू अनुकूल प्रयोग गरी वाम आन्दोलनलाई झूटो र धोकाधडीको प्रतिविम्बका रूपमा स्थापित गर्न खोजिन्छ, ताकि वाम पार्टीहरूप्रति निराशा छाओस् ।
- देशको लोकतन्त्रमा हमला गरी को जित्ने र को हार्ने भन्ने तयारी गरिन्छ । चुनाव ‘इन्जिनियर’ गरिन्छ, ताकि आफू अनुकूलका प्रतिनिधिहरूको जित सुनिश्चित होस् । पैसाका आधारमा उम्मेदवार तय गरिन्छ र जितहारको परिणामलाई खरिद गरिन्छ । श्रमजीवी वर्गका विभिन्न सामाजिक विविधतालाई उपयोग गरेर सामूहिकता र ऐक्यबद्धतामाथि प्रहार गरिन्छ । पुँजीवादी शोषणको संरचनालाई मजबुत गराउनका लागि, विभिन्न ढंगले शोषणमै परेका मानिसहरू र तिनका रूपान्तरणकारी संस्था स्वयंलाई प्रयोग गरिन्छ । यस्तो प्रयोगमार्फत वर्गसंघर्ष निस्तेज पारिन्छ । जाति, भाषा, क्षेत्र, लिंग वा सभ्यताका नाममा दलनमा परेका वर्गको एकतालाई टुटाउनु र सकेसम्म एकआपसमा भिडाउनु, तिक्ततापूर्ण सम्बन्ध बनाएर मिल्न नदिनु पुँजीवादको मक्सद बनेको छ ताकि उनीहरू एक भएर पुँजीवादविरुद्धको विद्रोहलाई संगठित नगरून् ।
यसरी हाम्रो वर्तमान वित्तीय पुँजीवादको, साम्राज्यवादको परिपक्व जालको भुमरीमा छ । विश्वव्यापीकरणका प्रक्रियाले आजको पुँजीवादी शोषणका सबैभन्दा आधुनिक रूपहरू आवश्यकता अनुसार सञ्चालन र प्रयोग गर्न सकिने परिस्थिति आज हाम्रोसामु छ । अर्थात्, पुँजीवाद यति बेला प्रारम्भिक अवस्थामा छैन; आफूविरुद्धका तमाम विद्रोह र प्रतिरोधको सामना गर्ने ज्ञान, चेतना, तर्क शक्ति र अनुभव लिएर बसेको छ । उपनिवेशवाद र फासिवादको मात्र होइन, बहुआयामिक शोषणको नयाँ विचारधारा नवउदारवादको समेत ५० वर्षभन्दा ज्यादाको अनुभव भैसकेको छ । र यी तमाम अनुभवबाट विश्वको कुनै पनि कुनामा आफ्नो प्रभुत्वका लागि उसले सबै उत्ताउला हतकण्डा प्रयोग गरिरहेको पनि छ । यो रूपको पुँजीवादविरुद्ध लडेर समाजवाद निर्माणमा लागेका प्रत्येक अभियान्ता, श्रमजीवीका पक्षधर र मुक्ति आन्दोलनका, मानवीय आन्दोलनका योद्धाले, अझ खास गरी कम्युनिस्टहरूले यति बेला आँखा–कान लगायतका आफ्ना सबै इन्द्रिय आजको पुँजीवाद बुझ्न; यसका भ्रमहरूबाट जोगिन र यसका संकटको गति, दिशा र गहिराइ मापन गर्नका लागि सक्रिय बनाउनुपर्नेछ । यसको संकटको सही विश्लेषण गरेर समाजवादी आन्दोलनका लागि सम्पूर्ण तयारी केन्द्रित गर्नुपर्नेछ । संकटको गति र दिशालाई बुझेर गरिने सही विश्लेषण र त्यसका आधारमा गरिने तयारीले मात्र हामीलाई समाजवादतर्फ संक्रमण गराउँछ । आजको पुँजीवादको यथार्थ, यसको सामर्थ्य र यसको संकटलाई बेवास्ता गरेर बनाइने जुनसुकै समाजवादी कार्यक्रम र यसलाई नजरअन्दाज गरेर तयार पारिने कुनै पनि मुक्तिको आशा काल्पनिक हुनेछ । त्यो असान्दर्भिक र अप्राप्य हुनेछ ।