काठमाडौं ।
भ्रष्टाचारको आँखि झ्यालबाट हेर्दा हाम्रो नेता, हाम्रो हाकिम मात्र भ्रष्ट हो कि भन्ने लाग्छ । तर, समग्र इतिहासलाई हेर्दा त्यस्तो देखिँदैन । हाम्रोमा नेता भ्रष्ट छ। अन्य देशमा पनि नेता भ्रष्ट थिए र छन् । उनीहरूका कारण क्रान्ति तुहिएका थिए । यदि भ्रष्टाचार भन्ने औजार र पूँजिवादी भ्रष्टाचार हुँदैन थियो भने करिब २०औं शताब्दिको अन्त्यसम्ममा विश्वमै समाजवाद आइसक्थ्यो । दोस्रो विश्वयुद्धपछि जति मुलुकमा क्रान्ति भए । ति जनवादी क्रान्ति थिए । जति देशमा लोकतन्त्र स्थापित भयो । मुलभुत रूपमा ति क्रान्ति जनवादी क्रान्ति थिए । चीनको जस्तै मौलिक क्रान्ति थिए । एशियाका मुलकमा सम्पन्न क्रान्तिहरू जनवादी क्रान्ति थिए ।
एकसेएक नेता, पार्टी र क्रान्तिहरूले लोकतन्त्र, समानता, भ्रातृत्व र समाजवादप्रति कबुल गरेका थिए । तर, क्रमशः ति पछौटे र गरिब मुलुकमा क्रान्तिकारी कबुल गरेका मान्छेहरू जब सत्तामा पुगे । बिडम्बना, तिनीहरूले भ्रष्टाचारको औजार प्रयोग गर्न थाले । नीजि स्वार्थमा रमाउन थाले ।
एकजना नेता वा हाकिम भ्रष्टाचार गर्न सक्दैन भन्ने मेरो भनाई छ । उसले अरुलाई भ्रष्ट बनाउँदै जान्छ । एक्लो नेता कुनै पनि पार्टी वा संस्थामा टिक्न सक्दैन । शक्तिशालीमा पदमा रहेको ब्यक्ति भ्रष्ट भयो भने अरुलाई पनि भ्रष्ट बनाउँदै जान्छ र अन्ततः पार्टी नै कब्जा गर्छ । यसरी कुनै बेलाको क्रान्तिकारी नेता पार्टी भ्रष्टहरूबाट अपहरित हुन्छ । त्यसपछि क्रान्तिले धोका खान्छ । यस्तै भयो हाम्रो लोकतन्त्रमा । आज हामीले जे भोगि रहेका छौं । यहि भोगिरहेका छौं ।
हामीले कबुल गरेको क्रान्ति र कबुल गर्ने नेताहरू लोकतन्त्र, समानता, सुशासन, समाजवादप्रति इमान्दार भएर लाग्न सकेनन् । उदाहरणका लागि धेरै असहजताबीच चीनमा माओ सफल भए । यदि माओसँग व्यक्तिगत स्वार्थपन हुन्थ्यो भने आजको चीन हामीले देख्न पाउँदैन थियौं । माओले व्यक्तिगत जीवन बाँच्न चाहेको भए, ठूलो घर बनाउने, पुस्तौको लागि सम्पत्ति जम्मा गर्ने सोचेका थिए भने माओ माओ रहन्थे ? चीनमा माओहरूले भ्रष्टाचारविरुद्धको आन्दोलन जारी राखे, आफू र क्रान्तिले गरेका कबुलहरू भुलेनन् ।
विश्वका अन्य धेरै मुलकका नेता र क्रान्तिहरूले सफलता हात पारे । क्रान्तिकारीहरूले आफूलाई कम्युनिष्ट भनेपनि नभनेपनि जसले राष्ट्रिय पूँजिको विकास गरे । दलाल पूँजिवादबाट आफूलाई विच्छेद गरे । भ्रष्टाचारमाथि निर्मम भए । त्यहाँ क्रान्ति निरन्तर अघि बढ्यो । जुन मुलकका नेताहरूले त्यसो गर्न सकेनन्, त्यहाँ क्रान्ति असफल भयो । ठिक हाम्रो जस्तो हालत भयो ।
हाम्रो सन्दर्भमा कुरा गरौं । २०६५ पछि नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ दिशा तय गरेका हौं । राजनीतिक रूपमा हामीले अब हाम्रो जानेबाटो समाजवादतर्फ हो भनेर भन्यौं । राजनीतिक पार्टी र संविधानले समेत हाम्रो कुरालाई स्वीकार गर्यो । जुन कुरा असाध्यै ठिक थियो । तर, यसका बीचमा एउटा काम हामीले छुटायौं । समाजवाद के कुराले तय गर्छ ? भ्रष्टाचाररहित समाज निर्माण गर्ने तरिका के हो ? समाजवादी यात्रालाई ठिक राख्ने हो भने पार्टी भ्रष्टाचाररहित बनाउनुपर्छ । यदि पार्टीलाई भ्रष्टाचाररहित बनाउन सकिएन भने समाजवादको यात्रा तितरवितर बन्छ । यदि दलाल पूँजिवादमुक्त पार्टी बनाउन सकिएन भने, कमाइभन्दा बढि उपभोग गर्नेहरूले जतिसुकै क्रान्तिकारी कुरा र भाषण गरेपनि समाजवाद आउँदैन । उल्टै तिनीहरूलाई दलाल पूँजिवादले किन्छ । उनीहरू भ्रष्ट भईछाड्छन् ।
अब के गर्ने ?
जतिपनि भ्रष्टचारका काण्डमा मुछिएका छन्, तिनीहरूमाथि निर्ममता पूर्वक कारबाही गरिनुपर्छ। ताकि भावि दिनमा जन्मिन सक्ने भ्रष्टहरूको भ्रुण गर्भमै तुहियोस्। उनीहरूको जन्म नहोस्। अर्को कुरा पार्टीका हरेक कमिटीहरूमा यसको बारेमा छलफल हुनुपर्छ। खासगरी केन्द्रीय कमिटीमा यसका बारेमा बहस हुनुपर्छ। उपभोग र उत्पादनको बहस गरौं। क-कसले उत्पादनभन्दा उपभोग बढी गरिरहेका छौं? त्यो कमिटीमै छिनोफानो गरौं। क्रान्तिकारी पार्टी निर्माण नगर्ने हो अवस्था झन् खराव आउनेछ।
पपुलिजमको लडाईँमा क.नारायणकाजि (गृहमन्त्री) ले जित्नु हुन्न। अर्कै आउँछ। नयाँ, जे पनि गर्न सक्ने, फन्टुस, अन्टसन्ट बोल्ने, सार्वजनिक खपतकै लागि बोल्नेहरू आउने छन् र नारायणकाजि जस्ता एक दुईजनालाई हराइदिन्छन्। दलाल पुँजिवादले त्यस्ता अराजकहरू जन्माउछ। तिनीहरूलाई परास्त गर्न कम्युनिष्ट पार्टीलाई भ्रष्टाचार विरोधि पार्टी बनाउनुपर्छ। त्यो पार्टीका सबै सदस्य भ्रष्टाचार विरोधि बन्नुपर्छ र हुनुपर्छ। दलाल पूँजिवादले एउटा क्रान्तिकारी पार्टी र नेतालाई कसरी आफ्नो बनाउछ ? त्यसको बारेमा हाम्रो कमिटी, परिवारमा छलफल नगरेसम्म वा हामीले यसो गर्न सक्दैनौं भने समाजवादी संस्कृतिको निर्माण हुन सक्दैन। पुष्पालको स्मृतिमा हामीले कसम खानुपर्छ कि हामी क्रान्तिकारी पार्टी बनाउँछौं। दलाल पूँजिवादसँग लड्नका लागि। समाजवाद स्थापनना निम्ति। हामीले आफूलाई असल देख्छौं। अरुलाई खराव देख्छौं। किन कि हामीले आफूलाई आफूभन्दा खरावसँग तुलना गरिरहेका हुन्छौं। भ्रष्टाचाररहित पार्टी नै समाजवाद स्थापनाको एकमात्र हतियार हो। यस्तो पार्टी बनाउने कसम खानुपर्छ।
(एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले नेकपाका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृतिमा पुष्पलाल मित्रता केन्द्रले ८ साउन २०८० मा आयोजना गरेको कार्यक्रममा राखेको मन्तव्य। )